बिहानको ९ बजेको थियो। म कलेजको रिसेप्सनमा पुगेर आफ्नो क्यारेक्टर सर्टिफिकेट बनाउनका लागि अनुरोध गर्दै थिएँ। रिसेप्सनमा बसेकी स्टाफले कम्प्युटरमा केही खोजेझैं गर्दै भनिन्, 'सरी, तपाईंको क्लियरेन्स पूरा भएको छैन रहेछ। कृपया प्रशासनमा गएर बुझ्नु होला।'
म अचम्मित हुँदै किन कसरी भन्दै थिएँ, उनले प्रशासन जाने बाटोतिर हातले संकेत गरिन्। त्यहाँ गएपछि थाहा भयो ममाथि त केमेष्ट्री ल्याबमा फुटेका सामान र बायो बुकको चार्ज चढाइएको रहेछ जुन मेरो कार्डबाट निकालेर दिक्षाले अलपत्र पारिदिएकी थिई। त्यतिखेर त क्लियर गर्छु भन्थी तर अझै गरेकी रैनछे। तुरून्तै फोन गरेँ तर उठाइन। मलाई सर्टिफिकेट बुझाउन यसै पनि ढिला भइसक्या थियो। ऊसँग पछि कुरा गर्छु भन्दै कलेजको प्राङ्गणबाट बाहिरिएँ।
सुरुमा त खुबै चिप्लो घस्थ्यो। 'यहाँ पढाइ त उत्कृष्ट छँदै छ, त्योबाहेक फी र अन्य सुविधामा पनि अन्तभन्दा राम्रो सहुलियत दिन्छौँ' भन्थ्यो। एसएलसीमा उत्कृष्ट अङ्क आउनाले दङ्ग परेको थिएँ। अझ कलेज भर्ना हुँदा कलेजबाट ट्युसन फीमा भारी डिस्काउन्ट पाउँदा झनै दङ्ग भएको थिएँ। अन्तिम साल त कलेजले पहिलो साल मिनाहा गरेभन्दा बढी फी लियो।
भर्नाका समयमा अनेकौं आकर्षक स्किमहरूबारे विज्ञापन गरी विद्यार्थी र तिनका अभिभावकहरूलाई आकर्षित गर्ने र दोस्रो वर्षमा ढाड सेक्ने गरी शुल्क वृद्धि गर्ने यस्तो फण्डा सुरुमा बुझ्नै सकिएन। अन्तमा आएर विरोध पनि के गर्नु, आफ्ना डकुमेन्ट उनीहरूकै हातमा हुने र फेरि तिनै डकुमेन्टमार्फत हामीले आफ्नो भविष्य बनाउनुपर्ने रे!
निस्किँदै गर्दा कलेजको अग्लो भवन हेर्दै सोचेँ, 'सधैं आफू सानोदेखि नै पढेको स्कुल भन्दै खुब माया र लगाव थियो, छाड्ने बेला धेरै गुनासो छाडेर जानु पर्यो।'
बाहिरिँदै गर्दा कल्याणी आमा बस्ने गेट नजिकैको चिया पसलतिर ध्यान गयो तर त्यस बखत उनी रहने ठाउँ खाली थियो। पाले दाइलाई सोधेँ, 'आज आमा हुनुहुन्न क्या हो?'
