प्रेममा असफल भएकाहरूले प्रेमको परिभाषा नै फरक बुझ्ने गर्दछन्। सायद माया र प्रेमका कुरा गर्दा मदन र मुनालाई मानिसले उदाहरण बनाउँछन्। भारतमा रहेको ताजमहल पनि प्रेमको प्रतीक हो भन्छन्।
मैले प्राप्ति मात्र प्रेम हो भन्न छोडिसकेँ। प्रेम त्याग पनि रहेछ। जहाँ त्याग हुँदैन त्यहाँ आकर्षण मात्र हुनेरहेछ। जसले प्राप्तिका लागि मात्र प्रेम गरेको हुन्छ, त्यो नाटकै हो भन्न मिल्छ। यो मैले आफैलाई सम्झाउन बनाएको परिभाषा पनि हो। तर वास्तविक प्रेमको परिभाषा कुनै विषयवस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा कसैको रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्रीपुरुषमा परस्पर हुने अनुराग नै हो।
यो परिभाषा प्रष्ट थाहा हुन्छ कि प्रेम एकजनासँग र एकैपटक मात्र हुँदैन रहेछ। प्रेम त जति पटक जोसँग पनि त हुनसक्दो रहेछ। कोही अलि बढी नै हामीसँग आत्मीय भएको हुन्छन् र तिनीहरू टाढा हुँदा हामीलाई लाग्छ त्यो नै मेरो सर्वश्व थियो, त्यो नै मेरो सच्चा प्रेम थियो र पहिलो र अन्तिम प्रेम पनि त्यहीँ नै थियो।
तर हामीले सोचेका हुँदैनौं कि ऊभन्दा कैयौं गुणा बढी माया गर्ने मान्छे हाम्रो जीवनमा फेरि भेटिनेछ। मैले धेरै समयपछि के महसुस गरेँ भने कोही त छ जसलाई म मेरा मनका कुराहरू पोख्न नसके पनि उसका हरेक गतिविधिहरू हेरेर, थाहा पाएरै मात्र पनि एक्लै मुस्कुराउन सक्छु। उसको बारेमा कल्पना गर्दै टुटेका सपनाहरू बिर्सेर फेरि नयाँ सपनाहरू सजाउन सक्छु।
उसको स्वभाव र गुणहरू मलाई त्यति थाहा नभए तापनि उसको व्यक्तित्व राम्रोसँग थाहा छ। ऊ सामान्य परिचय भएको मान्छे मात्र हैन। ऊ जिम्मेवारीसँगै आफ्नो छुट्टै पहिचान बनाइसकेकी मान्छे हो। उसलाई राम्रोसँग थाहा छ आफू को हुँ भन्ने कुरा। सायद त्यसैले नै होला मजस्तो सामान्य मान्छेसँग वर्षौं पहिलेदेखि सामाजिक संजालमा साथी हुँदा पनि आजसम्म उसले बोल्ने आवश्यकता नै ठानिन।
ठानोस् पनि कसरी? मैले उसको बारे जति सोचे पनि के उसले पनि मैले जत्तिकै सोच्नै पर्छ भन्ने छ र? फेरि ऊ त मभन्दा फरक पेसाको मान्छे। न मसँग कुनै काम होस् न मेरो बारे सोच्ने फुर्सद।
केही समय पहिले मेरो एकजना साथीको बाइक दुर्घटना हुँदा उसको देब्रे हात भाँचिएको थियो। उसलाई हामीले हस्पिटल लिएर गयौं। उसको हातको अप्रेसन भयो। अप्रेसन गर्ने डाक्टर उमेरले हामीभन्दा थोरै ठूलो भए पनि हामीसँग उहाँले गर्नु भएको व्यवहार देख्दा साथीजस्तै पायौं। ५/६ दिनको हस्पिटल बसाइँसँगै हामीले उहाँलाई राम्रो साथी बनाइसकेको थियौं।
उहाँको घर काठमाडौं रहेछ। जागिरले गर्दा यहाँ आउनु भएको। नयाँ ठाउँ, नयाँ मान्छेहरूसँग घुलमिल हुन सकिरहनु भएको थिएन सायद। हामीले सहज बनाइदियौँ। आजभोलि राम्रो साथी भइसकेका छौँ। उहाँको खाली समय हुँदा खाजा सँगै खाने, घुम्ने, रमाइलो गर्ने भई नै रहन्छ।
एकदिन हामीले उहाँलाई एउटा पार्टीमा निम्ता गरेका थियौं। उहाँले हाम्रो निम्तालाई स्वीकार गरेर आउनु भए पनि एकछिनमा निक्लेर जानु भयो। हामीलाई लाग्यो सायद उहाँलाई यो पार्टी मन परेन होला तर कुरा फरक रहेछ। केही समयपछाडि फर्केर आउनु भयो र मुस्कुराउँदै भन्नुभयो, 'सरी, म एउटा इमर्जेन्सी केस हेर्नु पर्ने भएर निक्लेको थिएँ। मेरो कारणले तपाईंहरूलाई डिस्टर्ब त भएन नि?'
