दृढ अचल पहाडहरू छन्
तिम्रो प्रतीक्षामा कहिले ब्युँझिउँला भनेर
चित्कार छोड्दै बादलहरू धुरुधुरु रुँदै छन्
तिम्रै प्रतीक्षामा कहिले निर्मल हौला भनेर।
मौसम वसन्तको छ
खेतबारी जोतिएका छन्
र रोपिएका छन् बिउ केबल प्रतीक्षा छ
त्यही बिउबाट उम्रने बोटबिरुवा सरह तिम्रो
कति साँझ भए, कति बिहान तिम्रै प्रतीक्षा गर्दागर्दै
ऋतुहरूले वर्षैपिच्छे रूप फेरिरहेका छन्
र नदीनालाहरू शालिन र गम्भीर बनिरहेका छन्।
थाहा छ
तिम्रो आगमनपछि
समुन्द्रमा थामिने छ छाल
शान्त बन्नेछ आँधीबेरीको चाल
र रोकिने छ गड्याङगुडुङ चट्याङ
अनि
धर्तीमा सूर्यको सुनौलो लाली किरण प्रवेश गर्नेछ
र तिमीलाई स्पर्श गर्दै दिनेछ न्यानो
मृदु मुस्कान लिएर आउने छ बतास
र तिमीलाई स्पर्श गर्दै दिनेछ जीवन।
संसारका कयौँ आमाहरूको गर्भमा छौ तिमी
र तिम्रै प्रतीक्षामा छ यो जगत
तिम्रो मुलायम पैतालाले धर्तीमा टेक्दा
धर्ती माताले उज्यालो अनुहार बनाएर स्वागत गर्नेछिन्
अनि तिम्रो जन्मसँगै लेखिने छ यस धर्तीमा
नयाँ इतिहास
तिम्रो पहिलो रोदनको ध्वनीले
डाँडाकाँडा र बाटिकामा अवस्थित
पुष्पहरू मुसुक्क मुस्कुराउने छन्
र तिमीलाई सिकाउने छन् मुस्कुराउन।
तिम्रो आमाबुबाको ओठमा मृदु मुस्कानले
प्रत्यागमन गर्नेछ र
जब तिमी राष्ट्रको लागि लड्ने असल
वीर योद्धा र
राष्ट्र चिन्तक बन्नेछौ
तब पूर्व क्षितिजबाट झुल्किने छ सूर्य
वृक्षहरूमा पलाउने छन् पात, पालुवा र मञ्जरी
अनि तिम्रो आमाबुबाको दिलमा प्रत्यामन गर्ने छ वसन्त।