आज बिहानै विश्वविद्यालयको डिन कार्यालयले एमबिबिएस अन्तिम परीक्षाको नतिजा प्रकाशित गरेछ।
केही समयअघि एमबिबिएसको अन्तिम परीक्षामा समावेश भएका हुनै लागेका डाक्टर सा'बहरूको फेसबुक रंगिन थाल्यो शुभकामना र बधाईका सन्देशहरूले।
विद्यालय कक्षा १ मा भर्ना भएर पढ्न थालेपछि झन्डै १७ वर्ष वा त्योभन्दा बढी लामो शैक्षिक तपस्या गरेका मेधावी विद्यार्थीहरू चिकित्सक बनेर नामको अगाडि डाक्टर लेख्ने सपनालाई बिपना बनाउँदै थिए।
आफूले दुखै गरेर भए पनि आफ्ना छोराछोरीहरूलाई राम्रो ठाउँमा पढाएर डाक्टरको बाबु वा आमा बन्ने सपना बोकेका बाबु आमाहरूको पनि सपना साकार हुने दिन थियो त्यो।
नतिजा प्रकाशित भएको खबरले चारैतिर हल्लाखल्ला चल्न थाल्यो। फेसबुकका पानाहरू बधाई र शुभकामनाका सन्देशहरूले रंगिन थाले। त्यो परीक्षामा सर्वप्रथम हुने परीक्षार्थी प्रकाश क्षेत्री रहेछ, तर उसको कुनै चालचुल थिएन। उसको फेसबुक वालमा बधाईको ओइरो लागेको थियो, तर उसले कुनै प्रतिक्रिया दिएको थिएन।
उसका सबै साथीहरू कलेजमा जम्मा भए, तर त्यहाँ पनि उसको अत्तोपत्तो थिएन।
उसका केही मिल्ने साथीहरूले आफ्नो खुसी साट्न र बधाई भन्न उसलाई फोन गरे, तर उसको फोनमा एकोहोरो घन्टी गैरह्यो, पटक पटक प्रयास गर्दा पनि उठेन। उसलाई पढाउने प्राध्यापकहरूले पनि आफ्नो सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई शुभकामना दिन खोजे, तिनका फोनका घन्टीहरू पनि खेर गए। बरू अल्लि पछि त उसको फोनले 'माफ गर्नु होला, तपाईंले सम्पर्क गर्नु खोज्नु भएको नम्बरमा सम्पर्क हुन सकेन, पुनः प्रयास गर्नुहोला' भनेर जवाफ दिन थाल्यो।
उसका केही साथीहरू आत्तिँदै उसको कोठातिर कुदे। तर बिहानको दश बजेसम्म पनि उसको कोठाको ढोका खुलेको थिएन।
उनीहरूले ढोकामा ढकढक गरेर 'प्रकाश, प्रकाश' भन्दै बोलाए, तर ढोका खुलेन। उनीहरूले कलेज र प्रहरी प्रशासनलाई खबर गरे। केही छिनमा आइपुगेको प्रहरीको रोहबरमा उसको ढोकाको ताल्चा फोरियो।
भित्र गएर हेर्दा सबै जनाको सातो उड्यो, प्रकाशको शरीर सिलिङ फ्यानमा बाँधिएको गलबन्दीको पासोमा लड्किरहेको थियो। हतार-हतार उसलाई पासोबाट निकालियो।
तर उसको शरीर निष्प्राण भैसकेको थियो। साथीहरूको बीचमा सन्नाटा छायो। यो खबर सुनेपछि प्रकाशका धेरैजसो सहपाठीहरू हस्याङफस्याङ गर्दै आइपुगे, सिर्फ गजेन्द्र र उससँग नजिक हुने केही साथीहरू थिएनन् त्यहाँ।
केही क्षणमा प्रकाशका बुवा पनि आइपुगे। यतिका वर्षको कठोर मेहनतपछि सारा मेडिकल कलेजमा सर्वप्रथम भएको आफ्नो छोरालाई डाक्टर बनेकोमा सगुन दिएर खुसी मनाउने चाहना गरेका बाबु आफ्नो छोरा निष्प्राण मुढो बनेको देख्दा सम्हालिन सकेनन्।
