बाको आवाज निस्किएको थिएन। कोठामा अन्धकार छाइरहेको थियो। मेरो सामुन्ने आमा हुनुहुन्थ्यो। आमाको अनुहार त उज्यालै देखिन्थ्यो तर भित्र उनको मन रोइरहेको थियो।
बाले इसारा गरेर बोलाउनुभयो। बोलाएपछि बाको नजिक गएँ। बाले आफ्नो गुदद्वारतिर हात लानुभयो। मैले हत्तपत्त टपरी थापेँ। कोठा पूरै गनायो।
बाको आँखामा आँसु टिलपिलाए। रूमालले आँसु पुछिदिएँ। आमा भान्छामा जानुभयो। पुरानो पिर्कामा टुसुक्क बस्नुभयो। पिर्कामा बस्ने बेलामा उहाँको आँखा रसाएको थियो।
धोतीको मुजेत्रोले आँसु पुछ्दै आफूलाई समाल्न कसरत गर्दै हुनुहुन्थ्यो। लथालिंग भान्छामा आमाका आँखाका नानी घुम्दै थिए। खिया लागेको हँसियामा त कहिले टुटेफुटेका भाँडाहरूमा।
ती भाँडाहरू देख्दा मलाई जिस्काएको जस्तो अनुभूति हुन्थ्यो। किनकि प्रत्येक भाँडामा आमाका सपना गाँसिएको थियो। एक छाक भए पनि राम्रोसँग टरोस्। आमाले भाँडाकुँडा सबै हेर्दै थिइन् तर अलिकति पिठोबाहेक केही देखिनन्।
त्यतिकैमा सन्तोकी भई पिठो थालमा राख्नुभयो। आमाको नजिकै गएर भनें, ‘आमा म काममा निस्किएँ। बाको ख्याल राख्नू है।’
आमाले मायालु भावमा भन्नुभयो, ‘बाबु खाएर जा न।’
मलाई पिठोबाट चार पाँच वटाबाहेक रोटी बन्दैन भनेर थाहा थियो। त्यसैले काममा नै खाउँला भनी निस्किएँ।
आमाले मायालु भावमा आखाँमा हेर्नुभयो र म घरबाट निस्किएँ।
वर्षातको समय बिहानै अँध्यारोजस्तो देखिन्थ्यो। आकाश गर्जिंदै थियो। पानीका बुद्हरू मेरो शरीरमा पर्दै थिए। मेरो कुनै ठूलो सपना थिएन। सायद सपना देख्न सक्ने अवस्थामा पुगेको थिइनँ। प्रयासहरू नगरेको पनि होइन, समय परिस्थितिले साथ दिएन। मनमा कुरा खेलाउँदै नदी किनारमा पुगिसकेको थिएँ।
नदीको पानी धमिलिएको थियो। आज काम होला नहोला भन्ने मनमा चिन्ता थियो। वर्षातमा काम पनि कमै त हुन्छ।
आज नदी किनारा सुनसान थियो। बर्खा भएर पनि होला। हिउँदमा भीडभाड भएपनि बर्खामा यस्तो अवस्था हरेक वर्ष नै आउँछ।
म नदी किनारामा ढुंगा जम्मा गर्दै थिएँ। पानी बगिरहेको थियो। त्यही ढुंगामाथि बसिरहेको थिएँ। पानीले भिझ्दा जाडो भइरहेको थियो। तर मलाई त साँझको जोहो कसरी गर्ने भन्ने थियो। बादल र वर्षाले दिन अँध्यारो भयो। म पुलमुनि छहारी खोज्न पुगेँ।
कोही आए भने आजको खर्च टार्न सक्ने ढुंगा जम्मा भइसकेको थियो।
वर्षातले धमिलो भएको नदी, मैले थुपारेको ढुंगालाई छालले हान्दै बगिरहेको थियो। लामो समयदेखि मेरो भोक टार्ने नदीलाई गाली पनि गर्न सकिनँ। नदीमा साना ठूला काठका मुढाहरू बग्दै थिए। लास पोलेर बाँचेका हुन् अथवा नदीको वितन्डाले? गाँउबेँसी बगाएको थियो। त्यसैले लुगाफाटा पनि बग्दै आइरहेका थिए। धमिलो पानीले भेलसहितको बाढी आइरहेको थियो।
मैले धमिलो मात्र देख्थेँ। नदीलाई हेर्दा आज म निराश हुनुपर्ने लगभग पक्कापक्की नै थियो। अब मलाई चिसोले सताउन थालेको थियो। टाउको रन्किन थालेको थियो। यत्तिकै फर्किंदा आमाबाको आश टुट्थ्यो।
जीवनलाई नदीसँग तुलना गर्न सकिनँ। तर बग्दै आएका ढुंगामुढासँग त पक्कै पनि मेरो जीवन मेल खान्छ होला। ढुंगामुढालाई नदीले उद्देश्यविहीन बनाएर लछारपछार पारेको छ। के म पनि त्यो ढुंगा भएको छु? पहिला नदीले पछारेर अनि मानवले फोडिदिने?
