छैठीको दिन थियो। भाग्य लेख्न विधाता स्वयं मेरो द्वारमा आउँदै थिए। सफलता, सम्पन्नता र समृद्धिको त्रिवेणी मेरो ललाटमा थपक्क टाँसिने आशमा संस्कार सम्पन्न गरिँदैथ्यो।
कृपालु विधाताका हातबाट उत्कृष्ट भाग्य लेखिने आशमा कान्छी फुपूले, सिरानी नजिकै ठूलो काँसको थालभरि सेता चामल, बीस रुपैयाँ पैसो, एक हातो केरा र झल्लल बलेको दीयो ल्याएर राखिदिनु भयो। कोठा उज्यालो भयो, साँच्चै त्यो दिन छरिएको उज्यालो जस्तै मेरा दिनहरू पनि उज्यालोको यात्रामा मात्र हिँडिदिने भए!
म गम खाँदै थिएँ।
फुपूले बर्बराउँदै भन्नुभयो- ‘जन्मँदै फुटेको खप्पर लिएर आएको त जात, त्यो पनि छोरी, त्यतिले नपुगेर गर्भ मै बाउ मरेको, के गतिलो होला र भाग्य? तै पनि हे परमपिता! आज छैठीको दिन छ यसको भाग्यमा राम्रोमात्र लेख है। बरा! बाउको मुखसम्म देख्न पाइन।’
कान्छी फुपूका आँखा सजल भए।
म भने एकटकले दीयोको उज्यालो हेर्दै थिएँ। म रनभुल्लमा परें। गर्भभित्रको उज्यालो र बाहिरको उज्यालो खुट्याउन सकिरहेको थिइनँ। मेरो ध्यान भंग भएको थियो। गर्भदेखि जन्मेको दिनसम्म कानमा समाज, परिवार र व्यक्तिहरूका अर्थहीन कुराहरू सुन्दै जो थिएँ।
मेरो तार्किक मस्तिष्कको ढोका पूरै खुलिसकेको थिएन। त्यसैले देब्रे मस्तिष्कमा कयलमयल जम्न सुरू भैसकेको थियो।
फुपूले! बाउको मुखसम्म देख्न नपाएकी; भन्ने बित्तिकै मलाई हुरूक्क भएर छट्पटी हुन थाल्यो। बुवालाई भेट्न, बोल्न र त्यो सेतो घोडामा चडे्र फेरी घुम्म जान मन लाग्यो अनि चिच्याई चिच्याई रूँन थालें।
फुपूले काखमा लिँदै मलाई थुप्थुप्याउनुभयो- ‘कोलाकोला! कस्तरी तर्सिई। कतै कमिलोले त टोकेन।’
जिउ जम्मै हेर्न थाल्नुभयो। कतै कमिलाले टोकेको निशान देख्नु भएन।
शरीरको चोट भए पो त तुरून्तै देखिन्छ। मानसिक चोट र पीडा कसरी देख्नू! म कुन मनस्थितिमा दिन काट्दै थिएँ, त्यो मलाई मात्र थाहा थियो।
अरूणोदयको सौन्दर्य र लालीमा पनि मलाई हलाहल विष पिएझैँं औडाह हुन्थ्यो। आमाको दूधमा पनि तृप्तीको आभाष हुँदैन थियो। गोधूली साँझमा पनि सन्ध्या र शान्तिको आनन्द उठाउन नसक्ने भैसकेको थिएँ।
विरक्ती र अत्यासले हरघडी चिमोटी रहन्थ्यो। अनि पीडा ओकल्न नसकेर चिच्याएर रोइदिन्थें। त्यो दिन झन जोडले रूँदै थिएँ।
‘भाउजू यो अभागिनीलाई दूध चुसाउनू त, त्यसै त्यसै च्याँठिएर रोएकी छ, सपना देखेर हो कि, पेट नभरेर हो?’
