प्रिय श्रीमान ज्यू!
किशोरावस्थादेखि उत्पन्न भएको प्रेमपत्र लेख्ने रहर पूरा गर्ने मौका यतिबेला जीवनको मध्य भागतिर आइपुग्दा बल्ल जुर्यो। त्यो उमेरको चञ्चलता, रोमाञ्चकता अहिलेको भन्दा केही फरक र अझै मिठो हुन्थ्यो होला। तर हाम्रो भेट नै मोबाइल र इन्टरनेटको मानव जीवनमा जबरदस्त उपस्थिति हुने बेलामा भयो। जुनसुकै उमेरमा पनि एउटा स्त्री सुलभ स्वभाव आफ्नो नजिकको मान्छेसँग मनमनै वार्तालाप गरिरहिन्छ।
यो साउनको महिना मजस्ता धेरै महिलाहरूको हातमा मेहेन्दीको बुट्टा, त्यहाँभित्र लुकेको आफ्नो श्रीमान् या प्रेमीको नामको पहिलो अक्षर, हातभरि हरिया चुरा र सकेसम्म त्यससँग मिल्ने हरिया रङका शृंगार वस्तुहरू...। शिवालयमा दर्शन गर्ने महिलाहरूको घुइँचो, सोमबार व्रतको तयारी शाकाहारी भोजन इत्यादि। तर मलाई प्रायः देख्नुहुन्छ टिसर्ट, पाइन्ट, जुत्ता र पछाडि भिर्ने ल्यापटप झोलामा।
एउटा हिन्दु ब्राह्मण परिवारमा हुर्केको हुनाले महिलाको चुरा, पोते, सिन्दुरहरू वैवाहिक जीवनको अनुशासन र श्रीमानप्रति समपर्णको चिन्हको रुपमा तपाईंले पनि लिनुहुन्छ। म स्पष्ट अनुभव गर्न सक्छु जब मैले रातो सारी, चुरा, पोते, लपक्क मेकअप लगाउँदा तपाईंको आँखामा देखिने खुसी र अन्य दिनका भावशूल्य हेराइहरू।
प्रिय श्रीमान ज्यू, तपाईंलाई लाग्दो हो विवाहका चिन्हहरू मैले प्रदान गरेका उपहार हुन्। यी जसरी पनि मेरो दिनचर्यामा अटाउन पर्ने हो। जसरी एउटा दृढ अनुशासनमा बस्ने सैनिकले आफ्नो कर्मक्षेत्रमा बर्दी लगाउन अनिवार्य मान्छ त्यस्तै एउटा पतिधर्ममा दृढ भएकी महिलालाई जीवनमा यो कसरी छुट्न सक्छ र? रिसानी माफ होस् श्रीमान ज्यू, तपाईं विवाहित भएपछि तपाईंको पहिरन र श्रृंगारमा मात्र होइन तपाईंको स्वतन्त्र जीवनशैली, बन्देजमुक्त कार्यशैली केहीमा पनि परिवर्तन भएको छैन। प्रेममा प्रतिस्पर्धा हुँदैन तर जीवनसाथी हो, साथीसँग केही न केही तुलना गर्न पुग्छु।
मलाई सिन्दुरजस्तै तपाईंलाई केही चिन्ह लगाइदिएर डामेर छोडेको पशुजस्तो बनाउनु छैन। तपाईंका निधार मेरो लागि त्यसै सुन्दर छन्। चुरा पोतेले अल्झाएर तपाईंको काममा बाधा पार्नु छैन। तपाईंका पहिरनका रङ र दंगमा परिवर्तन ल्याएर तपाईं मेरो मात्र हो भनेर दुनियाँलाई हरक्षण चिनाइरहनु छैन, किनकी त्यसरी तपाईंलाई सबैको सामु प्रस्तुत गर्नु असुरक्षा भावको चिन्ह हो। मलाई थाहा छ मेरो मायाको जग त्यति कमजोर छैन।
