‘इज दिस् भेज?’
कोरेको गाँजर र बन्दाले लटपटिएको परिकार देखाउँदै मैले एलोनालाई सोधेँ।
‘एस्’ मेरो नजिकै बस्दै एलोनाले भनि।
पहिलो बाइट निलेँ। तरकारीमा लपेटेको पाउरोटी रैछ। दोस्रो गाँस कस्तो-कस्तो लागेर देब्रे हातमा थुकेँ।
‘ह्वाट इज दिस्’
दाइने हातको कुइनाले एलोनालाई धकलेँ।
‘विफ’
‘मरेस् पागल शाकाहारी मान्छेलाई विफ, पख्! पाउरोटी भित्र खुर्सानी राखेर बदला लिन्छुँ।’
म अलि ठूलै स्वरले कराएँ।
वास्तवमा गल्ती मेरै हो। यो परिकारमा माछा मासु मिसाएको छ कि छैन? भनेर सोध्नु पर्थ्यो। कोरेको गाँजर र बन्दा देखाएर यो भेज हो भनेर सोधेपछि उसले ‘एस’ भन्नु स्वभाविकै हो। उसले खाना खाई, मैले जुसमात्र।
विदेश आएदेखि बाहिर ढुक्कले खाने भनेको तरल पदार्थ मात्र हो। ठोस पदार्थ त जहिले दिगमिग!
एलोना निलो आँखा, कैलो कपाल भएकी रसिएन केटी, म पढ्ने युनिभर्सिटीमा मसँगै पढ्ने, युनिभर्सिटीको पहिलो दिनमै उसँग मेरो चिनजान भयो।
संयोगबस् हाम्रो निवास पनि सँगसँगै भएकोले आउँदा,जाँदा पनि सँगै-सँगै। त्यसैले हामी नजिकिनु पनि स्वभाविकै भयो।
कलेज जाँदा-आउँदा जहिले पनि प्रेम र प्रेमीकै कुरा गर्थी तर उसको धित् कहिल्यै मर्थेन। त्यसैले उसले आफ्ना कुरा सुनाउनैको लागि आज बिदाको दिनमा मलाई लन्चमा बोलाएकी थिई।
फ्रेन्च भाषा बोल्ने स्वीट्जरल्याण्डको जेनेभामा अंग्रेजी बोल्ने साथी पाउँदा आफ्नै दिदी-बहिनीजस्तै लाग्थ्यो।
‘जेनेभा लेकतिर निस्कौं है राम्रो घाम लागेको छ। उतै बसेर गफ गरौंला’, एलोनाले झ्यालबाट बाहिर हेर्दै भनि।
हामी जेनेभा लेकतिर गयौं। निवासबाट जम्मा पाँच मिनेटको दूरी। यताका मानिसहरू घाम लागेको दिनमा घरमा बस्दै नबस्ने,पार्कभरि मानिसहरूको भीड।
ऊ र म जेनेभा लेकको पर्खालमा बस्यौं। चाख्लो तर होचो थियो पर्खाल।
‘अनि निकोलस र तेरो ब्रेकअप कसरी भयो?’, हिजो उसले आधामात्र सुनाएको प्रेम कहानीलाई मैले अगाडि बढाउन भनेँ।
एलोनाले ज्याकेटको देब्रे पकेटबाट लाइटर दाइने पकेटबाट चुरोट झिकी।
उसले चुरोट सल्काउन नपाउँदै म अलि पल्तिर सरेँ।
‘निकोलसले अति चुरोट खान्थ्यो’ एलोनाले आकाशतिर चुरोटको धुँवा फाल्दै भनि।
‘चुरोट त तैंले पनि त खान्छेस्।’
‘पछि सिकेको उसलाई बिर्सन। मात्र तन जोड्नेहरूले छिट्टै बिर्सन्छन् होला तर मन जोडेको मान्छेलाई बिर्सन गाह्रो हुँदो रैछ।’
‘त्यति जाबो चुरोटकै कारणले ब्रेकअप’ मैले बीचमै कुरा काटेँ।
‘पूरा कुरा त सुन सीमा। उसले मायाको नाम दिएर चुरोट खाएकै मुखले मलाई छुन्थ्यो। उसका हातहरू मेरो शरीरको जता पनि पुर्याउन उसले कुनै संकोच मान्थेन, जुन मलाई पटक्कै मन पर्दैन थियो। हेर सीमा त्यही टच ब्याड हुन्छ, त्यही टच बेस्ट। मुख्य कुरा दुवैतर्फी रूचि छ कि छैन भन्ने हो। उसले मायाको नाम दिएर मेरो इच्छाविरूद्ध मेरो शरीर शोषण गरिरहन्थ्यो। उसको उद्धेश्य फरक भएको थाहा भएपछि उसँग टाढिने निर्णय गर्दै नजिकिन छोडेँ।
मैले निकोलसलाई असल प्रेमी र भविश्यमा कियरिङ हजबेन्डको रूपमा चाहन्थेँ जुन मेरो भ्रममात्र रह्यो। उसैलाई भुल्न चुरोटको लतमा परेँ। उसँग भेट नै नहोस् भनेर विदेश पढ्न आएँ। सारै गाह्रो हुँदो रैछ लभमा ब्रेकअप।’
एलोनाले देब्रे हातको चोरी र बूढी औंलाले दुवै आँखा पुछी। दाहिने हातमा अझै चुरोट बाँकी थियो।
‘हेर एलोना लभमा ब्रेकअप हुँदैन। यदि हुन्छ भने त्यहाँ माया नै हुँदैन। केवल स्वार्थमात्र। तँलाई निकोलश कियरिङ हजबेन्डको रूपमा पाउने चाहना थियो भने निकोलशलाई उसको शारीरिक आवश्यकता पूरा गर्न तेरो शरीरको चाहना।’
‘ठिक भनिस् सीमा हामी दुवै जना स्वार्थी रैछौं। म त निकोलशको कारणले यहाँ आइपुगेँ त नि?’