आमा पत्थर हुनुभएको थियो। मलाई काखमा बोक्दा मुहारमा खुसी, उमंग, उत्साह र प्रशन्नता कतै थिएन।
आमा मरूभूमिमा सुकेको तरूल झैं बन्नु भएको थियो। मातृत्वमा केवल कर्तव्यमात्र बाँकी थियो। आमा जड भएको देखेर म भित्र-भित्र बर्बराउन थालें- मेरी आमा कर्तव्य मात्र भए पनि निभाएकी छौ। यस्तो विषम परिस्थितिमा धन्य खुट्टा त टेकेकी छौ। तिमी आफैं विछिप्त भएको बेला छ।
साँच्चै आमा! तिम्रो कर्तव्यको भारी चानचुने छैन। पहाड भएर यो समाजको सामना तिमीले अब गर्नु पर्नेछ। तिम्रो पीडा जम्मै बुझ्छु।’ मेरा नयन पनि सजल भएछन्।
मलाई आमासँग केही गुनासो थिएन। आमाले काखमा लिँदाजस्तै पीडा भए पनि निको हुन्थ्यो। म आमाका आँखामा एकोहोरो हेरिरहन्थें। हेर्दाहेर्दै आमाको आँखामा डरलाग्दो शान्ति देख्थें अनि हतार हतार आँखा बन्द गर्दै त्यो परम प्रकाशको ध्यान गर्ने कोसिस गर्थें। जतिजति ध्यानस्थ हुन्थें अनि जीवन र जगतको स्पष्टता प्राप्त गर्थें।
म निकै सभ्य तरिकाले आमाको काखमा बसेर भोजन गर्थें। मेरो कारणले मेरी आमालाई अब कुनै दु:ख र कष्ट नहोस् भन्ने भावना जागृति हुन्थ्यो। जब आमाको उजाड अनुहार मेरा लोचनमा ठोकिन्थे, म त्यसै पग्लिन्थें।
आमाको शरीर मसँग भए पनि मन चौधभूवन भ्रमण गर्न निस्किन्थ्यो।
सामाजिक, आर्थिक, पारिवारिक, प्रशासनिक जम्मै जिम्मेवारी आमाको टाउकोमा खनिएको थियो। घरको जस्केलोसम्म ननाघेकी मेरी आमाले अब पुलिस प्रशासन,अड्डा अदालत धाउनु परेको थियो।
आमालाई विभिन्न कुराको तनावले चारैतिर घेरेको थियो।
प्रायः आमा आफ्नो मनोवादमा रूमलिनु हुन्थ्यो। आमाको मनोवाद जम्मै बुझ्थें। आमालाई ओडाहा भएको देखेर मलाई उकुसमुकुस र छट्पटी हुन्थ्यो। केही गर्न सक्दिनँ थिएँ। आमाका आँखाबाट झरेका ती ताता आँसुले मेरा कोमल हृदय भत्भती पोल्थ्यो।
धर्तीमा पाइला टेकेको छ दिन भैसकेको थियो। बुवाको मुख नदेखिएको पनि ठ्याक्कै छ दिन। मलाई बुवाको मात्र याद आउँथ्यो। मस्त निद्रामा सपना देख्थें, बुवासँग खेल्थें, घुम्थें र बोल्थें।
‘बुवा! आमालाई हाँस्नु भन्नु न, आमा रोएको मलाई फिटिक्क मन पर्दैन,आमाको त्यो उदास अनुहार देख्नुपर्छ भनेर मलाई आँखा खोल्न मन लाग्दैन, घरभरि दिदीहरू हुँदा पनि म एक्लो छु। मेरो पीडा मसँग मात्र छ। मेरो आँखा हेरेर मेरो उकुसमुकुस बुझ्ने कोही छैनन् त्यहाँ।’
बुवा केही बोल्नु हुन्थ्यो। अनि म झल्याँस्स भएर उठ्थें। अनि फेरि रूँन थाल्थें।
