लुला भएका मेरा हातगोडा
रोगले थलिएको शरीरको पोको
बुढ्यौलीले निम्ताएको एक्लोपन
यी सबै बिर्सिएर म देख्दैछु एउटा सपना।
उमेरसँगै बदलिनु यो मुटु
नलाग्नु माया कसैको
नदुखोस् दिल सन्तानको तिरस्कारमा
म एउटा पत्थर बनुँ, फगत पत्थर
नबगोस् आँसुका भेल आँखाबाट
म देख्दैछु एउटा सपना
चिम्म चिम्लिउन् यी आँखाहरू
बटारिँदै जाउन् परेलीहरू
घाँटीबाट तल नबगुन् एक चम्चा पानी
चाँडै फुत्त उडेर जाउन् एक मुठ्ठी सास
म देख्दैछु एउटा सपना
नभिजाउन् परेलीहरू आफ्नाले
मृत्युको शोक एक मौन उत्सव बनुन्
सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्न आतुँर गर्नेहरू
किरिया घरभित्र मिलाउँदै हुनेछन् कागजपत्रहरू
म देख्दैछु एउटा सपना।
पालो आउँदा तिम्रो, मलाईजस्तै नहुनू
अनि नहुन् तिम्रा सन्तान मेराजस्तै
रगत एउटै भए पनि असल हुन् तिनका हृदय
सुखद बितुन् तिम्रा बुढ्यौली उमेर
अनि एक अभागी बाका भाग्यमानी छोरा हुनू जिन्दगीभर
म देख्दैछु एक सपना।