हो म पवित्र छु, थिएँ र हुनेछु
हो, म विष्णुमती हो
हो, म बागमती हो
थाहा छैन
ममा कि तिम्रा आधुनिक मस्तिष्कका नसामा ढल बग्छन्
सायद तिम्रा हात संवेदनाहीन फलामका तार हुन्
फोहोरमाथि फोहोर ममाथि किन फ्याँक्छन्
र त नाक थुनेर दुर्गन्ध छेक्छन्
भो कथित सल्लाह नदिनु मलाई
दूधकोशी र भोटेकोशी हुनुपर्छ भनेर
मलाई म हुनुमा नै गर्व छ।
सायद सहरको मध्य भागमा
मेरो निर्दोषपन तिम्रा वलिष्ठता होलान्
तिमीहरू नचिन्नु मेरो गल्ती होला
थाहा छैन, मेरा गल्ती होलान्
इतिहास पल्टाएर तिमीहरू नै पिता पुर्खालाई सोध्नु
अवशेषहरू पढ्नु
तर मेरा निम्ति म पवित्र छु, स्नीग्ध छु
निरन्तर बगिरहन्छु।
कहिलेकाहीँ दिक्क लागेर हिमालतिर शीतल ताप्न जान्छु
त्यहाँ पनि तिम्रा अछन्याइला डोबहरू छाडिन्छन्
उही उराठलाग्दो फोहोरकै थुप्रोमा
सलक्क खादा पहिरिनेहरू सायद
तिमीहरू पक्कै महान् छौ होला, जान्दिनँ अल्पज्ञानी छु
तर किन ममाथि फोहोर नै बर्सिन्छ
पर्खिन्छु सायद म मभित्रै सङ्लिन्छ
म सङ्लिएको हिमनदीमा तिमीहरूले आफ्नो ऐना हेर्नू
सायद आफ्नै राक्षसी रुपसँग झस्कने छौ, तर्सने छौ
कहिलेकाहीँ थाकेर लमतन्न सडक बनेर सुतिरहन्छु
तिमीहरू ममाथि रबरका पाङग्राहरू घुमाइरहन्छौ
दौडिरहन्छौ
कोलो धुवाँ फालेर कालो सिसाले ढाकिन्छौ
उन्मत्त वेगमा हुँइकिन्छौ।
कहीँ उन्मुक्ति छैन, शान्ति छैन
म अपमानित मान्छे, मलाई केही छैन।
आजकल मलाई तिम्रा शक्ति र महानता डाइनोसर लाग्न थालेको छ
पटक्कै नसुध्रिने
उष्ण होस या शीतोष्ण
अतिवृष्टि होस या अनावृष्टि
पटक्कै नबदलिने
उस्तै बोतल, उस्तै नाच, उस्तै स्क्रीन
तिमीहरू फगत अतृप्त आवृतिहरू
आफैलाई निचोरेर बिलाउने त छैनौ
कता-कता दया लागेर आउँछ
किनकि
अपमानित, महत्वहीन भए पनि
म मानिस त हुँ नि
त्यसैले माया लागेर आउँछ।