एउटा आँखा खोल्दा
विकास बाहेक केही देख्दैनौ
अनि अर्को आँखा खोल्छौ
विनाश बाहेक केही देख्दैनौ
एउटा आँखाले भ्रष्टाचार देखिरहँदा
अर्को आँखाले सदाचार देख्छौ
एउटा आँखाले हत्या-आतंक देख्छौ
अनि अर्को आँखाले शान्ति-सुरक्षा देख्छौ
एउटा आँखाले राष्ट्रवाद देखिरहँदा
अर्को आँखाले राष्ट्रघात देख्छौ
सामान्य समयको अन्तरालमा
सत्यलाई असत्य देख्छौ
अनि असत्यलाई सत्य देख्छौ
एकपटक ती दुवै आँखालाई
राम्रोसँग धोएर त हेर
भएका फोहर कसिंगर फालेर त हेर
किनकि तिम्रा ती दोषी आँखाले
सत्यलाई देख्दैनन्, मात्र समयलाई देख्छन्
विश्वासलाई देख्दैनन्, मात्र भ्रमलाई देख्छन्
जनमतलाई देख्दैनन्, मात्र जनतालाई देख्छन्
हिजो जनताका वरपर दौडने ती तिम्रा आँखा
अहिले मात्रै कुर्सीको वरपर घुमिरहन्छन्
हिजो कुर्सिकै वरपर मात्र घुमिरहने ती आँखा
फेरि अहिले जनतालाई खोजेर दौडिरहन्छन्
सत्यलाई सत्य नै देख्न चाहन्छौ भने
तिमीभित्र अन्तरनिहित सत्यरुपी
तेश्रो आँखा अब खोल्नैपर्छ
हिजो पनि छोपिरहेकै थियौ
अहिले पनि अझै छोपिएकै छौ
यो देशको चिन्ता गर्ने
चाहे त्यो जोसुकै किन नहोस्
अब दुई आँखाबाट देखिने फरक दृश्य चाहिएन
अब तिमीले तेश्रो आँखा खोल्नुपर्छ
सत्य, तथ्य र यथार्थ बोल्नुपर्छ
आस्था, सिद्धान्त र वादका भाषण पुगिसक्यो
अब जनताको चाहना, आवश्यकता पूरा गर्नुपर्छ
निहित स्वार्थ र लोभ-लालच होइन
अब तिमीले तीन करोड जनताको भावना बुझ्नुपर्छ
बन्द गर अब सिंहदरबारका क्यामराजस्तै तिम्रा दोषी आँखाहरू
अब तेश्रो आँखा खोल्नुपर्छ।