पाँच वर्ष लामो प्रेम सम्बन्धबाट ब्रेकअप लिएका हाम्रो दाइको लागि आमाबुबा बुहारी खोज्न पुर्ख्यौली घरतिर जानुभयो। पुर्ख्यौली थलोको एउटा स्कूलमा सामाजिक शिक्षा पढाइरहनु भएको शिक्षिका सुनकेशरी पण्डितलाई आमा बुबाले मन पराउनुभयो।
‘हामीले त मन परायौं, अब तेरो पालो। फेसबुकमा केशरी पण्डितले फ्रेण्डरिक्वेस्ट पठाएको होला। स्वीकारेर यसो गफगाफ गर्दै गर,’ बुबाले यसो भन्नुभएपछि दाइले केशरी पण्डितको प्रोफाइलमा गएर सबै फोटोहरु हेर्नुभयो अनि फ्रेण्डरिक्वस्ट एसेप्ट गर्नुभयो। मैले पनि मेरो फेसबुकमा गएर केशसी पण्डितको चियो गरेँ तर फेण्ड रिक्वस्ट चाँहि पठाइनँ।
दाइ र केशरी पण्डितको फेसबुकमा हल्का च्याटिङ र गफगाफ हुन थालिसकेको थियो। केही हप्तामा नै उहाँहरु धनिष्ठ साथी भएको मलाई महसुस हुन थाल्यो।
केही हप्तापछि उताबाट आमाको पनि फोन आयो र भन्नुभयो, ‘केटी पक्षले केटाकेटीको पनि कुरा मिल्यो भने यही असारमा विहे गर्दिनुपर्छ भनेको छ। कुल खान्दान्, कुटुम्ब सबै ठिक छ। हेराउँदा तिमीहरू दुवैको चिना पनि मिलिहाल्यो। एक पटक प्रत्यक्ष केटी हेर्न आइज न त।’
आमाको फोन आएपछि भोलिपल्टै दाइ र म गोरखा लाग्यौं। सुनकेशरी पण्डितलाई भेट्न दाइ आतुर हुनुहुन्थ्यो। दाइको मुहारमा असाध्यै खुशी महसुस गर्न सकिन्थ्यो। लामो समयको प्रेम विछोड हुँदा दाइले हाँस्न छोड्नुभएको थियो। उहाँलाई केही कुरामा पनि रमाइलो लाग्दैनथ्यो। अरू कति केटीहरु देखाउँदा पनि दाइले त्यति वास्ता नै गर्नुभएन तर सुनकेशरी पण्डितलाई भने फेसबुकको फोटो देख्ने वित्तिक्कै चासो देखाउन थाल्नुभयो। निरास निरास रहने दाइ यसरी खुलेर हाँस्न थालेको देखेर मेरो मन पनि एकदमै रमाएको थियो। अनि गाउँमा सुनकेशरी पण्डितलाई प्रत्यक्ष भेट्दैछौ भन्ने कुरामा हामी दुवै दंग थियौं।
बाटोमा दाइलाई सुनकेशरी कि केशरी’ कुन नाम मन पर्यो हजुरलाई? भनेर जिस्काएँ पनि। दाइ केही बोल्नुभएन तर लजाउनुभयो।
हामी साँझ सात बजेतिर गाउँको घर पुग्यौं। बेलुकी खाना खाने बेलामा आमाले सुनकेशरी पण्डितको बारेमा खुब तारिफ गर्नुभयो।
आमा सुनकेशरी पण्डितको केश सुनको जस्तो छ हो? मैले थाहा नपाएको जस्तो गरेर हाँसो गरेँ। आमाले मैले मजाक गरेको बुझ्नु भएन। उहाँ सिरियस हुँदै भन्नुभयो, ‘केश त कालै छ तर अनुहार भने सुनको जस्तै छ। पहेँली गोरी असाध्यै उज्याली छे। धपक्क बलेकी।
सुन, नुन, जुन जस्तो धपक्क बलेकी भाउजु आएपछि त हाम्रो घरमा अब बत्ती नै नचाइने भयो त बुाबा।
मैले बुबातिर हेरेर आमा र दाइलाई जिस्काएँ। बुबा मेरो कुरा सुनेर जोडले नै हाँस्नुभयो। तर दाइलाई भने मेरो कुराको केही असर नै भएन। बरू आमातिर फर्केर बोल्नुभयो, ‘अनि उनको शिल स्वभावको बारेमा गाउँलेले के भन्छन् त?’
