कतै दूर देशबाट उड्दै उड्दै
आएको हुनुपर्छ
एउटा सुन्दर पानीहाँस
उनको मनको सुन्दर तलाउमा।
एक निमेष वर्तमान
र प्रेमका रसमा निथ्रुक भिजाइएका
ती गहिरो तालले
कतै खिचेको हुनुपर्छ
हत्केलामा उसैको नामको प्रेमको रेखा।
कहाँ थाहा थियो र
आफैले खेलेको झरनामा
आफ्नो अधिकार नभएकालाई छाडेर
उसका पखेटाले फेरि
एकदिन त्यसैगरी उडान भर्नेछ
उसको आफ्नै भूगोलमा।
सोध्नु छ उनलाई यतिखेर
देश भएर पनि देश नभएका स्त्रीहरू
अनि आफ्नै पाठेघरको थैलेामा
आफ्नो अधिकार नभएका आइमाईहरू
आफ्नै शरीरमा
देशको लागि खतराका संकेत बन्ने
खतरनाक पाठेघर नामक
एम्बुस बोकेर किन हिँडिरहेछन्?
यतिखेर उनी वर्णन गर्दैछिन्
न्यायालयको कठघरामा उभिएर
उनका प्रेमका बगैँचाबाट उडेका
ती भमरोका रुप, रङ, आकार
र खोज्दैछिन् उनको गर्भाशयको
फूलदानीमा हुर्किएका
ती बिरुवाका देश।
हो, तिनै अभागी आइमाईका
पाठेघरले जन्माइदिएका
भाग्यमानी पुरूषलाई सिंहासनमा बसालेर
अश्रुका धारा बगाउँदै
ती अभागी नारीहरू
आज दिँदैछन् बयान अदालतमा
आफ्नै पाठेघरलाई साक्षी राखेर।