उहाँको कुरा सुनेर मैले जीवनमा एउटा राम्रो पाठ सिकेँ- 'रहर र जिम्मेवारी भन्ने कुरा फरक रहेछन्। यसलाई हामीले मिलाएर सँगै लैजान सिक्नु पर्दो रहेछ।'
त्यस रात हामी रमाइलो गर्दै गफ गर्दैगर्दा मैले उहाँलाई एउटा प्रश्न सोधेको थिएँ, 'डाक्टर साब! तपाईं आफ्नो कामप्रति यति जिम्मेवार हुनुहुन्छ। आजसम्म तपाईंले कति धेरै भाँचिएका हड्डीहरू जोड्नु भयो होला। डाक्टर साब! मेरो मन पनि नराम्रोसँग भाँचिएको छ, के तपाईं जोड्न सक्नुहुन्छ?'
म प्रश्न सोध्दै गर्दा गम्भीर थिएँ तर माहोल एकैछिनमा सबैको हाँसोले गुन्जियो।
डाक्टर साबले आफ्नो हाँसो कन्ट्रोल गर्दै भन्नुभयो, 'सायद तिमीलाई रक्सी बढी भयो समिर, अब नखाऊ।'
'म रक्सीले होइन डाक्टर साब, उसको मायाले अझैसम्म मातिरहेको छु।'
मलाई लाग्छ यो प्रश्न मैले उसलाई सोध्नुपर्ने थियो। ऊ पनि डाक्टर नै थिई तर के गर्नु बोलचाल नै छैन।
सान्त्वनाको भावमाले डाक्टरले भन्नुभयो, 'तिमीसँग भेटिँदा जहिल्यै त्यहीँ डाक्टरको कुरा गर्छौ। के त्योबाहेक तिम्रो जीवनमा अरु कोही आउन सक्दैन? तिमी किन बितेको एउटै कुरालाई सम्झेर दुखी भइरहन्छौ? बिर्सिदिऊ त्यो कुरा जुन कुराले तिमीलाई दुःख बाहेक अरु केही दिन सक्दैन।'
मैले डाक्टर साबको त्यो क्याप्सुल मनैदेखि ग्रहण गरेदेखि आजसम्म त्यसलाई सम्झेर समय खर्चिने चेष्टा गरेको छैन। जब कसैलाई पाउने आशभन्दा आफ्नो अस्तित्व नै गुमाउने त्रास बढी हुन्छ, त्यो सम्बन्धहरूलाई सम्झर कुनै अर्थ नहुँदो रहेछ।
कति निराश हुनु जिन्दगीदेखि! सुख दुःख, मिलन, बिछोडबिना त जिन्दगी नै कहाँ चल्दो रहेछ र! मनको सन्तुष्टि र खुसी नै ठूलो कुरा रहेछ। रहर र सपनाहरू त सबै कहाँ पूरा हुँदारहेछन् र!
डाक्टर साप मलाई फेरि तपाईंको सहारा चाहिन सक्छ।
फेरि अर्को वर्ष नबोलेको एउटा अन्जान डाक्टरले म्यासेन्जरमा सोध्दै थिई मेरो बारेमा। ठूलै हस्पिटलमा जागिरे भनेपछि सायद उसलाई आउँछ कि भाँचिएको मन जोड्न! एकपटक सोध्न मन छ।