उनको होस हवासले काम गर्न छोड्यो, उनी छाती पिटीपिटी रूने, चिच्याउने गर्न थाले र बेहोस भए। साथीहरू सबैको आँखा आँसुले भरियो।
‘लौ सुसाइड नोट भेटियो’, कोठाको खानतलासी गरिरहेका प्रहरी टोलीका असईले भने।
त्यो प्रकाशले नै लेखेको नोट हो भन्ने भैसकेपछि उनले सो नोट पढ्न थाले,
‘मलाई माया गर्ने र घृणा सबै महानुभावहरू,
म आज यो संसारबाट बिदा लिन गैरहेको छु र मेरो यस दुष्कर्मका लागि मलाई क्षमा गर्नुहोला। मेरो मृत देहसँगै मेरा बा र स्वर्गीय आमाको सपनामा पनि आगो लाग्न गैरहेको छ, त्यसको लागि म कुन शब्दमा क्षमा मागूँ। सकेछु भने म अर्को जन्ममा तपाईंहरूलाई अहिले आगो लाग्न गैरहेको सपना फिर्ता गर्ने प्रण गर्दछु।
तपाईंहरूलाई लाग्ला, 'यो प्रकाश जिन्दगीबाट डराउने कायर रहेछ अनि समस्याहरूसित झेल्न नसक्ने काँतर रहेछ' भनेर। तर मेरो ठाउँमा तपाईं हुनु भएको भए पनि यो समस्या झेल्न नसकेर यही बाटो रोज्नु हुन्थ्यो होला।
त्यति विकट दुर्गम गाउँको बिहान खाए बेलुका के खाऊँ, बेलुका खाए बेलुका के खाऊँ भन्ने खालको अभावै अभाव झेलेको परिवारमा जन्मेर पनि एउटा डाक्टर बन्ने र ठूलो मान्छे बन्ने सपना देख्नु सायद मेरो ठूलो गल्ती थियो।
आफू भोकै प्यासै बसेर पनि मलाई सानैदेखि राम्रोसँग पढाउन अहोरात्र मेहनत गरेका मेरा बा-आमाले मलाई पढ्न यथासम्भव आवश्यक वातावरण जुटाउन कोसिस गर्नुभयो। बा-आमालाई आफूले राम्रो पढ्न नपाएकोले दुःख पाएको र त्यसैकारण छोरालाई भने राम्ररी पढाउनुपर्छ भन्ने चेतना थियो। त्यसैले होला, मलाई ऋण गरेर भए पनि मेरो पढाइमा लगानी गर्नुभयो।
मैले पनि उहाँहरूको दुःख बुझेर अनि उहाँहरूले उपलब्ध गराएको वातावरणको सदुपयोग गरेर राम्रो पढ्ने प्रयास गरेँ। मैले त्यति विकट गाउँको त्यस्तो सुविधाविहीन विद्यालयमा पढेर पनि राम्रै गरेँ र एसएलसीमा राम्रो नतिजा हासिल गरेँ।
प्लस टु पढ्न गाउँ छोडेर सहर जानुपर्थ्यो। सहरको कलेजले मेरो एसएलसीको लब्धांकपत्रको अंक हेरेर मलाई पढाइ शुल्कमा आधै छुट दिने भयो।
तर हामी गाउँलेलाई त्यो आधा शुल्क तिर्नु पनि साह्रै पर्दो रहेछ। डेराभाडा, कापी-किताब, रासन पानी, ग्यास मट्टितेल आदि किन्नको लागि घरबाट पैसा पठाउनु पर्थ्यो। जागिर र श्रीसम्पत्ति केही नभएका मेरा बा-आमाले ऋण गरी-गरी मलाई खर्च पठाएर मेरो पढाइ सम्पन्न गराउनु भयो।
प्लस टुमा मेरो राम्रै भयो, मभन्दा कमजोरहरू पनि डाक्टर इन्जिनियर पढ्ने भए।
मैले बा-आमासित सोधेँ, 'म के गरौँ ?' भनेर।
