म श्रापित भूमि हूँ एक समयको
त्यो ज्यानमारा औलोले
यसरी बदनाम गरायो कि
मानिसहरू त्राहि-त्राहि हुन्थे मेरा नामसँग
डराउँथे, भाग्थे
मानौं म यो देशको मृत्यु प्रदेश हुँ।
दुख्थेँ भित्र-भित्र म
फाट्थ्यो चित्त चिरा-चिरा परेर
अवहेलनामा रमाउन को सक्छ र!
विज्ञानको नजर अलिकति नपरेको भए
चेतनाको झुल्को अलिकति नझरेको भए
म अझै बदनामी बोकिरहेकी हुने थिएँ
हराइरहेकी हुने थिएँ चारकोसे झाडी किनारमा
जब आविष्कार भयो खोपको
विजय हासिल भयो वैरी औलोमाथि
बल्ल मैले मुक्तिको सास फेरेँ
मानिसहरू नजिक आए र
मेरो भरोसामा रमाउन थाले
मैले मेरो मन ओछ्याएर स्वागत गरेँ
मैले मेरो हृदय उघारेर ठाउँ दिएँ।
मेरो धरातलको आयाम फेरिएको छ अचेल
मेरो कीर्तिको उचाइ अग्लिएको छ
बदनाम मेरो नामलाई
सुनामले प्रतिस्थापन गरेको छ
काला बादल उठिरहने मेरो क्षितिजमा
झलमल्ल घाम लागेको छ
म प्रकृतिप्रेमी
मेरो सफा सडकमा लामबद्ध छन् बोटबिरुवा
कतै अशोक वृक्षसँग हरियो मुस्कुराउँछु
कतै थरीथरी फूलसँग सुगन्ध मगमगाउँछु
म सचेत छु इतिहासप्रति
समाज अनि समाजको आस्थाप्रति अडिग छु
पूर्वको माथि अग्लो गढीमा
सम्झना जीवित राखेकी छु राष्ट्र निर्माताको
आस्थाकी देवी चुरियामाईलाई दक्षिण गौँडामा पुजेकी छु
भुटनदेवीलाई यो छातीको बीचमा प्रतिष्ठापित गरेर
एउटा डाँडो मनकामना
अर्को डाँडो पाथिभराको जिम्मा छोडी
म सजग छु हरपल मेरो कर्ममा
मेरो हृदयमा विराजमान
आराध्यदेव पशुपतिको
निरन्तर आशीर्वाद छ मलाई।
पूर्ण हुन खोजिरहेकी म
कतै भत्किन्छु कि भन्ने डर छ
कतै खस्किन्छु कि भन्ने पीर छ
मलाई थोरै गुनासो छ
यी फैलिँदै गएका घरहरूसँग
साँघुरिँदै गएका सडकहरूसँग
बरालिँदै गएका युवा पुस्तासँग
कतै यिनले कुरुप पारिदिने हुन् कि बस्ती
मासिदिने हुन् कि हरियाली मेरो
दाग लगाइदिने हुन् कि इज्जतमा कालो
म निरन्तर खबरदारीमा छु।
महोदय,
तपाईं जहाँबाट आउनुभएको छ
जुन प्रयोजनले आउनुभएको छ
निर्धक्क लडीबुडी गर्नुहोस् मेरो काखमा
मस्त निदाउनुहोस् मेरो छातीमा
भोलि सबेरै त्रिवेणीमा स्नान गरेर
राप्तीको जलले अभिषेक गरेपछि
देवीदेवताको दर्शन गरौँला
श्रद्धान्जली चढाउँला वीर शहीदहरूप्रति
शहीद स्मारकमा
गुम्बाडाँडामा बुद्धका अधृमुदित नयनसँग
एकाकार भएपछि
हामी हाम्रा प्रयोजन समाउँला
छलफल चलाउँला, बहस गरौँला
बिदाइमा
चिनो दिएर एक थान मुस्कान
यो पटकलाई यस्तै भयो भनौँला
गाह्रो साँघुरोमा माफी मागौँला
र अनुरोध गरौँला
कृपया
पुगेपछि गन्तव्यमा
मारेपछि थकाइ
लेखी पठाउन नभुल्नु होला
नभए कसैलाई भनी पठाउन नभुल्नु होला
यो हेटौँडा, तपाईँलाई कस्तो लाग्यो?