फाटेको मोजामा
पत्रैपत्र थाङ्ना मोरेर
मेरो खुसी
मेरो मुस्कान
र मेरो स्वाभिमान
कस्तो बेस्सरी सिलाएकी रैछेऊ नि आमा!
अहिले
फुलेका दाह्री र जुँगामा लडेर सम्झँदा
विपनीमा धरधरी खुसीले रुवाउँछ
सपनीमा खलखली त्यही भकुन्डोले बनाउँछ।
गाउँभरिको सबैभन्दा ठूलो
सकेसम्म बुट्टे मोजा खोजेर
तिम्रो प्रेम र मेरो रंगिन सपना
कस्तो कसिलो खाँदेकी रैछेऊ नि आमा!
भकुन्डो खेल्ने चउर टुट्दा पनि
थाङ्ना र मोजा छुटेनन्
सिलाइ र मोजा फुटेनन्।
अर्काको थोत्रा मोजा पनि
रत्ति घिन नमानी
घोटी-घोटी धोएर
कस्तो सुकिलो बनाकी रैछेऊ नि आमा!
तिम्रो हृदय र मेरो बालापनजस्तै
संसार धुलियो
लोक मैलियो
तर
भकुन्डोको रङ कहिले फेरिएन
त्यसको आकार कहिले खुम्चिएन।
पानीमा नभिजाउनू
हिलोमा नपार्नू
आफ्नो सृजना र छोराको धनमा
कस्तो निश्चल प्रेम भरेकी रैछेऊ नि आमा!
कस्तो ज्यामितिय रेखा तानेकी रैछेऊ नि आमा!
हाम्रा सृजना
र तिनका चर्तिकला हेर्दै गर्दा
याद आउँछ त्यही मोजाको
याद आउँछ त्यही भकुन्डोको।
आमा,
कहीँकतै ठूलो मोजा देख्दा
मनमनै कल्पन्छु
'मेरी आमैले उ बेलामा भेट्या भए...।'