सबैले राम्रै त छ भन्छन् तर के था बा! नबसी, संगत नगरी कसको के मनपेट थाहा होला र?
आमा सुनकेशरी पण्डितको रूपको चाँहि ग्यारेण्टी लिनुभयो तर स्वभावको कुरा ठोकुवा गरेर भन्न सक्नुभएन। अनि दाइको श्यामस्वेत रंगको बारेमा पनि चिन्ता व्यक्त गर्नुभयो–तँ यस्तो कालो छस् त्यसले मन पराउँली र भन्या? आमाले चिन्ता व्यक्त गर्नुभयो दाइको छालाको रंगमा।
‘कुरो कहाँ पुगिसक्यो आमा। तपाईँ भने छोराको छालाको रंगमा अड्कनुभएको छ। सुनकेशरी पण्डित र हाम्रो दाइको लभ परेर विछ्ट्टै छ। एकअर्काबीना बाँच्नै नसक्ने भइसके। बाटोमा आउँदा मात्रै सय पटक कुरा भइसक्यो होला। दाइ दंग पर्दै सुनकेशरी पण्डितलाई यहाँ आइपुगेँ। त्यहाँ आइपुगेँ। पाँच मिनेटमा घर पुग्छु भनेर अपडेट दिदैँ हुनुहुन्थ्यो,’ मैले दाइको डरै नमानी निर्धक्क भनिदिएँ।
मैले यसो भन्दा दाइ मलाई ‘बढी बोल्छे यो आमा’ भनेर पाखुरामा प्याट्ट पिट्नभयो। आमाले चाल पाइहाल्नुभयो र सोध्नुभयो – यसले भनेको सही हो त कान्छा?
दाइले फेरि लजाउँदै भन्नुभयो, ‘यसले भनेको जस्तो अति पनि होइन आमा तर सामान्य कुराकानी भने अवश्य भइराछ उनीसँग।’
आमा, बुबा मुखामुख गरेर हाँस्नुभयो। दाइ लाजले मुन्टो निहुँराउनुभयो अनि म घरको माहोल तनावरहित भएको देखेर फुरूङ्ग।
यसरी कुरा सकारात्मक तरिकाले अगाडि बढ्दै गयो र आउँदो एक महिना भित्रै सुनकेशरी पण्डित हाम्रो घरको लक्ष्मी बनेर आउनुभयो। विहे गरेको केही दिनसम्म घरमा भाउजु पाउँजु लगाएर यताउती गरिरहनुभयो। कलकलाउँदो मेहेँन्दी लगाएको रातो पाउँमा त्यसरी पाउजु लगाएर घरमा छमछम गर्दा भाउजु मलाई झन् सुन्दर लाग्यो। एक दिन बजार जाँदा सानो मसिनो नबज्ने पाउजु लिएर आएँ र भाउजुलाई भनेँ, -भाउजु, सधैँ बज्ने पाउजु लगाउन मन लागेन भने पनि यो सानो पाउजु सधैँ लगाइरहनु है। त्यो पाउँमा पाउजु साह्रै सुहाउँछ।
मैले दिएको पाउँजु भाउजुले त्यही दिनदेखि नै लगाउन थाल्नुभयो। एक दिन दाइको साथीहरु घरमा खाना खान आउनुभएको थियो। त्यही मध्ये एक जनाले भाउजुको रूपरंग र पाउको पाउजुको पनि तारिफ गर्नुभयो। अनि भोलिपल्ट देखि भाउजुले पाउजु लगाउन छोड्नुभयो।
एक दिन मैले दाइकै अगाडि भाउजुलाई सोधेँ– तपाइँलाई पाउजु लगाएको कस्तो सुन्दर देखिन्छ। सबैले तारिफ पनि गर्छन्। किन लगाउन छोड्नुभएको आजकाल?
