तँ, तिमी र तपाईंभन्दा
म निकै फरक छु
मलाई देखाउनु छैन
क्याफेमा बसेर
एक कप कफी पिएको
प्रत्येक शनिबार विभिन्न पार्कमा घुम्न गएको
मन्दिर दर्शन गर्न गएको
कुनै शपिङ मलमा गएको
हो, मलाई देखाउनु छैन
भ्रमको जिन्दगी
यथार्थभन्दा बाहिरको जिन्दगी
मलाई देखाउनु छ
मेरो गाउँ
मेरो गाउँको झुपडी घरहरू
मेरो गाउँको चौतारीहरू
जहाँ वर-पिपलको जोडी मुस्कुराई रहन्छ।
देखाउनु छ खहरे खोला, झरना पनि
खेतबारी, वनपाखा
फलेका कोदो बारी देखाउनु छ
तोरी फुलेर सुन्दर देखिएको पाखो देखाउनु छ
पाकेर पहेँलो भएको धान अनि फाँट देखाउनु छ
अझ देखाउनु छ मेरो गाउँको समस्याहरू
मेरो गाउँमा विद्यालय छैन
सिटामोल पाइने स्वास्थ्य चौकी छैन
पानी लिन जानुपर्छ घण्टौँ हिँडेर
नजिकै पानीको धारा छैन
मेरो गाउँमा गतिलो सडक छैन
छैन बत्तीको व्यवस्था
छैन शिक्षा सँगसँगै चेत छैन
भन्नु छ सबैलाई
देखाउनु छ सबैलाई
सुनाउनु छ सम्बन्धित निकायमा
अनि
गाउँमा परिवर्तन ल्याउनु छ
गाउँको दिनचर्या फेर्नु छ
र ल्याउनु छ समाजमा चेत
जगाउनु छ सहयोगको भावना
साथको हात बढाउन प्रेरित गर्नु छ
मैले देखेको सपना हर हालतमा पूरा गर्नु छ।