आमाको पीडा थाहा पाएर पनि चुपचाप बस्नु जस्तो लाछिपन केही रहेनछ। बुवाको अभावमा आमाले छोराछोरीलाई उँचो स्वरले हकारपकार र गाली केही पनि गर्नु हुन्नथ्यो।
सधैं शान्त, न रिस थियो न गुनासो। एकनासको स्वभाव मेरी आमाको। म आमाको अनुहार पढ्न सक्थें अनि आफूलाई जति दु:ख कष्ट भए पनि सुनाउन छोड्दै गएँ।
बिस्तारै म हुर्कंदै थिएँ। मलाई गर्भमा प्राप्त गरेको गुप्त ज्ञानको बोध अझै बाँकी थियो। स्थुल शरीर र सूक्ष्म शरीरको भेटघाट, वार्तालाप अब दुर्भल हुँदैछ भन्ने अनुमान थियो। मुटुमा चार वटा कोठा भएजस्तै मस्तिष्कमा पनि दुई वटा कोठाहरू थिए।
दाहिने र देब्रे। देब्रे मस्तिष्कको ढोका भन्दा दाहिने मस्तिष्कको ढोका खुला भएर त मेरो चेतना विराट थियो। म अझ पनि स्थुलबाट सूक्ष्म शरीर धारण गर्न सक्थें तर ध्यानको अभ्यास छुटेर मेरो शक्ति कमजोर हुँदै थियो।
सीमित र नियन्त्रित मस्तिष्कले विराट मस्तिष्कलाई निष्कृय बनाउँदै थियो। गर्भदेखि नै अनावश्यक सामाजिक यन्त्रणा, लान्छना, तिरस्कार र विभेदपूर्ण व्यवहारहरू सुन्नु परेर मेरो मस्तिष्कमा नकारात्मक कुराहरू सञ्चित हुन थाल्यो।
त्यस्ता कुराहरूले देब्रे मस्तिष्कमा डेरा जमाउन थालेपछि विचारमा चञ्चलता हाबी हुँदै गयो। अनि मेरो शक्ति र ध्यान विकेन्द्रीकृत भएर साधना भड्कियो।
पूर्ण आनन्दमा रमण गर्ने म सधैं अशान्त हुँदै गएँ।
जन्मेकै दिन हजुरआमाले भन्नुभएको कुराले अझ मलाई निकै बिथोल्यो।
‘ए! छो ::: री नै धिक्कार होस्। दैव पनि कति निठुरी भाका। अब दु:ख पाउन आई यो अभागिनी पनि। छोरी नै जन्मनु थियो त! बरू गर्भ नै खेर गएको भए हुन्थ्यो, संसारको दु:खबाट त बच्ने थिई।’
मलाई मेरी हजुरआमाले माया गरेको हो की हेला छुट्याउन सकिनँ। तर पनि मन अमिलो भयो। हजुरआमाले त्यसो भन्दा बुवाको धेरै याद आयो।
अनि विवश भएर गाउँ नै थर्किने गरी रूँन थालें। एकोहोरो रूवाइले सबैलाई दिक्क बनाउँदै थियो।
पल्लो कोठाबाट हजुराआमाले ठूलो स्वरमा भन्नुभयो।
‘ए भ्यान्टी! आमाको दूधले नपुगेर पो रोएकी होकी। भुँडी हेर त! बरू गाईको दूध पेटभरि खुवाइ दे अबदेखि रोएको सुन्नु नपरोस्, यसरी रोयो भने त अझ दशा लाग्छ।’
म छोरी भएर जन्मेकोमा खुसी कोही थिएनन्। जबर्जस्ती भित्रिएको पाहुना भएको थिएँ। हेर्न आउनेहरू पनि सुगाको जस्तो चुच्चो ओठ बनाएर च्व:च्व :: च्व: गर्थे।
हरेकको बोली एउटै थियो। छोरी :: पो ! हे भगवान ! छोरा भएको भए हुन्थ्यो नि। यस्तो दु:ख परेको बेला जन्मिएको सन्तान त्यो पनि छोरी, छ्या ! दैव पनि छैनन् कि क्या हो?’