भाउजुले दाइलाई पुलुक्क हेरेर भन्नुभयो– आजकाल मैले पाउजु लगाएको दाइलाई मन पर्दैन। म श्रृङ्गारिएर बसेको दाइलाई मन पर्दैन। म एक्लै बाहिर बजार गएको दाइलाई मन पर्दैन। मैले ऐना हेरिरहेको दाइलाई मन पर्दैन। म हाँसेर साथीहरुसँग फोनमा बोलेको दाइलाई मन पर्दैन। फेसबुकमा मनको भावना पोखेर कविता, स्टाटस लेखेको मन पर्दैन। बेलुकी सुत्दा नारायण गोपालको गीतहरु सुनेर सुतेको मन पर्दैन। मैले कहिलेकाहीँ आफ्नो सिंगल फोटो मात्रै हालेको मन पर्दैन। कुन दिन म नै उहाँलाई मन पर्दैन कि जस्तो लाग्यो।
भाउजु एकपछि अर्को गर्दै दाइको परिवर्तीत स्वभावको बारेमा भन्दै हुनुहुन्थ्यो। ला! दाइ त यस्तो हुनुहुँदैनथ्यो। एक्कासी दाइलाई के भयो भनेर भाउजुको कुराले म आफैँ तरंगित भएँ। दाइ भाउजुले यसो भन्दै गर्दा मौन हुनुभयो र जुरूक्क उठेर जानुभयो। भाउजु पनि आँखाभरी आँसु लिएर किचनतिर लाग्नुभयो।
दाइको कुराहरू भाउजुले मेरो सामुन्ने मात्रै भन्नुभएको थिएन। दाइ पनि सँगै हुनुहुन्थ्यो अनि दाइ प्रतिकार नगरी मौन बसिदिनुभयो। दाइको मौनताले विश्वास गर्दिनँ भनेको कुरा पनि विश्वास गर्न मन लागिहाल्यो।
विहे गरेको एक वर्ष मात्रै पुगेको थियो तर दाइ र भाउजुबीचको सम्बन्धमा दूरी देखेर म त्रसित भएँ। भाउजूको रूप कतै दाइको लागि अभिश्राप त भएन? भाउजुको शितलताको पनि प्रभाव नपरेको दाइको यो कस्तो ताप हो जस्तो लाग्यो।
दाइ भाउजुप्रति दिनप्रतिदिन शंकालु बन्दै जानुभएको थियो। दाइ यस्तो अवस्थामा पुग्नुभयो कि विस्तारै दाइले भाउजुलाई कुनै पार्टी, साथीहरूको ग्यादरिङ्गतिर लिएर जानै छोड्नुभयो। एकदिन भाउजुलाई मेरो साथीको वर्डडेमा लान्छु नि दाइ भन्दा दाइले मलाई पेच हानेर भन्नुभयो,‘पाउजु पाउँमा राम्रो हुन्छ अनि तेरी भाउजु घरमा।’
रूपवती श्रीमतीलाई घरको घेरामा मात्रै सुन्दर देख्ने र उनीहरु बाहिर निस्किने वित्तिक्कै दाग लाग्ने जस्ता अपाच्य र कुतर्कबाट दाइ कहिले कसरी प्रभावित हुनुभयो भन्ने हामीले चालै पाएनौं। दाइ भाउजुको सुन्दरतालाई लिएर संशकित भइरहने, मनमा शंका, उपशंका घेरिरहने र हरबखत डर, त्रासले भाउजुलाई पर्दाभित्र मात्रै राख्न खोज्ने, यो कस्तो मनोरोगले सतायो उहाँलाई भनेर चिन्ता पनि लाग्न थाल्यो।