म पनि फोडिएको छु। समाजबाट, परिस्थितिबाट। सोचेँ म पनि यही ढुंगा जस्तै नदीसँग बग्न जाऊँ। दैनिक पीडा र वेदनाभन्दा एकैछिनको कष्ट नै ठिक होला भनी सोचेँ। नदीले कसैलाई रोकटोक त गर्दैन। आखिरमा हामी आउने पनि त यहीँ नै हो।
सोच्दा सोच्दै झल्यास्स बाआमाको अनुहार सम्झिएँ। छोरा कतिबेला आउँछ भनी कुर्दै हुनुहुन्छ होला। यदि म मरेँ भने ‘नामर्द हुनेछु। कायर हुनेछु। हुतिहारा हुनेछु।’
मान्छे समस्यामा पर्दा सहयोग गर्न आउँदैन, टेर्दैन तर मरेपछि दोष लगाउन पछि पर्दैन। कस्तो विचित्रको समाज।
दिन ढलिसक्यो। सुनसान छ। नदीमा पारी पिलपिल आगो बल्दै छ। मानिसहरूको हुलले चिता जलेको देख्छ। चिताबाट निस्केको धुवाँको मुस्लो आकाशतिर मडारिँदै छ।
अझैपनि घर फर्किन सकेको छैन। कसरी फर्कूं? बोल्न नसक्ने बाको मुख के खुवाएर भरूँ? कति बेला सामान पकाउन सामान ल्याउँछ भनी कुरिरहेकी आमालाई के भनूँ? मन डराइरहेको थियो।
पुलमुनि साँझ परेपछि मसानको बास हुन्छ भन्थे, कीरा-कीरीको आवाज गुन्जिरहेको थियो। मसानको भन्दा पनि भोकको डरले सताइरहेको थियो। साँझ झमक्क पर्दै गर्दा परबाट उज्यालो देखेँ। मनमा आशा पलायो। आउँदै गरेको ट्र्याक्टर म नजिक आएर रोकिएर भन्यो, ‘दाइ ढुंगा छ?’
मैले ढुंगाको थुप्रो देखाएँ। मैले मूल्य तोकिनँ। मलाई बाआमाको पेट मात्र भर्नु थियो। त्यति भए आजलाई पुग्थ्यो।
‘दाइ छिटो गर्नुन। बर्खामा नदीबाट ढुंगा लगेको देख्यो भने हामीलाई समाउँछ।’
हतार, हतार ढुंगा ट्र्याक्टरमा राखेँ। उसले बदलामा केही पैसा हातमा थमाइदियो। मेरो हर्षको कुनै सिमाना रहेन।
ऊ आफ्नो बाटो लाग्यो। म आफ्नो।
घर जाँदा नजिकैको दोकानमा पसेँ। रात छिप्पिँदै थियो। छिट्छिटो समान लिएर गएँ। बाको लागि जुस पनि लिएँ।
घर पुग्दा आमा रूँदै बस्नु भएको थियो। आँगनको छेउमा बालाई राखिएको थियो। मेरो हातको थैलो भुइँमा खस्यो। जुस आँगनमा पोखियो। बालाई अगाँलो मारेँ। एक चम्चा पानी खुवाएँ। घुटुक्क निलेर मलाई हेर्नुभयो, मुसुक्क हाँस्नु भयो।
खुट्टा तिनिक्क तानिए। मुख खुला नै थियो। शरीर चिसो भयो। सबैले ‘राम नाम सत्य हो’ भन्न थाले। मेरा आँखा बर्सिए। आमा पल्टनुभयो। सबैले बालाई नदीतिर लाने तयारी गर्न थालेँ। म बाको खुट्टा समाएर रूँन थालेँ। एकैछिनमा बाको शव बोकेर पुनःमसानघाटतिर हिँडें।
मसानघाट नै मेरो कर्म र मृत्यु थलो रहेछ। आकाशमा डम्म बादल थियो। मेरो काँधमा बाको शव।