सबैले निरास भएर ओठ लेपार्थे। साँच्चै छोरी भएर जन्म लिएकोमा मैले समाजका लागि ठूलै अपराध गरेछु जस्तो लाग्थ्यो। कतै मेरो कारण समाजलाई नै अप्ठ्यारो त पर्दै थिएन? नत्र किन सबैलाई नरमाइलो लाग्दै थियो म छोरी भएर जन्मेकोमा?
सबैले छोरीको साटो छोरा जन्मेको भए हुन्थ्यो, भनेको सुन्दासुन्दै मलाई पनि मेरो जन्म बेकार भएछ झैं लाग्न थाल्यो। सदा प्रफुल्ल रहने म विषादमा रूमलिन थालें। चिन्ता, अनिन्द्रा र छट्पटी मेरा गहना हुँदै थिए।
मलाई घरमा धेरै मान्छेहरू आएको दिक्क लाग्न थालिसकेको थियो। तर पनि भेट्न आउनेको कमी थिएन। एक दिन दुई जना आईमाई मलाई काखमा राख्दै मेरै अगाडि कुरा गर्दै थिए।
‘कस्तो अलच्छिनी रहिछे। निधार पनि कति सानो, यस्तो सानो निधार भएकाहरू त अभागी हुन्छन्, आँखा हात्तीका जस्ता चिम्सा, हातगोडा लोग्ने मान्छेका जस्ता फ्याँ परेका ठूला।
गोबरको थाप्रोमा लात्ती हानेको जस्तो नमिलेको अनुहार। छ्या! छोरी मान्छे त अलि राम्री भएर जन्मेको भए पो हुन्थ्यो। भोलि कसरी बिकाउनु, यस्ता अगतिलो अनुहार भएकालाई। अझ पेटमा आउने बित्तिकै बाउ टोकी, यस्ता सन्तान त पिराहा हुन्छन्। बिहान बिहान यस्ताको अनुहार हेर्दा पनि दिन बिग्रिन्छ।’ मलाई कोक्रामा फ्यात्त राखिदिए।
पहिलो चोटि मेरो कोमल हृदयमा कसैले ठूलो घन ठोकेको थियो। ती पनि कसैका आमा थिए। मेरो जात, जन्म, लिङ्ग मेरो हातमा थिएन।
तर पनि दोषी मलाई नै बनाइँदै थियो।
म चेतनाशून्य भएँ। यस्ता कुराले छातीमा आक्रोशको सुनामी आउँथ्यो, विद्रोह जाग्थ्यो। संवेदना हराएका यान्त्रिक मान्छेहरू संवेदना व्यक्त गर्न आएको देखेर घिन लाग्थ्यो।
विवेकशून्य मानवहरूको भिडमा मैले मेरो बाँकी जीवन बिताउनु पर्ने देखेर कहाली लाग्थ्यो।
मानव नै चेतनशील र सामाजिक प्राणी हो भन्ने कुरामा शंका उत्पन्न हुँदैथ्यो। सबै स्वार्थमा लिप्त थिए। हात्तीका जस्ता देखाउने दाँत नभए पनि दुई जिब्रे मान्छे देख्दै थिएँ। कतिले मुखले ठिक्क पार्थे अनि गाउँभरि नानाभाँति कुरा काट्थे, हिँड्थे।
बाउ टोक्कुई भनेको सुन्नु पर्दा, मलाई मेरा कान सक्रिय भएकोमा पश्चाताप भयो। बरू ईश्वरले कान नसुन्ने बनाइदिएको भए पनि यस्तो लान्छना सुन्नु त पर्थेन।
मलाई अन्धकारले छोप्यो अनि शिवशर्मा ब्राह्मणले प्राण वायु खिचेर आत्महत्या गर्न खोजेको झैं मैले पनि आफ्नै प्राण वायु खिचेर ब्रह्माण्डमा पुर्याउन लागें।