उहाँले भन्नुभयो, 'नातिनी बिरामी भएर अस्पताल भर्ना गर्या छ रे। हप्तौं भयो नआएकी।'
हामीलाई चिया चप खाने अनि केटाहरूलाई लुकीलुकी चियाचुरोट खाने अड्डा बनेको थियो, कल्याणी आमाको चिया पसल। कलेजका अन्तिम साल त खुबै जाने भएका थियौँ कल्याणी आमाकोमा। आमा पनि साह्रै मिल्नुहुन्थ्यो र उहाँकी नातिनी त्यहीँ स्कुलमा पढ्थी। हामी उसलाई कत्ति जिस्काउथ्यौँ। २ कक्षामा पढ्थी ऊ, के भएको होला उसलाई भन्दै मनमनै आत्तिएँ।
बैंक गएँ। लाइन लामो थियो। त्यतिकैमा ६०/७० वर्षकी वृद्ध महिला आइन्। ब्यागबाट चेक झिकिन् र केही लेखिन्। म अचम्म पर्दै उनले लेखेको हेरिरहेँ। सरासर लाइनको अघिल्लोतिर लम्कँदै काउन्टरमा चेक बुझाइन्। सबै लाइनवद्ध मानिसहरू आमालाई हेर्दै मुख बिर्गादै थिए, कारण पछि आएर अघि बस्या थिइन् नि त। तर सरकारले नै वृद्धवृद्धालाई दिइएको प्राथमिकताका कारण सब चुपचाप रहन बाध्य थिए। आमा खनखन्ती पैसा गन्दै थिइन्, त्यत्तिकैमा कोही बैंकको स्टाफ आइ सोध्यो, 'ओहो! आमा, यसपाला त ढिला आउनुभयो त।'
'यसपाला लाहुरबाट छोराले पैसा पठाउन अलि ढिला गर्यो बावु,' भन्दै खिस्स हाँस्दै आमाले मुखभरिका नक्कली दाँत देखाइन्।
सोचेँ, आमा हरेक महिना पैसा लिन आउँदी हुन् अनि छोरो चाहिँ लाहुरे होला र समयमै पैसा पठाउने गर्या थियो होला। छोराको कमाइ खाँदै मख्ख परेकी आमा देख्दै आफू पनि मख्ख पर्दै थिएँ, त्यत्तिकैमा कल्याणी आमाको याद आयो। अनि मुहारबाट मुस्कान उत्रियो। आमाको नि छोरो हुँदो हो त यो बुढेसकालमा पसल थापेर संघर्ष गर्नु पर्थेन होला तर दुर्भाग्यवश बाढीका कारण खेतमा काम गरिरहेका छोरा बुहारी दुवै गुमाइन्।
त्यसपछि भएको जायजेथा बेचेर नातिनीलाई बोकेर काठमाडौंमा डेरा गरेर पसल थापिन्। भन्थिन्- हरेक वर्ष बाढीले कयौं नोक्सान गर्थ्यो रे। त्यो वर्ष उनलाई भारी पर्यो रे। अझै बस्थिन् त नातिनी, आफू र भएका गाईवस्तु नि गुमाउँथिन् होला। त्यसैले कम मोलमै भए नि आफ्नो सबै झिटीकुन्टा बेचेर काठमाडौं आएँ भन्थिन्।
पैसा डिपोजिट गरिसकेपछि कलेज गईवरी सर्टिफिकेट हात पारेँ। अनि पुलिस रिपोर्टका लागि सरासर चक्रपथ लागेँ। गाडी चढेदेखि नै जामले हत्तुहैरान पार्यो। ठ्याक्कै एक बज्यो पुगेँ। फर्म भरेर लाइन बसेँ। लाइन एकदमै लामो थियो। पुलिसले केही चन्दन तस्करी र लागु पदार्थ दुर्व्यसनको अभियोगमा परेकालाई पुलिस भ्यानमा चढाई लाँदै थियो। लाइन नजिकै एउटा मान्छे बोलेको सुनियो, 'लौन भाइ, जसरी भए नि मिलाउनै पर्यो। जसो गरे मिल्ला त्यसै गर्न तयार छु।'
बुढो मानिसले त्यसरी बिन्ती बिसाउँदा उनी साथै लागेको एक युवकले मिलिहाल्छ नि अलिक त्यतिमा नमान्ने देखियो भन्दै अङ्गालो मार्दै अलिक पर लग्यो। फेरि के कुरा भयो तिनीहरूबीच, कुरो मिल्दैथ्यो जस्तै देखियो। लाइन पछि भएका दुई जनाले तिनै बुढोलाई तोक्दै गफ गर्दै थिए।
एकले भन्यो, 'बुढेसकालमा यी बूढाले पनि धेरै सास्ती खेप्नुपर्यो छोराको कारण।'
अर्कोले सोध्यो, 'के भएको हो र?'
