मानिस
दिउन्जेल मात्र आफ्नो हुन्छ
दिन छोडेपछि
ऊ त अर्कैको हुन्छ
परेपछि ऊ
चाहिएपछि ऊ
धाउँछ, चाप्लुसी गर्छ, पाउ छुन्छ
फुर्काउँछ, तारिफ गर्छ, गाली सुन्छ
दु:खको समस्या फलाकेर रून्छ
होला त नि भनेर दियो
दिउन्जेल आफ्नो हुन्छ
दिन छोडेपछि ऊ अर्कैको हुन्छ
याने जसले उसलाई दिन थाल्छ
ऊ त उसैको हुन्छ
मानिस
केही होउन्जेल मात्र आफ्नो हुन्छ
ओहोदामा हुन छोडेपछि
अर्कैको हुन्छ
नमस्कार गरिदिन्छ
हजुर, बक्सिस भनिदिन्छ
ख्वाउन्जेल, पियाउन्जेल
काम पूरा गरिदिउन्जेल
आफूसँग फाइदा लुटुन्जेल
आफ्नै मान्छे हो भनि ठान्यो
ओहोदाबाट खुस्केकै दिन
बिर्सिदिन्छ लगाएको सबै गुण
नजिक पर्दैन पूरै छोडिदिन्छ
याने जो ओहोदामा हुन्छ
ऊ त उसैको हुन्छ
त्यसैले पाउन्जेल, भेटुन्जेल
ज्यू-ज्यू गर्छ
हजुर-हजुर गर्छ
ऊ आफ्नो हुन्छ
पाउन, भेट्न छोडेपछि
ऊ त अर्कैको हुन्छ।