सबैका बाका कथा
उस्तै मिठा नहुन सक्छन्
जस्तो कि
भएर पनि नभएका मेरा बा र
मुटुका पानामा नअटाएर पनि
नागरिकतामा मात्र अटाएका
मेरा बाका कथा
केही फरक हुन सक्छन्
जस्तो कि बेलाबेलामा झस्काउँछ
नागरिकतामा जवरजस्ती झुन्डिएका
मेरा बाका नामले मलाई।
मेरी आमा जिउँदो हुँदाहुँदै
पराई आइमाईको लोग्ने बनेर
जबदेखि मेरा बा हिँडे
त्यसपछि भएर पनि
नभएका मेरा बा
कहिले पनि मेरा बा बन्न सकेनन्।
लोग्ने भएर पनि नभएको
एक्ली नारीले
आफ्ना हातले बाँझो खेतबारी खनेर
उब्जाएको अन्नको एक-एक दानाले
हुर्काएका सन्तानलाई
कहिले पनि नखोजेका मेरा बाले
थाहा छैन नागरिकताले भने
किन खेाज्यो मेरो बालाई!
एकदिन अचानक
नागरिकता लिने दिन
प्रमुख जिल्ला अधिकारीले
जिल्ला प्रशासन कार्यालयमा सोध्नु भयो
मेरो बाको नाम र
भएर पनि जिन्दगीका भित्ता-भित्तामा
कहीँकतै नभएका बालाई खोजेर
जब जवरजस्ती लेख्नु पर्यो
नागरिकतामा बाको नाम।
तितेकरेलाको रसझैँ तितो बनेर
जिन्दगीको पानाबाट हराएका
बाका नामलाई
नागरिकताबाट हटाउन
के गर्नु पर्छ मैले
प्रमुख जिल्ला अधिकारी ज्यू?