पहिलोले बोल्यो, 'यिनका छोरा र म सँगै कतारमा थियौं। जाँड भनेसी के दिन के रात केही नदेख्ने। पछि साहुको गाडी कता ठोकेर जेल पनि पर्यो। आमाबाउले उद्धार गरेर ल्याए। यहाँ पनि जाँड खाएर त्यत्तिकै दुःख दिएपछि फेरि बाउआमा बहिरै पठाए सुध्रिएला कि भन्ने सोचेर विदेश पठाउने तरखरमा छन्।'
लाइनमै रहेको तेस्रो व्यक्तिले भन्यो, 'मामिला त गम्भीर नै रहेछ। कुरा मिलाउन मोराहरूले कति ठट्टाउने हुन अब।'
नभन्दै अलिक पर ती युवकले बुढाको हातबाट पैसा लिँदै गनिरहेको दृश्य देखियो। तिनै दृश्यका अवलोकन गर्दै गरेका कोही एकले अघिको दृश्यलाई गीतका भाकामा मिलाउँदै यसरी गाए, 'जे गरे नि जसो गरे नि चल्छ नेपालमा।'
फर्म बुझाएपछि निस्किँदै गर्दा जेब्रा क्रसिङ नजिकैको पसलमा तिनै बा र युवक देखिए। बालाई देख्दा कस्तो माया लागेर आयो। अघि बैंकमा भेटिएकी आमाका जिम्मेवार छोरो, फेरि यी बाका गैरजिम्मेवार छोरा अनि कल्याणी आमाका जिम्मेवार भएर पनि आमाका साथ हुन नसकेका छोरालाई बराबरी दाँजें।
गाडी गौशालाको पुल नजिक आइपुग्यो। सिमसिम पानी परिरहेथ्यो। म गाडीको लास्ट सिटको कुनामा थिएँ। पुलमुनि बगिरहेको बागमतीको पानी उत्पातै गनायो। केही कुहिएजस्तै, ढलकै पानी पनि अरु समयभन्दा ज्यादा गनाएजस्तो। त्यो गन्ध नहटुन्जेल मैले त एकछिन सासै फेरिनँ।
पहिल्यै हाम्रातिर ढल निकासको व्यवस्था थिएन। मान्छेका मलमूत्र अण्डरग्राउण्ड कलेक्टिङ ट्याङ्कमा जम्मा गरिन्थ्यो। भरिए फोन गरेर सफा गर्न ट्याङ्करका गाडी बोलाउनु पर्थ्यो। भान्साका पानी चाहिँ ठूलो खाडलमा जम्मा पार्थे सिचाइका लागि। तर पछि त्यी खाडलका पानीले लामखुट्टे धेरै लागेर कालाज्वर, औँलो फैलिन थाले। फेरि वस्ती पनि बढ्दै गयो र अन्त्यमा ढल निकासको व्यवस्था भयो। म त्यो समय निकै खुसी भएको थेएँ, अब स्कुल जाने बाटामा पानी जम्दैन भनेर। पछि बुझेँ कि त्यी ढल निकासले सबै खोलानाला दुषित बनाउँदै थिए।
आफ्नै अङ्कल वातावरण सम्बन्धी एनजिओमा कार्यरत हुनुहुन्छ। सधैँ उहाँ वातावरण सरसफाइका नयाँ प्रविधि बारे बताउनु हुन्थ्यो। साथै यो जिल्लामा यसरी सरसफाइका योजना र कार्य सम्पन्न गरियो भन्दै तस्वीरहरू देखाउनु हुन्थ्यो।
म जिज्ञासा पोख्दै सोध्थेँ, 'काठमाडौंमा यत्तिका जनसंख्या छ। अनि प्रदुषण र त्यसका कारण उठेका जोखिम त्यति नै छन्। यहाँ ती प्रविधिहरूमार्फत प्रदुषण न्यून गर्न सकिन्थ्यो होला नि।'
त्यसको उत्तरमा उहाँले, 'काठमाडौंमा वतावरणीय सरसफाइमा संलग्न थुप्रै संस्था छन्। बरु गाउँठाउँमा गरे गरेको जस्तो नि देखिन्छ। यस्ता कुरा त बुझ्दिनस् लाटी,' भन्दै गाला तान्नु हुन्थ्यो।
उहाँले भन्नु भएझैँ हो त त्यतिका संस्था कार्यरत रहँदा पनि काठमाडौंको फोहोर व्यवस्थापन र खोलानालाको सरसफाइ झन्झनै किन खस्किँदो अवस्थामा छ त ?