प्रिय श्रीमान ज्यू, तपाईं जे-जस्तो आकर्षक हुनुहुन्थ्यो र हुनु हुन्छ। मेरो लागि सबैभन्दा आकर्षक हुनुहुन्छ किनकी परिवारको जिम्मेवारीले चिन्ताले फुलेका कपाल ती मेरो लागि झन् सुन्दर छन्। ती अनुहारका रेखाहरू, चश्मा लगाएका आँखाहरू कत्ति पनि कम छैनन् मेरा लागि। त्यसैले कृपया तपाईंले पनि मेरो तिलचामले कपाललाई माया गरिदिनु होला। मेरो कालोपोतोका दागहरू, निधारका धर्साहरू तपाईंसँग लामो साथ बिताएका प्रमाण हुन्।
पेटका धर्साहरू, 'डिस्फिगर्ड' शरीर तपाईंलाई पिता बनाउँदा बनेका हुन्। बढ्दो कम्मरको नाप र घट्दो आकर्षणको ताप, सायद मेरो लागि अन्याय होला। मेरा औंलाका टुप्पामा देखिने बेसारका नङपालिस, भान्सामा तपाईंको स्वादका निम्ति बनेका हुन्। हातमा मेहेन्दीको बुट्टा बनाउने रहर सायद अर्को साल पनि आउला नआउला तर जति नै दाग बनाए पनि तपाईंलाई पकाएर खुवाउने रहर चाहिँ कम हुँदैन।
संसारका समस्त श्रीमान ज्यूहरू,
गर्वास्थाको कठिनाइ भोगेका छौं। प्रसवको पीडा सहेका छौं। कयौं रात अनिदो बसेर बच्चाको परवरिस गरेका छौं। जाबो थेड्रिङ र वाक्सिङको पीडा पनि हाम्रै भागमा नपारिदिनुस्। तपाईंहरूको आँखाको शीतलताको निम्ति कति लिपिस्टिकको लिड खानासँग निल्नु? गाजल, मस्कारा, आइलाइनर र स्याडोले आँखै ढाकिसक्यो। फेयरक्रिम र कपाल स्ट्रेटले त पर्स रित्याइसक्यो।
प्रिय श्रीमान ज्यू,
यति कुरा म तपाईंको श्रीमती, गृहिणी, प्रेमिका छोराछोरीको आमा नभइकन लेखेको भए मलाई धर्म परिवर्तन गरेको, डलर बोलेको, आफ्नो संस्कार भुलेर पाश्चात्य रहनसहनको पछि लागेको आरोप आउथ्यो होला तर म साधारण गृहिणी। तपाईंलाई त थाहा छ मेरो अस्तव्यस्त जीवन, व्यावहारिकताको बोझले गतिभन्दा ढिलो हिँडिरहेका पाइलाहरू।
तपाईंलाई याद छ, मेरो पेटमा बच्चा छँदा छोरी जन्मे के गर्ने भन्ने योजनामा तपाईंलाई राम्रो फ्रक र कपालमा क्लिप लगाइदिने रहर थियो र मलाई चाहिँ मार्सल आर्टमा पठाउने। सायद छोरीहरूको निम्ति मैले भोगेको दुनियाँ कठोर र निर्मम थियो। तपाईंले देखेको सुन्दर, सहज।
जतिसुकै सांस्कृतिक रुपान्तरणका कुरा गरे पनि उपभोक्तावादी संस्कृतिको प्रभावबाट पूर्ण रुपमा मुक्त हुन सकेका छैनन्। कम्तीमा अबका छोरीहरूको व्यक्तित्व र आत्मविश्वास यति सुन्दर होस् कि कुनै विकृत कुन्ठित मनोवृत्तिले एसिड छ्यापेर कुरुप बनाउँछु भन्ने दुस्साहस नगरोस्।