यसैबीचमा भाउजुले छोरालाई जन्म दिनुभयो। छोरा जन्मेपछि दाइ अलि संशकित हुन छोड्नुभएको जस्तो लाग्यो। भाउजुको सबै समय छोरा र घरधन्दामा बितेको देखेर दाइलाई आनन्द लागेको थियो। बाबु जन्मेको एक वर्षमा नै भाउजु फेरि गर्भवती हुनुभयो। भाउजुले फेरि अर्को छोरा जन्माउनुभयो। दाइ झन् खुशी हुनुभयो र अब ढुक्कसँग दाइ आफ्नो मनी ट्रान्सफरको विजनेसलाई दुवईमा खोल्ने तरखरमा लाग्नुभयो। भाउजुको काखमा दुई दुधे बालक छोडेर विजनेस स्थापनाको लागि भनेर दाइ दुवई लाग्नुभयो।
त्यतिखेर म्यूजिकल्ली एप्स धेरै फेमस भइरहेको थियो। भाउजुले एकदिन त्यसै घर बसिरहेको बेला हिन्दी फिल्म धड्कनको गीतमा फेसियल एक्सप्रेसन सहित लिपसिङ गरेर म्यूजिकल्ली एप्समा भिडिओ राख्नुभएछ। भोलिपल्ट त त्यो भिडिओ भाइरल भएर रातारात बीसौं हजारले हेरेछन्। दाइको राणाशासनमा उदास उदास भएर दिन विताइरहेको भाउजुलाई त्यो भिडिओले खुशी हुने बहाना दियो। त्यसपछि त लगातार तीन चार महिनासम्म लिपसिङमा मात्रै भाउजुको थुप्रै भिडिओहरु आउन थाल्यो। भाउजु एकाएक भाइरल हुँदै जानुभयो। मलाई पनि भाउजुको भिडिओहरू खिच्न पाउँदा रमाईलो लागिरहेको थियो। पछि त्यही म्यूजिकल्ली एप्स टिकटकको नाममा परिवर्तन भयो। टिकटकमा भाउजु लाइभ पनि बस्न थाल्नुभयो। भाउजु टिकटक लाइभमा बसेर अलिअलि डलर पनि कमाउन थाल्नुभयो। भाउजुलाई झन् आत्मविश्वास बढ्यो। घर बसी बसी आफ्नो कला देखाएको भरमा डलर आउन थाल्यो पनि भाउजुलाई आफू आत्मानिर्भर भएको महसुस हुन थाल्यो।
हेर्दाहेर्दै भाउजुको साथीहरू लाखौं हुन थाल्यो र धेरैजसो भिडिओमा तीन चार मिलियन भ्यू हुन थाल्यो। हामीले यो टिकटकको कुरा दाइसँग लुकाएका थियौं। भाइरल भइरहनुभएको भाउजुको एकाउन्टमा कति धेरै नकारात्मक कमेन्टहरु पनि आउँथ्यो यदि दाइले देख्नुभयो भने गाली गर्नुहुन्छ जस्तो लाग्थ्यो हामीलाई।
बीचमा एकपटक भाउजुलाई म्यूजिक भिडिओ खेल्नदेखि अन्तर्वाताको लागि युटुबरको पनि फोन आएको आएै थियो तर भाउजुले ती कसैलाई पनि वास्ता गर्नुभएन। भाउजु टिकटकमा मात्रै सिमीत हुन चाहनुहुन्थ्यो। भोलि अन्तर्वाता, भिडिओ खेल्न अति व्यस्त भयो भने दुई बालकको फेरि विचल्ली होला अनि त्यही माथि दाइ रिसले आगो होला भनेर डर मान्नुहुन्थ्यो।
भाउजु र मैले सकेसम्म भाउजुको टिकटकको कला दाइकोसामू लुकाएर राखेका थियौ। तर भाइरल भइरहनुभएको भाउजु हामीले लुकाए पनि अरूले देखाइहाल्थ्यो। आखिर त्यही भयो। एकदिन दाइले भाउजुको टिकटक एकाण्टको बारेमा थाहा पाउनुनै भयो।