आफू बसेको सिटकै साइड हुँदै चिप्लो कालो कार गुज्रियो। सोचेँ, 'ठूला गाडी चढेर हिँड्ने धनाढ्य, ज्याला मजदुरी गरेर खाने निम्न वर्गीय र मजस्ता हजारौं मध्यम वर्गीय पनि त्यी फोहोर खोलाका कारण हौँ, तिनको अपराधी हौँ।'
बाहिरको दृश्य हेर्दै आफ्ना सोचमा हराउँदै बसको भित्तामा आड लागेको मेरो शिर बसको बेगमा कतिखेर झुल्न थालेछ पत्तै भएन। स्वच्छ हावाले वातावरणका फूल हल्लाउँदै फूलबाट प्रवाह गरेका बास्ना अच्चानक मेरो नाकमा ठोकियो।
सुस्तरी आँखा उघार्दा म ठूलो पुलमा थिएँ। पुलको एकातिर फूटपाथमा रहेकी मैले आफ्ना बायाँ तिर नियालेँ। सडक चौडा थियो र गगनचुम्बी ठूला-ठूला भवन थिए। पूलमुनि निश्चल खोला बगिरहेको थियो र खोला छेउछाउ बगेनभिल्लाका विभिन्न रंगका फूलहरू फुलेकाले खोलाको दृश्य मनमोहक देखिइरहेको थियो। आकाश सफा थियो र सडक वरिपरि हरियाली नै हरियाली थियो। आधुनिक समयका विद्युतिय गाडीहरू, मेट्रो तेज गतिमा चलिरहेका थिए।
म कहाँ छु भनेर अलमल्ल परिरहेँ, डराइरहेँ। सूर्यको तेज किरणले कतै परको धातु मज्जाले चम्कियो। त्यसै किरणले मेरो ठूलो अन्योल हटाइदियो। पशुपतिको गजुर पो रहेछ त्यो। त्यति सानदार गाडी, बङ्गला र अनौठो पर्यावरणबीच पशुपतिको दृश्य चाहिँ परम्परमगत नै थियो। दुई हात जोडी नमस्कार गर्दै आफू आफ्नै देशमा रहेको ज्ञात गराउनु भएकोमा पशुपतिनाथसँग खुसी व्यक्त गरेँ। आफू उभिएको पुलमुनिको खोला बागमती रहेको र आसपासको ठाउँ गौशाला रहेछ भन्ने थाहा भयो।
कञ्चन नदी हेर्दै हरियाली र सफा वतावरण देखेर म अझै गद्गद् हुँदै आफू आफ्नै देशमा रहेछु भन्दै हर्ष मनाएँ। यति सुन्दर, शान्त र विकसित आफ्नो ठाउँ छाडेर बाहिर जानलाई खुट्टा उचालिसकेको सम्झँदै आफ्ना गलत कदमप्रति अफसोच मानेँ। आफ्नै ठाउँमा भए पनि ती सब अचानकका परिवर्तन चाहिँ स्विकार्नै सकिनँ।
सानो हुँदा पढेको रिप भ्यान हुङ्कलको कहानी याद आयो। उनी जङ्गलमा गई अन्जान व्यक्तिहरूले दिएको रक्सी खाएर वर्षौं निदाएका थिए। फर्केर आउँदा बिसौ वर्ष बितिसकेको हुन्थ्यो र नाति नातिना ठूला भइसकेका हुन्थे। तर मेरो सन्दर्भमा कत्ति समय व्यतीत भयो, म कति वर्षको भएँ र यति भव्य परिवर्तन देख्नु अगाडि म कहाँ थिएँ, पहिल्याउन साह्रै कठिन भयो।