मेरो आँखा कै अगाडि पिताको हत्या भएको देख्दा देख्दै पनि रोक्न नसकेको लाछी सन्तान भएका कारण पिताको मृत्युमा मेरै हात छ जस्तो लाग्यो। अनि प्राय:श्चित गर्न मैले मेरो शक्ति प्रयोग गरेर आफूलाई सिध्याउने योजना बनाउँदै थिएँ। त्यहीबेला घोडा हिनहिनाएको आवाज आयो। म त्यसै-त्यसै भावविह्वल भएँ। आँखा मियोतिर गए ट्क्क अडिए। अन्तिम पटक पिताको मुख हेरेर मर्ने इच्छा जाग्यो।
घोडा मियोमा बाँधेर बुवा मेरो नजिकै आएर बस्नु भयो। मेरो हात हेर्दै आँखाबाट तुरूक्क आँसु खसाउनु भयो। मलाई अलौकिक माया, स्पर्श, प्रेम र स्नेहले लभालव भरेर छताछुल्ल पारिदिनु भयो। त्यो स्नेह आमाबाट पाउन नसकेर म रूखिएको रहेछु। आज तृप्त भएँ।
बुवाले सुस्तरी भन्नुभयो- ‘मेरो राजा बेटा! मेरो बहादुर छोरी! तिमीले यस्ता छिनामसिना र छुद्र कुराहरू सुनेर आफूलाई खतम पार्न लागेको? खोइ त्यो विराट चेतना? यस्ता बुद्धिहीन मान्छेहरूको कुरालाई महत्त्व दिनु हुँदैन। यस्ता वाहियात कुरा सुनेर उडाइदिनू। तिमी त मेरो मान र सम्मान हौ। धर्य गर्नू। तिमी त्यो योद्धा हौ, जो लडाइँमा विजय अवश्य प्राप्त गर्नेछ।’
बुवाका कुरा सुनेर म झसंग भएँ। ओहो! कस्तो बुद्धि आएछ एकैछिनमा। भन्नेले त के के भन्छन् भन्छन्।
‘मलाई माफ गर्नु बुवा मैले त आफूलाई चिनिसकेको छु। तर पनि फेरि किन मलाई संसारका कुराले घोच्यो, किन म बिछिप्त भएँ र आत्महत्या जस्तो जघन्य अपराध गर्न लागें?’
बुवाले फेरि सम्झाउनु भयो- ‘नानी यही हो मायाको संसार। अब तिमीले आफूलाई सदैव सचेत राख्नु पर्छ। यो संसारमा सकारात्मक कामको अभ्यास गर्न संघर्ष गर्नुपर्छ तर नकारात्मक कामको अभ्यास स्वत:स्फूर्त रूपमा आफैं हुन्छ। तिमी जागरूक हुनैपर्छ नत्र तिमीलाई संसारले निल्छ।’
म बुवालाई अनन्त प्रकाशको बीचमा देख्दै थिएँ।
सम्पूर्ण ग्रहहरू नजिकै थिए। अझ वृहस्पतिको त्यो रिङनजिकै पुगेर बुवाले भन्नुभयो-
‘पच्चीस वर्षपछि मात्र तिम्रो र मेरो भेट हुनेछ। मलाई सम्झेर नरूनू तिमी रोयौ भने मलाई यता उकुसमुकुस हुनेछ। तिमी हतास र निराश कहिले नहुनू, त्यसैले तिमी सधैं हाँस्नू।’
म आत्तिएँ अब साँच्चै बुवासँग मेरो भेट हुँदैन त। छ दिन देख्न नपाउँदा त त्यत्रो औडाहा भएको थियो। अब त पच्चीस वर्ष नै तोक्नु भयो हाम्रो भेटघाटको लागि। अनि हेर्दाहेर्दै बुवा अनन्तमा समाहित हुनु भयो…।
क्रमशः
यो पनि:
श्रीमानको अन्तिम चिनो!