कविता
एउटा मृत रहर बोकेर
लखरलखर गर्दै हिँड्दै गर्दा
सम्झनाको ढुंगामा ठेस लागी गर्लम्म पल्टेको मन
सम्हालिन खोज्छ।
उठ्न खोज्छ।
सक्दैन।
पछारिन्छ
रहरसँगै।
बिहानी सूर्यसँगै
शितको थोपामा आशा तप्कन्छ।
भित्र छिर्छ
तङ्ग्रिन खोज्छ मन
र देख्छ
त्यो एक मृत रहरले अर्कै रूप ग्रहण गर्दै गरेको
पुनःजीवित हुँदै गरेको
र
सम्झन्छ
अर्नेस्ट हेमिंगवेको
अस्ति पढ्दै गरेको
द ओल्ड म्यान एण्ड द सीको
बुढो मान्छे.....
अनि
देख्छ
रहरहरूको अर्को एक हुल तँछाडमछाड गर्दै गरेको
र त्यो पुनः जीवित रहर नि
छेउनेर दगुर्दै गरेको।
त्यहाँ कतिपय रहर सपना बनेको
अनि केही थपना मात्र।
र
देख्छ तिनै कति राम्रा नराम्रा
होचा अग्ला
मोटा मसिना
लामा छोटा
रहरहरूबीच जीवन चल्दै गरेको।
अनि देख्छ त्यो अ/मृत रहरले नि थोरै थोरै गर्दै
निश्चित समय मनमा आशा जगाएको।
समय कटाएको।
जीवन बचाएको।
सोच्दै गर्दा
सम्हालिन्छ मन
उठ्छ मन
र दर्गुछ मन
फेरि एक हुल रहरसँगै
जीवनसँगै...