घर जाने इच्छाले गाडी चढ्न खोजेँ तर अनौठो कार्ड सिस्टम लागु रहेछ, त्यो नभई चढ्न पाइनँ। गाडीमा भिडभाड थिएन, मानिसहरू अनुशासित भई लामबद्ध तरिकाले चढिरहेका थिए। कसैसँग मद्दतको अपेक्षा गर्दै मैले त्यहीँका मानिसलाई आफ्नो ठेगानाका गाडी सोधेँ। त्यो ठेगानासँग अपरिचित कोहीले नजिकको पुलिस थाना जान समेत भन्यो।
अचानक मलाई आफू पढेको कलेज नजिकै रहेको याद आयो। कलेजको नाम भने बदलिएको रहेनछ, मानिसहरूले बाटो देखाइदिए। गल्लीहरू चौडा थिए, पहिलेजस्ता थिएनन्। दश मिनेटको खोजाइपछि म ठिक्क कलेजको गेटअगाडि थिएँ। कलेज पनि ठूलो क्षेत्रफलमा फैलिएको देखेँ बाहिरैबाट। भित्र पस्नै लाग्दा कल्याणी आमाको हालखबर बुझ्न मन लाग्यो।
पालेलाई सोधेँ, 'यहाँ एउटा चिया पसल थियो नि?'
पालेले, 'दिदी, तपाईंलाई रोडको १० मिटरको दूरी नजिक पसल र रेस्टुरेन्ट हुँदैनन् भन्ने थाहा छैन?' भन्यो।
मैले अर्को नयाँ यथार्थ स्विकार्दै, 'ए हो र!' भनेँ।
वर्षौंअघि कति वर्ष तोक्न नसकी यहाँ कल्याणी नाम गरेकी आमाको पसल थियो भनेर औँलाले संकेत गर्दै देखाएँ। पालेले ट्वाल्ल पर्दै मलाई हेर्दै ओठ लेपार्यो। कलेजभित्र पस्न खोजेँ तर परिचय मागेर पालेले रोक्यो। मैले सम्झाउन खोजेँ तर ठोस परिचय पत्र नभई भित्र जान नदिने अठोट गर्यो।
म चुपचाप निस्किँदै थिएँ भित्रबाट कोही मेरो हल्ला सुनेर बाहिर आयो।
'कल्याणी भन्नुभयो होइन, कसरी चिन्नुभयो?' सोध्यो।
'तपाईं को हो?' भनेर फेरि सोध्यो।
'म उहाँको जानपहिचानको मान्छे हुँ,' मैले भनेँ।
त्यस समय उनकी नातिनी बिरामी थिइन् र उनीसँग नि भेट भएन, सोचेँ आज खबर लिएरै छाड्छु।
उसले भन्यो 'धेरै समय अघि यहीँ पसल गरेर निर्वाह गर्थिन् तर अहिले वृद्धाआश्रममा छिन्।'
मैले दुखेसो गर्दै विचरी आमा भनेँ। त्यस व्यत्तिले के भन्नुभयो भन्दै सोध्यो। मैले विचरी आमाले धेरै दुःख पाउनुभयो भनेँ। उसले खित्का छोड्दै हाँस्यो। म भने यथार्थ कुरामा हाँसेर अरूलाई गिज्याएको सोच्दै कराउन मात्रै लाग्या थिएँ, उसले नै मलाई उछिनेर बोल्यो,