बाले भन्नुभयो, 'हाम्रो पैसा, जागिर, जग्गा जमिन पो छैन त, छोरो पढाउन पर्छ भन्ने मन त छ नि, अझै अलि वर्ष घोटिएर काम गर्न सक्ने हड्डी सहितको शरीर त छ नि। मैले त आज राति सपनामा म डाक्टरको बाउ भएर मख्ख पर्दै तेरी आमालाई उपचार गर्न तेरै अस्पतालमा गा'को अनि तैले उसको गानु गोला र मुटु दुख्ने ब्यथाको उपचार गरेको देखेँ। त्यसैले म बेचिएरै भए पनि तँलाई पढाउँछु छोरा, तँ डाक्टरै हुनुपर्छ।'
आमाले पनि रसिला आँखा बनाएर सहमतिको मुन्टो हल्लाउनु भयो।
म डाक्टरी लाइन नै पढ्ने भएँ। काठमाडौंमा बसेर तयारी गर्न नपाए पनि मेरो नाम निस्कियो। तर अरूले वर्षौं तयारी गरेर, रातदिन ट्युसन र कोचिङ पढेर राम्रो अंक ल्याउँदा रहेछन्, सोर्सफोर्स गरेर विभिन्न छात्रवृत्ति र छलछाम गरेरै भए पनि अनेक विधि गरेर अनेक थरी कोटा पाउँदा रहेछन्। मेरो त्यस्तो केही थिएन।
पूरै शुल्क तिर्नु नपरे पनि केही पैसा तिर्नु पर्ने गरी मेरो नाम निस्कियो।
बा-आमाको खुसीको सीमा रहेन। उहाँहरूले दिएको हिम्मतले म एमबिबिएस पढ्ने भएँ।
केही छुट पाए पनि बाँकी शुल्क तिर्दा, किताब-कापी किन्दा, छात्राबास शुल्क तिर्दा त कल्पनै गर्न नसकिने खर्च लाग्दो रहेछ।
ऋण धन गरेर भर्ना गरियो र पढ्न थालियो।
त्यहाँ पढ्नेहरूमा मजस्तो गरिब, सोर्सफोर्स नभएका र विभिन्न खालका कोटामा नपरेका धेरै कम थिए। कुनै आर्थिक स्थिति, राजनीतिक पहुँच र सामाजिक स्तर नहुँदा-नहुँदै डाक्टर बन्न रहर र दुस्साहस गर्ने मैमात्र थिएँ होला मेरो कलेजमा सायद।
पढ्न लाग्यो कि ऋणको यादले सताउँथ्यो। साथीहरूले मन फुकाएर खर्च गरेको र मौका परेका बेला रमाइलो गरेको देख्दा मन पोलेर आउँथ्यो। साथीहरूको फूर्तिफार्ती देख्दा ग्लानी भएर आउँथ्यो।
अनि 'मजस्तो अभागी मान्छेले किन डाक्टर बन्ने रहर गर्नुपर्या होला!' भनेर म आफैंलाई सराप्न र आफ्नो भाग्यलाई धिक्कार्न मन लाग्थ्यो।
तर बा'को सपना, डाक्टर भएर आमाको उपचार आफैंले गर्ने चाहना अनि गरिबको 'छोरो भएर पनि डाक्टर बन्यो रे' भनेर इतिहास कायम गर्ने रहरले मलाई निरन्तर मेहनत गरिरहने प्रेरणा दिए।
मेरो पढाइ राम्रै भैरह्यो। म हरेक आन्तरिक र वार्षिक परीक्षाहरूमा उत्कृष्ट भैरहें।
यो संसार पनि विचित्रको रहेछ। सबैको राम्रो गर्न खोज्दा-खोज्दै पनि आफ्नो खेदोपाइलो गर्नेहरू भेटिँदो रहेछ।
मलाई पनि भगवानले मेरो लागि एउटा शत्रु व्यवस्था गरिदिनु भएको रहेछ। मैले यही कलेजमा आएर भेट्न र चिन्न पाएँ।
मेरा बाले मलाई खर्च पठाउन हाम्रो टारी खेतको जग्गा दृष्टिबन्धक गरेर गाउँतिरकै एक जना ठूला मान्छेबाट ऋण लिनुभएको रहेछ।
तिनले 'छोरा डाक्टर भएपछि तिर्लास् नि त' भनेर चाहिँदो ऋण दिएछन् पनि।
र कस्तो अनौठो संयोग, तिनै साहुको छोरा गजेन्द्र पनि यही कलेजमा मसँगै पढ्न आइपुगेछ। मोटा मोटा पाखुरा भएको अग्लो न अग्लो जिउडालको गजेन्द्र विद्यालय पढ्दै गुन्डाजस्तो थियो। अहिले त दुरूस्तै गुन्डै भएछ।
