भैगो! मलाई ठूलो अफर नआओस्
पद पाएर नाक फुलाउनु छैन मलाई
दुई थरी तरकारीका परिकार देखाएर
गाली खाएर अघाउनु छैन मलाई
म कवि हुनमै ठिक छु
दु:ख सुखका कविता बुन्छु
बरु गरिबका अन्तरआत्मा सुन्छु
महोदय मनन् होस्
मलाई ठूलो अफर नआओस्
बदनाम हुन मलाई
राजनीतिको टिके पद चाहिएको छैन
ठूलै कर्मचारी भए नि
कठपुतली बनिदो रैछ
खासै इज्जत र सम्मान पाइएको छैन
म कथाकार हुनमै ठिक छु
खुसी भए हाँस्छु, चोट परे रुन्छु
दुखेका मन पढ्छु, सके तिनै मन छुन्छु
भैगो मलाई राजनीतिको भूत नचढोस्
भैगो मलाई मेरो क्षमताले नभ्याउने
ठूलो अफर नआओस्
महोदय मनन होस्
मलाई आकर्षक अफर नआओस्!
व्यस्तताको नाममा
अस्तव्यस्त हुनु छैन मलाई
बिना कसुर शक्तिका पेलाइमा
पेलिएर जग हँसाएर
घ्वा-घ्वा रुनु छैन मलाई
छ-छ महिनामा सरुवाको चिठीले
हात धुनु छैन मलाई
श्रृंगारिक गजलकार हुनमै ठिक छु म
जनताको वाही-वाही नपाउने
मन्त्री, प्रधानमन्त्री अनि के राष्ट्रपति
केही बन्नु छैन मलाई
महोदय! जनताको लागि बाँच्ने नभएसम्म
यावत पदहरूबाटै टाढै रहन सकुँ
मलाई बिल्कुल दोधारमा नपारियोस्
लोभको भकारी नजागोस् मेरो
विशुद्ध साहित्यकार भएर
देशले शीर झुकाउने त्यो अवसर नगुमोस्
भैगो मलाई मेरो औकातले नभ्याउने
ठूलो अफर नआओस्!