'अहिलेको समयमा बुढाबुढीलाई घरमा आफ्नासँग बस्नुभन्दा सरकारको आश्रय र सुविधामा बस्नु बढी सुखदायी छ। सुखसयलका आश्रय, खानपानको उचित व्यवस्था, घुमघाम र बिरामीमा स्याहार, आहा! योभन्दा बढ्ता उनीहरूलाई के चाहियो र! अहिले त बुढाबुढी आफै सरकारको रेखदेख रुचाउँछन्। यहाँसम्म कि पहिले मानिसहरू बुढेसकाल अगावै मर्न पाए हुने सोच्थे, अहिलेका मानिसहरू सुखसयलका लागि बुढेसकाल कुर्दछन्।'
यति भन्दै ठूलो खित्का छोडेर हाँस्यो। अघिका हरेक नौला कुराले मलाई अचम्मित पारेभन्दा यस कुराले दोब्बर अचम्मित पार्यो। अचम्म मान्दै मेरो मुख आँ पर्यो। त्यस व्यत्तिले मेरो आँखाछेउ चुड्की बजायो। तर्सिएँ, यथार्थमा उत्रिएँ अनि मनमा कल्याणी आमाका लागि हर्ष मानेँ।
आमाका लागि ढुक्क भए पनि उनकी नातिनीका बारे अझै द्विविधा र डर प्रकट गर्दै सोधेँ, 'अनि उनकी नातिनी?'
जवाफमा आयो 'डाक्टरी पढ्दै छिन्।'
कल्याणी आमाकै यो सन्दर्भ अनौठो लागि रहेको थियो, उनकी नातिनीले पढाइ त पूरा गरिन् र भन्ने शंकामा रहेकी मलाई डाक्टरी पढ्ने त सपनाको कुराजस्तै लाग्यो। अर्को प्रश्नको ज्वारभाटा उठाउने तरखरमा थिए, उसले अगावै भन्यो- 'अब नसोध्नुहोस् कसरी सम्भव भयो?'
मैले भने उसैको शब्द दोहोर्याएँ, 'कसरी?'
'२०५० साल हो म्याडम, देशभर सरकारले निःशुल्क शिक्षाको प्रबन्ध गरेको छ।'
शिक्षा निशुल्क पारेको सुन्दासम्म म हैरान भइनँ, त्यो अघिको अङ्क २०५० ले हजारौंको उचाइबाट खसेझैं भएँ। थुचुक्कै बसेँ, त्यस व्यक्ति अझैँ नि बोल्दै थियो। त्यसका शब्दका कुनै मेसो पाएन दिमागले। रोडपारि ठूलो ऐना टिलिली टल्किँदै थियो। यति ठूलो यथार्थ स्विकार्न नसकेर आँखाबाट अश्रुधारा बग्न थालेँ। मस्तिष्कमा त्यही व्यक्तिको आवाज फेरि आउन थाल्यो, 'के भयो म्याडम, के भयो?'
आँसु पुस्न हात गालामा पुग्यो। हातले अनुहारको छाला स्पर्श गर्दैगर्दा मलाई आफ्नो स्वरूप कस्तो भयो होला भनेर एक अनौठो उत्सुक्ता जाग्यो। दौडिँदै त्यसपारि साइडमा टल्केको ऐनामा आफ्नो स्वरूप हेर्ने इच्छाले दगुरेँ। तीव्र गतिमा आइरहेको मोटर बाइक छल्न खोज्दा बीच बाटोमा उत्तानो परेर लडेँ।
मलाई बचाउने क्रममा बाइक झण्डैले नजिकैको रेलिङमा ठोकिन पुग्यो। ट्राफिकको संकेत पाउनासाथ गुडिरहेका गाडीहरू पनि रोकिन थाले। त्यत्तिकैमा एक महिला प्रहरीले पाखुरामा च्याप्प समातेर तानेर भनी, 'यसरी जथाभावी बाटो काट्न मिल्छ?'
