धेरैपछि तिम्रो सामु उपस्थित भएकी छु
तिमीसँगको भलाकुसारीमा आफू
तिमीमा नै विलीन हुन आएकी छु
सधैं तिमीसँगै भएर पनि
तिमीसँग नहुने हामीसँगको
दुखेसोको पोको फुकाऊ
तिम्रै छाहारीमा बसेर तिमीलाई नै
उजाड्न खोज्ने मूर्खहरूसँगको
जायज रिस पोखाऊ
तिम्रै आडमा बाँचिरहेकाहरू
तिमीलाई नै नियन्त्रण गर्न
गरिरहेका असफल प्रयासहरूका
मजाक उडाऊ
तिम्रो धैर्यतालाई आफ्नो सफलता ठान्ने
अज्ञानीहरूप्रति सहानुभूति जताऊ
तिमीसँगको भलाकुसारीमा आफू
तिमीमा नै विलीन हुन आएकी छु
तिम्रो मनको भारी मज्जाले बिसाऊ
अहिलेको कृत्रिम सेरोफेरोमा पनि
आफूलाई निश्चल राख्ने तिम्रो
बहादुर प्रयासको कुरा सुनाऊ
हरेक ऋतुको परिवर्तनसँगका
तिम्रो संघर्षको गाथा सुनाऊ
निरन्तर भइरहने प्राकृतिक परिवर्तनप्रतिको
तिम्रो समर्पणको कथा सुनाऊ
तिमीप्रति बारम्बार भइरहने
आक्रमणविरूद्ध तिम्रो
सहनशीलताको दास्तान सुनाऊ
धेरैपछि तिम्रो सामु उपस्थित भएकी छु
तिमीसँगको भलाकुसारीमा आफू
तिमीमा नै विलीन हुन आएकी छु।