तर पनि म 'आफ्नो बालसखा गजेन्द्रसँगै पढ्न पाइयो' भनेर मक्ख परेँ। तर म जति उसित नजिक हुन खोज्यो, ऊ मसित त्यति टाढा हुन खोज्थ्यो। विद्यालय पढ्दादेखि नै दादागिरी गर्ने, मान्छे कुटिहाल्ने अनि बाबु सम्पत्तिको धाकधम्की देखाउने बानी परेको गजेन्द्रको बानी उस्तै रहेछ। मैले राम्रो नतिजा ल्याइरहँदा गजेन्द्रको नतिजा प्राय: खराब आउँथ्यो। ऊ धनी-मानीको छोरो भएको कारण प्रशस्त खर्च गर्न र हाट्टहुट्ट गर्न सक्ने भएकोले उसका त्यस्तै खाले केही साथीहरू थिए। सँगै कलेजमा पढेर पनि गजेन्द्र र उसका साथीहरू मसित सधैं टाढा-टाढा भैरहे।
परीक्षाफल आएपछि अरू सबै साथी मसित आएर खुसी साटासाट गर्थे, तर गजेन्द्र र उसका साथीहरू त्यो दिन छात्राबास अगाडिको भट्टी पसलमा गएर दारू खाँदै मेरो सत्तोसराप गर्दा रहेछन्।
'त्यसको बाउ त हाम्रो घरको हली हो, त्यसले डाक्टर पढेको छु भनेर फूर्ति लगाउने? त्यसको फूर्ति सब झार्छौं' भनेर भन्दो रहेछ गजेन्द्र र अरूहरू उसको कुरामा सही थाप्दा रहेछन्।
'झिंगाको सरापले डिंगा पर्दैन' भनेर मैले उसको खासै वास्ता गर्दैनथें।
तर उनीहरू मप्रति आगो भएका रहेछन्।
र 'कुन दिन यसलाई बर्बाद पारौंला' भनेर ताक हेर्दै बस्दा रहेछन्।
हामी पढ्न थालेको दुई वर्ष भैसकेपछि हाम्रै जिल्लातिरकी उषा नामकी एक जना केटी हाम्रो कलेजमा भर्ना हुन आई, हाम्रै जुनियर बनेर। ऊ कसरी कसरी भर्ना भएर यहाँ आइपुगेकी रहिछ।
उसको गजेन्द्रसित पहिल्यै चिनजान रहेछ। उनीहरूको राम्रो सम्बन्ध भएको र प्रायः सँगै हिँडेको देख्थेँ मैले। उनीहरू साथीमात्र थिए या अरू केही, त्यो चाहिँ मलाई थाहा भएन।
एकदिन उसले अनायासै , 'दाइ मेरो पढाइ साह्रै कमजोर भयो, मलाई अलिकति सहयोग गर्नुस् न है' भनी।
मैले 'हुन्छ त नि' भनेर सहमति जनाएँ।
पुस्तकालयमा, बाहिर रेष्टुरेन्ट, पार्कहरूमा हाम्रो नियमित भेट हुन थाल्यो। भेट हुँदा खाली पढाइकै कुरा हुन्थ्यो। मसित खासै पैसा नहुने तर ऊ अलि खाता पिता परिवारकी हुनाले रेष्टुरेन्टतिर जाँदा पैसा उसैले तिर्थी।
यो कुरा गजेन्द्रलाई पटक्कै मन परेको रहेनछ।
अन्तिम वर्षको परीक्षा हुनुभन्दा केही दिन अगाडिको कुरा हो, एकदिन साँझको बेला म उषासित बाहिर बजारतिर गएर छात्राबासतिर फर्किंदै थिएँ, गजेन्द्रले उसका केही स्थानीय साथीहरू ल्याएर मेरो बाटो छेक्यो र 'उषासित तेरो नाता के छ भन्? म तँलाई कलेजबाट अहिल्यै खुट्टा भाँचेर खेद्न सक्छु। मैले जम्मै तेरो भिडिओ खिचेको छु, तँलाई बदनाम गर्न सक्छु' यस्तै भनेर धाकधम्की दियो।