एकदिन दुबईबाट आएकै रात घरमा दाइले बबाल गर्नुभयो। आफ्नो रूप अरुलाई बेच्छस् भनेर दाइले भाउजुलाई हामी सबैको अगाडि खुब गाली पनि गर्नुभयो। तर भाउजुलाई आमाले साथ दिनुभयो र भन्नुभयो- घर, छिमेकी, आफन्त सबैले यसको कलाको पनि तारिफ गर्दैछन्। अलिअलि आम्दानी पनि गरेकी छिन्। घरमा अनि छोराहरूलाई खोला बगाए जसरी खर्च गरेकी छे। तैँले दिएको महिनाको बीस हजारले यो घर खर्च चलेको जस्तो लागेको होला। भो तेरो त्यो बीस हजारले त एउटा मुसाको औषधि पनि आउँदैन। ठिकै त छ नि घर बसीबसी आफ्नो कला देखाएर कमाएकी छे। यहाँ रडाको नगर। जा उता जा। तँ आफ्नो काममा ध्यान दे यता होइन भन्नुभयो। आमाको यो बोलीमा पनि दाइलाई समस्या भयो।
दाइ आमासँग पनि मुखमुख लाग्न थाल्नुभयो र भाउजुलाई राताराता आँखा बनाएर भोलिदेखि लाइभमा बसेको थाहा पाए भने अनि भिडिओ बनाएको रहेछ भने घरबाट निकालिदिन्छु भनेर धम्की दिनुभयो।
दाइको दिनदिनैको दवाव र कटुवचन खप्न नसकेर भाउजुले आफ्नो एकाण्ट नै डिएक्टिबेट गर्नुभयो। यसैबीचमा भाउजु फेरि गर्भवती हुनुभयो। यसपटक भाउजु जस्तै प्यारी भदैनी जन्मिइन्। समय बित्दै गयो। नानी तीन वर्षकी भईन्। त्यति सानै उमेरमा पनि नानी झन् टिकटक बनाउन कडा भएर निस्किइन्। भाउजूलाई समेत मात दिने तरिकाले आँखा नचाएर, ओठ फक्राएर एक्टिङ गर्न थालिन्। सुरूसुरूमा नानीको भिडिओहरू मैले मेरो एकाण्टबाट राख्थे पछि उसैको छुट्टै एकाउन्ट खोलेर भाउजु र म भिडिओ बनाउन थाल्यौं। भाउजु नानीसँग पनि भिडिओ बनाउन तर्सिनुभयो। उहाँ क्यामेराको अगाडि आउनै डराउनुभयो।
नानीको एकपछि अर्को भिडिओ रातारात भाइरल हुन थाल्यो। नानीको चौतर्फी प्रशंसा हुनथाल्यो। दाइलाई भाउजुको प्रशंसा जलन भएको थियो भने छोरीको प्रशंसा चाँहि गर्व। दाइ आफैं नानीलाई लिएर अन्तर्वातातिर कुँदन थाल्नुभयो। आफ्नो विजनेसको विज्ञापनमा पनि नानीलाई खेलाउन थाल्नुभयो। दाइको यो फेरि अर्को रूप थियो। यो देख्दा देख्दै पनि भाउजुले आफ्नो लागि कहिल्यै विद्रोह गर्नुभएन। तर छोरीको भिडिओ देखेर रमाएको दाइको अनुहार देखेर मख्ख हुनुहुन्थ्यो। त्यही दाइको खुशीले उहाँलाई हौसला दिन्थ्यो र नानीको भिडिओ झन् राम्रो तरिकाले बनाउन थाल्नुभयो। विडम्बना दाइले भाउजुलाई यो सबैको श्रेय र धन्यवाद कहिल्यै दिनुभएन।
एकदिन भाउजु आफूले पनि पाउजु लगाउनुभयो र नानीलाई पनि पाउजु लगाइदिएर गीतको तालमा नाँच्न सिकाउनुभयो। बिहे गरेको आठ वर्षसम्म पनि भाउजुको पाउँ पहिलाको जस्तै कलकलाउँदो, उस्तै राता र गोरा थिए।
