यहाँ उड्न आफ्नै पखेटा चाहिन्छ,
अर्काको त उडेको मात्र हेर्ने सकिन्छ।
अरूले माथि उड्दैमा के हुन्छ?
हरेकको यहाँ उड्ने बेग बेग्लै हुन्छ।
शिखरको पानी झैं,
अनेकौं नदी नाला, खोल्चा खोल्ची हुँदै,
कहीँ रोकिँदै,कहीँ ठोकिँदै,
अन्ततः समुद्रमानै बिलिन भईन्छ।
हाम्रा ईच्छा आकांक्षाहरू पनि,
त्यतिकै बढी रहन्छन्,
धरातल छोडी डोरी लम्बाईरहन्छन्
सफल जीवनको,
मापदण्ड र गति,
समय,कालखण्डले फेरिरहन्छ।
हिजोको उचाई,
आज समतल मैदान लाग्न सक्छ।
हिजो जोडेको धन सम्पत्ति छोडी,
भोलि प्रतिष्ठा र पहिचान खोज्नसक्छ।
अनन्त सम्भावनाको यस यात्रामा,
हंश रहँदा, पखेटाले डुलाई रहन्छन्,
नयाँ नयाँ घुम्तीपार गराईरहन्छन्।
जीवन भनेकै गतिशील रहेछ,
अनेकौं लक्ष्य पार गर्नु पर्नेनै रहेछ,
अर्काको पखेटाले हैन,
आफ्नै भोगाई र सिखाईको पखेटाले,
उड्नु पनि आफैं रहेछ।