जुनेली रातको त्यो सिमसिम पानी
हल्का चिसो चिसो
सिर्सिर बतास
घरको एकान्त छतमा बसेर
कफीको चुस्की लिँदै
तिमीसँगको हरेक पललाई
सुन्दर मालामा उन्ने प्रयासमा
कति खेर हो कुन्नी
थाहै नपाई
यी जोडी नयन मिलेर
मोतिमाला चुडिएझैं
आँसुको वर्षा वर्षाएछन्
झस्किँदै
चोर औँलाले पुछेर
बुढी औँलाको सहारमा
अँध्यारोतिर हुत्यादिएँ
फेरि नफर्कने गरी
र
सम्हालिने प्रयास गरेँ
थाहा पाएँ
त्यो बेलासम्ममा
म त पूरै भिजेको रहेछु
त्यो सिरोटोले सुकाउने
प्रयास पनि नगरेको होइन
तर
त्यो जुनेली रातमा
त्यो सुन्दर रुप सहितको
तिम्रो यादले
अझै धेरै भिज्न बाध्य बनायो!
होला
सजाएँ पिरतीमा तिमीलाई
लजाएँ भावनाका काउकुतीभित्र
अनि
तिमीले ओगटेका ठाउँ खाली गर्न नसकेर
यताउता पोख्न पनि नसकेर!
तर
रोजाइमा भर पर्ने रहेछ जीवन
इतिहास पल्टाएर बस्ने कि
नयाँ इतिहास कोर्ने?
अचानक पाइला अघि बढे
पहिला म जति कमजोर थिएँ
ठिक विपरीत
अहिले म कठोर भएको छु
सुनेर
अचम्म मान्नु पर्दैन
चिन्ता लिनु पर्दैन
नदेखिएका दागहरूको कुनै प्रमाण हुँदैन
त्यसैले
औँसीको रात भए पनि
आफ्नै संसार रमाइलो हुन्छ
अंगालो होइन
साथ होइन
सकारात्मक सोचमा नै उर्जा हुन्छ
त्यसैले त
जिन्दगी भ्रममा होइन, वास्तविकतामा जिउँदैछु।