भाउजुले थाहा नपाउने गरी यसपटक भाउजुको पाउँको मात्रै भिडिओ बनाएँ। अनि फिल्टर गरेर भाउजुलाई देखाएँ। त्यहाँ पाउँले पाउँजु नचाउँदै थियो कि पाउजुले पाउँ, छुट्टाउन मुश्किल थियो। अत्यन्त सुन्दर प्रस्तुती थियो पाउँ र पाउजुको। पाउँले पाउजुलाई साथ दिइरहेको थियो भने पाउजुले भाउजुको पाउँलाई। मैले आइडिया निकाले अब भाउजुको रूप होइन मान्छेहरुले पाउँ हेर्नेछन्। भाउजुको पाउजु हेर्नेछन्। तर भाउजु अलि हिच्किचाउनु भयो। त्यो भिडिओ आमालाई पनि देखाएँ। आमाले पनि अत्यन्त तारिफ गर्नुभयो। आमाले पनि भाउजुलाई पुन टिकटकमा फर्कन आग्रह गर्नुभयो।
धेरैबेरको छलफल पछि अनुहार पटक्कै नदेखाउने तर पाउँ र पाउँजुको मात्रै भिडिओ पोष्ट गर्ने सर्तमा म पुनः टिकटकमा आउँछु भन्नुभयो। आमा र म यसमा राजी भयौं र दाइलाई यो पाउ र पाउजुको बारेमा केही नभन्ने बचन पनि लियौं।
हामी सबै भएर सोना नामको एउटा एकाण्ट खोल्यौं र भटाभट भिडिओ अपलोड गर्न थाल्यो। हामीलाई जे कुराको विश्वास थियो त्यहीँ भयो लाखौं करोडौँले हेर्न थाल्यो। कमेन्ट पनि त्यतिकै। लाईक, सेयर, ड्यूट पनि अपार हुन थाल्यो। मान्छेहरू यति राम्रो पाउको रूप कस्तो होला भनेर कमेन्ट गर्न पनि थालेँ। विदेशीहरूको पनि कमेन्ट आउन थाल्यो। घर, छिमेक, साथीभाइहरूमा पनि भाउजुको पाउजुको चर्चा हुन थाल्यो। घरमा आउनुभएको पाउनाहरुले टिकटकको यी भिडिओहरु हेरेर हाम्री केशरीको जस्तै खुट्टा छ यो नानीको भन्न थालेँ। हामी थाहा नपाएको जसरी हो त रैछ कि ठ्याक्कै काँटिकुटी भन्थ्यौ र हाँस्थ्यौ।
देखेर भन्दा नदेखर यसरी चौतर्फी तारिफ बटुली रहँदा भाउजुमा झन् अझ राम्रो भिडिओ बनाउने हिम्मत बढेको थियो। कयौं नाम कमाएका हिरोइन र मोडलको ओठको लिपसिङभन्दा भाउजुको पाउँजुको अभिनय रोचक हुन्थ्यो। भाउजुको जिब्रोले होइन पाउजुले डाइलग बोल्थ्यो। पाउँको पाउँजु विरहीको गीतमा घरी रून्थ्यो त मिलनको गीतमा रोमान्चित हुन्थ्यो। पाउ र पाउँजु मिलेर घरी भावुकताको कुरा गर्थ्यो त घरी ज्ञानपर्दक। गीतमा पनि नाथ्यो पाउँजु, उफन्थ्र्यो, कराउँथ्यो, रून्थ्यो, खुशी हुन्थ्यो, शान्त रहन्थ्यो, रोमान्चित बन्थ्यो यसरी घरी कामुक हुन्थ्यो त घरी शान्त भइ बस्थ्यो। भाउजुको पाउँ र पाउँजुको जति तारिफ गरे पनि पुग्दैनथ्यो। लाखौं मानिसहरु अब भाउजुको रूप होइन पाउँ हेर्न लाइभमा बस्थे।
एक दिन लाइभमा कमेन्ट आयो। नाइस फिट एण्ड पाउजु। त्यो कमेन्ट कसैको नभएर दाइको थियो। दाइले भाउजुको भनेर होइन अरू कसैको पाउँ भनेर भनेर कमेन्ट गर्नुभएको थियो। पलभरमा नै भाउजुको पाउँजु निराश भएर शान्त रह्यो केही बेर।