ऊ मरेको दिन
उसलाई थाहा भयो
ऊ त अस्थायी पो रहेछ
यो संसारमा
ऊ रित्तै छ
गोजी खाली छ
एउटा कौडी पनि छैन
अनेक गरेर कमाएको
त्यो सम्पत्ति
अनेक गरेर जोडेको
ती घरजग्गा
सबै सबै छोडेर ऊ जाँदैछ
कहिल्यै नफर्किने गरी
किनकि
ऊ त अस्थायी पो रहेछ
यो संसारमा
नाक, कान, घाँटी सबै
बुच्चो छ
खाली छ
छैन एउटै गरगहना
कति गरी जोडेको
सबै सबै छोडेर ऊ जाँदैछ
कहिल्यै नफर्किने गरी
किनकि
ऊ त अस्थायी पो रहेछ
यो संसारमा
यसो हेर्यो तीँ पर
घुस खाने र भ्रष्टाचार गर्नेहरू
सम्पत्तिमा चुर्लुम्म डुबेकाहरू
कहिलेसम्म कतिसम्म थुपार्लान्
सबै सबै छोडेर
जानैपर्छ एकदिन
कहिल्यै नफर्किने गरी
किनकि
यिनीहरू पनि त अस्थायी हुन्
यो संसारमा
त्यसैले मृत्युशय्याबाटै
उसलाई हाँस उठ्यो
अर्कोतिर हेर्यो अलि यता
खाडीबाट आफ्नो प्रियले
हाडछाला घोटी पठाएको
रगत पसिनाको कमाइ
लाइन लागेर बुझ्दै थिए
बिछोडिएर निराश भएका
आफन्तजनहरू
यसरी कहिलेसम्म
छुट्टिएर बस्लान्
शारीरिक र मानसिक
दु:ख सहलान्
आखिर सबै सबै छोडेर
जानैपर्छ एकदिन
कहिल्यै नफर्किने गरी
किनकि
यिनीहरू पनि त अस्थायी हुन्
यो संसारमा
त्यसपछि उसका आँखाबाट
आँसु झर्दै थियो
नातासम्बन्ध साथीभाइ
मान, शान, वैभव
सबै सबै छोडेर
सबैले जानैपर्ने रहेछ एकदिन
कहिल्यै नफर्किने गरी
किनकि
हामी सबैजना पो अस्थायी रहेछौँ
यो संसारमा।