स्तब्ध हुँदै बोल्नुपर्ने
निःशब्द हुँदै लेख्नुपर्ने
कस्तो विवशता?
आस्थाको खम्बा ढल्दा टुलुटुलु हेर्नुपर्ने
सारा बयान सुन्दा धुरुधुरु रुनुपर्ने
आशाको कस्तो निराशा?
समाजका बक्र रेखाहरू
जिङ्ग्रिंग झाडीहरू
सरल, सरल र मिहिन
पार्ने सूत्रहरू
मन्त्रहरू
किनारामा उभिएर सुनाइरहने
एक जोगीको
एक कुटीको सन्नाटा
ती मन्त्रहरू
ती सूत्रहरू
अजम्बरी पहाडहरूले सुन्लान्?
चीलवील बचेराहरूले बुझ्लान्?
अनुभूत गर्न पाउलान्?
अनि
सरल मानवीय प्रवृत्ति उदाउलान्?
कतै श्रद्धा हुँदाहुँदै पनि
ती मन्त्र र सूत्रका बीजाणुहरू
समयको कठोर पैतालामुनि
सुस्केरा हाल्दै खन्तीले खन्नुपर्ने त होइन
संकल्प सहितको श्रदासुमन।