त्यो दिनबाट उषाले मसित भेटघाट गर्न छोडी। मेरो फोन पनि उठाइन।
यता गजेन्द्रले यस्तो गर्यो, उता उसको बाबुले मेरा बा आमासित 'मसित लिएको ऋण सबै तुरून्तै फिर्ता गर, नभए पुलिस केस गर्छु, तँलाई गाउँबाट उठिबास लगाउँछु' भनेर धम्की दिएछन्।
बा-आमा साह्रै तनावमा पर्नु भएछ, तनावकै बीचमा मेरो अन्तिम परीक्षाको दिन बिहानदेखि आमा घिक्क घिक्क गर्दै अन्तिम अवस्थामा पुग्नुभएछ र मेरो परीक्षा चल्दाचल्दै परलोक हुनु भएछ।
आँसुको सागरमा डुबेका मेरा बा'ले 'प्रकाशलाई आमाको खबर नदे'ओ' भनेर मलाई घर बोलाउन दिनु भएनछ।
यी सबै कुराले गर्दा मेरो दिमागले पटक्कै काम गरिरहेको थिएन, तर मैले जसरी पनि परीक्षा उत्तीर्ण गर्नुपर्छ, डाक्टर हुनुपर्छ र साहुको ऋण तिर्नुपर्छ भनेर उच्च मनोबल बनाएर परीक्षा दिएँ। परीक्षा राम्रै भयो।
यता परीक्षा सकियो, उता आमा परलोक भएको खबर आयो। फेरि गजेन्द्र र उसको टोलीले आफूले बैनी सरह मानेको उषालाई गलत व्यवहार गरेको भनेर जताततै हल्ला फिँजाएछ र 'यसलाई ठीक पार्नुपर्छ' भनेर बाटो ढुकेर बस्न थालेछ।
अस्तिमात्रै बाले फोन गरेर, 'बाबु, तँलाई पढाएर डाक्टर बनाउने अनि तेरी आमाको उपचार गर्ने कत्रो सपना देखेको थिएँ। अब त न आमा रही, न घरजग्गा सम्पत्ति रहने भो। हुँदाहुँदा 'तैंले कुन चाहिँ हो केटीलाई दुर्व्यवहार गरिस् रे' भनेर हल्ला पो आयो। तँ डाक्टर भएर पो के भयो र, अब म पनि किन बाँच्नु!' भनेर बिलौना गर्नुभयो।
त्यसपछि मेरो मन ठेगानमा छैन। मैले आज बिहानै थाहा पाएँ, म अन्तिम परीक्षामा पनि सर्वोत्कृष्ट भएछु। तर अब न मेरी आमा रहिन, न मेरो इज्जत रह्यो। न बाले सुख पाउनुभयो।
'अब मेरो सफलता कसलाई सुनाउनु, पीडै पीडाको इतिहास बोकेको मेरो डाक्टरीको के अर्थ, म किन बाँच्नु,' भनेर यो जीवन परित्याग गर्ने निर्णयमा पुगेको छु।
मेरा बा, मलाई माफ गर्नु होला। मेरी आमाको आत्माले पनि मलाई नसरापोस्। मलाई माया गर्ने साथी भाइ र गुरूहरू, मलाई माफ गर्दिनु होला।
मेरो कुभलो चाहनेहरू पनि अब ढुक्क हुनू , किनकि मबाट तिमीहरूलाई केही खतरा छैन।
उही,
प्रकाश क्षेत्री
त्यो पढिसक्दा सबैको आँखामा आँसु थियो।
त्यतिबेला एक जना युवती प्रकाशको शवलाई अंगालो हालेर रोइरहेकी थिई।
ऊ सुसाइड नोटमा वर्णित त्यही उषा थिई।
उसले प्रहरीको हातमा भएको प्रकाशको सुसाइड नोट खोसेर लिई र त्यो आफ्नो छातीमा टाँसेर रून थाली।
'गजेन्द्रको धम्की र प्रलोभनमा परेर म पनि तपाईंलाई बदनाम गराउने षड्यन्त्रमा सामेल भएँ, माफ गर्नुहोला प्रकाश दाइ।' ऊ घिक्क-घिक्क गर्दै प्रकाशको निर्जीव शरीरसित बोलिरहेकी थिई।
उषाको आँसुको थोपाले सुसाइड नोटलाई भिजाइरहेको थियो।