ए बा, देशमा सरकार आयो भने
यो एक झोला मैले बोक्न नसक्ने किताब पनि घट्छ अरे
यो घाँटी कस्ने टाई पनि पर्दैन अरे
स्कुल जाँदा बोकेको भारीले मेरो ढाड दुखिरहेछ
साथीहरूले भनेको सरकार आयो भने खाने पानी आउँछ अरे
बाटो पनि बन्छ अरे
हाम्रो स्कुलको बेन्च भाँचिएको छ, त्यो पनि बन्छ अरे
बा, सरकार कहिले आउँछ?
के अहिले देश लुटिँदै छ अरे हो बा?
ठूला क्लासका दाइहरूले भनेको सुनेको मैले
सरकार आयो भने यी देश लुट्नेहरू जेल जानु पर्छ अरे
ठगहरू सबै तह लाग्छन् अरे
बा! सरकार कहिले आउँछ?
सरकार आयो भने सिस्टम आउँछ अरे
किताब सरकारले दिन्छ अरे
स्कुलमा खाजा उसैले दिन्छ अरे
पढाइ सरकारी स्कुलमै राम्रो हुन्छ अरे
स्कुलमा जान्ने सर/म्याडम आउनु हुन्छ अरे
हामीले दिनैपिच्छे कुखुरा बन्नु पर्दैन अरे
सरकार आयो भने हिसाबकिताब पनि राम्रो हुन्छ अरे
देश विकास हुन्छ अरे
बा! सरकार कहिले आउँछ?
सरकार आएपछि त्यो हाम्रो घरै अगाडिको बाटोको खाल्डो पुर्छ अरे
हाम्रो लागि रमाइला पार्कहरू बनाउँछ अरे
हिँड्ने बाटोहरू सजिलो पार्छ अरे
जहाँ जतासुकै भ्रष्टाचार छ अरे
भ्रष्टाचार भनेको के हो बा?
सरकार देशमा आयो भने
भ्रष्टाचार निर्मूल हुन्छ अरे
ए बा! भ्रष्टाचार भएन भने देश विकास हुन्छ अरे
बा! सरकार कहिले आउँछ?
अहिले लुटतन्त्र चलेको छ अरे
भाइ भतिजावाद फस्टाएको छ अरे
रोल क्रममा राजा हुने होड छ अरे
सरकार आयो भने जनताको भलो हुन्छ अरे
दाइहरूले भनेको
ए बा! भन्नु न, सरकार कहिले आउँछ?
सरकार आएपछि
कानुन सबैलाई एउटै हुन्छ अरे
न्यायालय शुद्ध हुन्छ अरे
पुलिस हाम्रो साथी हुन्छ अरे
डाक्टरले गोजी हैन, हाम्रो मुटु सुमसुम्याउँछ अरे
अस्पतालले लुट हैन, सेवा दिन्छ अरे
सरकारले दबाइ सित्तैमा बाँड्छ अरे
हामीले पौष्टिक खाना पाँउछौं अरे
हाम्रो खेतमा समयमै मल आउँछ अरे
आज त दाइहरूले राम्रा-राम्रा कुरा सुनाउनु भो
बा! सरकार कहिले आउँछ?
हाम्रो स्कुलअगाडि जहिल्यै पानी जम्ने खाल्डो छ
मच्छडले महल बनाइसके
झिंगाले दरबार ठोकिसके
डेंगुले साथीहरू बिरामी छन्
हैजाले त म पनि बिरामी परेकै थिएँ
तपाईंहरूले भनेको सुनेको हुँ
मरेर म बाँचे हैन?
सरकार आयो भने लुट्न छोडेर
देश र जनताको हित गर्छ अरे
दाइहरू भन्दै हुनहुन्थ्यो
निर्मला दिदीको हत्यारा पनि पक्राउ पर्छ अरे
लाउडा, ओम्नी, वाइडबडी, यति, एनसेल आदि इत्यादी के-के के-के भन्दै हुनुहुन्थ्यो
सरकार आयो भने यी सबै खोजी-खोजी जेल जानुपर्छ अरे
पार्टी हैन देशको झण्डा अग्लो हुन्छ अरे
यो देश त स्वर्गजस्तै बन्छ अरे
हिमाल, पहाड, तराई यस्तो सुन्दर देश हाम्रो
भन्दै हुनहुन्थ्यो दाइहरू
बा! भन्नु न सरकार अब कहिले आउँछ?
ए बा!
सरकार कहिले आउँछ?