उचाइको यो यात्रा, मेरो जीवनमा पहिलो भने होइन। दोस्रो वा तेस्रो पनि होइन। यसअघि नागार्जुनको डाँडाबाट आफू रहेकै उचाइको हाराहारीबाट जहाज उडिरहेको देखेको थिएँ। फिल्महरू हेर्दै रहँदा पनि कल्पनामा उचाइको यात्रा गरेको थिएँ, साथै धेरै पटक हवाईजहाज चढेर सोह्र हजार पाँच सय फिटको हाराहारीमा कैयौं मिनेट उडेको थिएँ। तर ती सबैभन्दा यो करिब ४५ मिनेट लामो उचाइको यात्रा भिन्न रह्यो।
जहाजले भुइँ छोडेसँगै जमिन देख्ने/हेर्ने आँखाको दृश्य फराकिलो हुँदै गयो। जुन कुराहरू हेर्नका लागि ड्रोनको सहायता लिनुपर्थ्यो ती कुराहरूका लागि अब आँखा नै सक्षम हुँदै थिए, उचाइमा पुगेपछि। जमिनमा रहँदा आकाश भिन्न लाग्थ्यो भने आकाशमा रहँदा जमिन भिन्न लाग्ने रहेछ।
उचाइ बढेर आँखाको दृश्य परिधि बढेसँगै भूगोल र त्यहाँका संरचनाहरू साना हुँदै गए। जमिनमा हुँदा करिब ५०० मिटर परसम्म पनि नियाल्न नसकेका आँखाहरूमा अब दसौं किलोमिटरलाई एकै पटक नियाल्न सक्ने क्षमता आयो।
आँखाको हेराइ फराकिलो भएसँगै बादललाई नियालिरहँदा मनमा विचित्रका विचारहरू आउन थाले।
बादलहरूको दौड कता पुग्नलाई होला? बादलका झुण्डहरूको पनि भिन्न पहिचान हुन्छ होला कि हाम्रो समाजमा नागरिकताको प्रावधान भएजस्तै? मानवको जस्तो बादलको बुबा-आमा अनि उनीहरूकै समाज हुन्छ कि हुन्न होला? यदि हुन्छ भने बादलको समाजप्रति के-कस्तो उत्तरदायित्व हुन्छ होला?
बादलको पनि देश हुन्छ सायद अनि सिमाना पनि! आकाशरुपी राज्यका जनता यिनै बादल होलान्। कानुन हुन्छ कि हुँदैन होला? मानव समाजमा जस्तै यिनीहरूबीच झगडा, युद्ध हुन्छ कि हुन्न होला? ती साना बादलका झुण्डहरू सायद हुम्ला, जुम्ला वा डोटीलाई प्रतिनिधित्व गर्छन् होला!
जहाज खसेको जस्तो अनुभव हुँदा प्रश्न उब्जाइरहेको मन झस्कँदै तर्क गर्न लाग्यो। जहाज उड्नुको वैज्ञानिक कारण गम्न थाल्यो। यो जहाज आफ्नो बहाबसँगै बादललाई घुमाइरहेको हावालाई धकेल्दै उडिरहेथ्यो। हावाको चापलाई तल धकेल्दै माथि उडिरहेको जहाजबाट भूगोल हेर्दै थिएँ म। सोही हावाको बहाबसँगै चारैतिर फैलिरहेका बादललाई भने यसको कुनै परवाह नै थिएन।
बादलका साना-ठूला झुण्डाहरू स्वतन्त्र भएर यताउता घुमिरहेका थिए, हावाको बहाबसँगै। तिनै बादलका झुण्डहरूको बीचबाट देखिँदै थियो भूगोलमा मानिसले बनाएका संरचनाहरू। जमिनमा मानिस र उसले बनाएका संरचनाहरू प्रमुख छन् भने आकाशको संरचना भनेको नै बादल रहेछ। मेरो बुबा-आमाले एक जीवन बिताएर बनाएको जस्तै घरको संरचना आफ्नै शरीरमा भएको छालाको एक छिद्रजस्तै देख्दै थिएँ म। ती घर हेर्दै आफ्नो हातको छाला हेर्दै सोच्न थालेँ, हेराइमा कति शक्ति अनि कति भ्रम छ।
उचाइबाट हेर्दा जसरी ठूला-ठूला संरचना पनि साना देखिँदै थिए, मनमा लाग्दै थियो- मान्छे पनि पदको उचाइमा पुग्दै गर्दा अरु पदलाई यसरी नै सानो देख्छ होला। किनकि आँखा त तिनै हुन्, यी विशाल पहाडलाई उचाइबाट सानो देख्ने।
सानो बादलको झुण्डले पनि ठूलै लगानीको संरचना छोपिदिएको देख्दा यसरी नै उचाइको पदमा रहनेलाई कोही साना पदकाले बादलको झुण्डले ठूलै संरचना लुकाएजस्तै ठूलै कुरा लुकाउन सक्ने तथ्यबारे विचार उत्पन्न हुँदै थियो। मलाई विस्तारै उचाइदेखि डर लाग्न सुरु भयो। तर जब सूर्यको प्रकाशले जमिनका घरहरूका जस्ताका छानाहरू टल्केर मेरो ध्यान आकर्षण गरे। यसबाट जमिनमा हुँदा पनि प्रकाशको किरण अनि आफ्नो गुण र क्षमताको मेलबाट टल्केको छानाजस्तै आफूले पनि उचाइको पदमा रहेकाको ध्यान तान्न सक्ने रहेछु भन्ने सिकाइ भयो।
म सानो हुँदा भाँडाकुटी खेल्दा आफूले बनाएका झैँ माटाका थुम्काहरूजस्तै ठूला पहाड देखेँ। मैले खेल्ने भाँडाकुटीको त्यो खेलमा म बनाउँथेँ ती माटाका थुम्काहरू। यहाँ कसले बनाएको होला? माटाका थुम्कामा पानी हाल्दा नबिग्रियोस् भनेर माटोको डल्लो बनाएर खेल्ने गर्थेँ। तर यी माटोका थुम्कारुपी पहाडहरूमा बोट बिरुवा लगाइएको छ, सायद वर्षाले माटो नबगाओस् भनेर होला। त्यसो नभएको ठाउँहरूमा पहिरो गएको देखेँ। नदी र पहाडलाई नियालिरहँदा नदीको सहास र शक्ति प्रतिको मेरो सोचमा परिवर्तन भएको पाएँ। नदीले त्यो अग्लो पहाडको उचाइलाई बेसी बनाएको हैन रहेछ, त्यो नदी त बेसीबाट पो बगेको रहेछ।
अब भुइँ झर्ने बेला हुँदै गर्दा विस्तारै मेरो आँखाको हेराइ साँघुरिँदै गयो। अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्तमा 'राम्री केटीको साथ एक घण्टा बिताउँदा एक मिनेटजस्तो लाग्छ' भनेझैं यो उचाइको उडानमा समय बितेको पत्तै पाएनछु। तर मेरी मायालु त तल जमिनमा मेरो प्रतीक्षामा थिइन्। मलाई एक घण्टा कसरी एक मिनेटजस्तो महसुस भयो पत्तै पाइनँ। केही समयपछि म जमिनमा ओर्लिएँ।