म उसको हातबाट आफूलाई छुटाएर ऐनातर्फ बढ्ने प्रयासमा थिएँ। अनि आफ्नो रिहाइ र बचाउमा 'जेब्राक्रसिङ नजिकै त छ' भन्दै आफू समातिएको स्थानबाट नजिकै रहेको जेब्राक्रसिङ देखाएँ। महिला प्रहरीले ५ मिटर दूरीमा रहेको जेब्राक्रसिङ देखाउँदै नियम भङ्ग गर्न मिल्छ भन्दै पासुलामा दुई लठ्ठी बजाई।
अर्को सँगै भएको पुरुष प्रहरीले भन्यो, 'हिँड्नुहोस् अब। तपाईंले जरिवाना तिर्नुपर्छ। केही समय ट्रफिक नियमका बारे क्लास लिनु जरूरी देखिन्छ।'
हतासमा पाखुरा छुटाउन खोज्दै भनेँ, 'नाई, म गर्दिनँ। म जरिवाना मात्रै तिर्छु, मलाई जान दिनुहोस् प्लिज।' यति भन्दै हत्तपत्त ब्यागमा हात हाल्दै पैसा निकाल्न लागेथेँ, झल्यास्स सम्झिएँ, 'ओहो! पैसा त कलेजमा क्लियरेन्स गर्न पो बुझाएँ।'
गाडीको पछाडिको चक्का एउटा खाल्डोमा पर्नाले लास्ट सिटमा बसेकी म नमज्जाले थचारिएँ। म कुनै एक दुनियाँबाट अर्को दुनियाँमा आइपुगेछु भनेर सशंकित भएँ तर त्यो मेरो वास्तविक दुनियाँ थियो र त्यस अघिका सबै काल्पनिक। निदाएर मुखबाट बगेको र्यालले छेवैको महिलाको सारी भिजेछ।
उसलाई पनि म बिउझिएपछि थाहा भएछ। रिसले मुरमुरिएर नेवारीमा तथानाम गाली गरी। आफ्ना बिपना र सपनाको दुनियाँ राम्रोसँग छुट्याउन समेत नपाउँदै त्यस महिलाको चिच्याहट शान्त पार्नु कि आफ्नो स्टेशन पार गरी धेरै अघि बढिसकेको गाडी रोक्नु भनेर ममा नैराश्यता व्याप्त भयो। धन्न गाडी पार्क नजिक आउन लागेकाले गाडी भित्र अरु मानिस थिएनन् र ती महिलाको गाली पनि नबुझेकाले लाज नमानी गाडीबाट ओर्लेँ।
गाडीबाट ओर्लेर घर नपुगुन्जेल म त्यहीँ सपनाको बारे सोचिरहेँ। सपनामा म स्वप्नील दुनियाँमा थिए जुन दुनियाँ सपनामा स्विकार्न गाह्रो भए नि बिउँझिएपछि हरेक परिवर्तनलाई आत्मासाथ गर्दै खुसी व्यक्त गर्न थालेँ। सपना नै भए पनि त्यहाँ देखेका हरेक कुरामा अनेकौ प्रश्न खेलिरहे-
'के २०५० सम्म देशमा यी परिवर्तनहरू साँच्चीकै देख्न सकिएला त?'
'के हामी नेपालीहरूले पनि आफ्नो देश र यहाँको व्यवस्थाप्रति गर्व गर्ने दिन आउला त?'
अन्तमा आफू र हजारौं विदेशिन बाध्य नेपालीहरूको तर्फबाट प्रार्थना गरेँ कि यी सबै कल्पना एकदिन सार्थक होउन् र हामी नेपालीहरूका लागि विदेशिनु बाध्यता नभई स्वेच्छा वा रोजाइमा मात्रै सीमित रहन सकोस्।