बिहान सखारै उडेर चराहरू
उडानको तीव्र गति बढाउँछन्
पहाडबाट झरेर नदीहरू
यात्राको हजारौं किलो मिटर तय गर्छन्
बादलबाट निस्किएर कलिलो घाम
यो धर्तीको कुना-कुना उज्यालो छर्छ
झुसिल किराहरू राता रात पुतली बनेर
फूलबारी श्रृंगार्छन्
खेत किनारको बासको तामा
दिनमा एक इन्च रातमा दुई इन्च बढ्दै
आकाश चुम्न तन्किन्छ
बगरमा पनि
हरियै छन् काश र सिरुहरू
मेरा हातहरू हत्कडी लगाइएका छैनन्
मेरा गोडाहरूमा नेल छैनन्
मैले अक्षरहरूको जङ्हारमा
अड्कनु परेको छैन
यद्यपि अचम्म लाग्छ मलाई
म कहीँ पुगेको छैन
तर मैले ओढेको छैन
दया र सहानुभूतिको छाता
आफूलाई उभ्याएको छैन
सबल सोच र सत्कर्मको विरुद्ध
बरु अझ बलियो भएको छु
लिएर विनम्रता र सहअस्तित्व
धड्केको छु छातीको देब्रे कुनामा
लिएर आमा, बाबा तथा प्रियजनको चित्र
र त आफ्नै मनबाट
म आफ्नै घरसम्म पुगेको छु यतिखेर!