‘म मेरो श्रीमानको कारणले, उसो त म मास्टर डिग्री विदेशबाट गर्छु भन्ने सोच व्याचलर पढ्दा देखि नै थियो। त्यसैले रिजल्ट आउने बित्तिकै स्कलरसिपमा एप्लाई गरेको थिएँ, त्यसको एक हप्तापछि मेरो बिहे भयो। बिहेपछि दिनहरू रमाइलो गरी बितिरहेको थियो कि मलाई नाम ननिसक्किए पनि हुन्थ्यो जस्तो लागेको थियो तर नेपालबाट ममात्र छनोटमा परेछु।
यो खबर सुरूमा ममीलाई सुनाएँ। नेपाली साथी भएको भएँ सन्चो बिसन्चोमा काम लाग्थ्यो। ममीले मेरो नाम निस्केको खुसीभन्दा पनि अरूको नाम ननिस्केकोमा दुःख व्यक्त गर्नुभयो। सासूले त किन जानुपर्यो भर्खर बिहे गरेको मान्छे छोराछोरी जन्माई हुर्काइ पछि पढे हुन्छ भन्नुभयो। तर मेरो श्रीमानले उमेर छ। छोरा-छोरी पछि जन्माए पनि हुन्छ तर पछि स्कलरसिपमा नाम निस्किने ग्यारेन्टी हुँदैन भनेर आफ्नी आमालाई सम्झाउनुभयो। मलाई पढ्न जान फकाइरहनु भयो। अनि म आएँ।’
‘हाउ केयरिङ हजबेन्ड यु ह्याब’ निला आँखा चम्किला बनाउँदै एलोनाले मलाई हेरी।
दिनभरि जेनेभा लेकको पर्खालमा बसेर गफ गरेपछि साँझ परेपछी आ-आफ्नो निवास फर्क्यौं। राति १२ बजेसम्म कलेजको असाइनमेन्ट गरेँ। सुत्नेबेलामा मदनलाई मेसेज गरेँ।
‘मलाई सन्चै छ गुड नाइट।’
परीक्षा आउन दुई महिनामात्र बाँकी भएकोले फोनमा कुरा नगर्ने तर दिनको एउटामात्र मेसेज पठाउने हाम्रो सहमति भएको थियो।
दिनभरी जेनेभा तालको स्याँठले मेरो शरीरलाई भारी बनाएको थियो।
टाउको पनि दुखेको थियो। खाना बनाएर खाना सकिनँ। भोकै बिछ्यौनामा पल्टिएँ। शरीर कमाउँदै ज्वरो आयो। रातभरि सुत्नै सकिनँ। बिहानीपख मदनको भिडिओ कल आयो।
यस्तो विजोग त के देखाउनु दिउँसो अलि बिसेक भएछ भने कलब्याक गर्नुपर्ला। फोनै साइलेन्समा राखेँ।
डोरबेल बज्यो। सकिनसकी उठेर ढोका खोलेँ। एलोना आएकी रहेछ। ममी आएजस्तै लाग्यो।
‘पहिलाको जुनिमा त मेरो आमा थिइस् कि क्या हो नत्र यस्तो बिरामी भएको बेलामा कसरी आइपुग्थिस्।’
‘तँ यति बिरामी हुँदा पनि न त फोन गरिस् न तैंले फोन उठाउइस्’। यस्तै बेलामा त हो साथी चाहिने।’ माया र रिस मिसाएर ऊ कराई।
एलोनाले ज्वरो नापी। औषधि खान दिई। मैले भनेबमोजिम नेपाली तरिकाले जाउलो पकाई। कर गरेर खुवाई। दिउँसोपख हल्का बिसेक भएपछि मदनलाई कलब्याक गरेँ।
‘मेरो परीक्षा नसकेसम्म फोनमा कुरा नगर्ने भनेको होइन।’म हल्का रिसाएको भावले बोलेँ।
‘हो सीमा तर राति कस्तो कस्तो सपना दखेँ त्यसैले फोन गरेको’
म झँसंग भएँ।
‘कस्तो थाहा पाएको। अँ हल्का विसन्चो थियो, अहिले सन्चै छ। मैले हजुरलाई कति पटक भनेँ। मलाई फोन नगर्नु है।’
बोल्न थालेपछि लामै बोलिन्छ। परीक्षा दुई महिना त दैनिक अठार पढ्नुपर्छ। नेपालदेखिकै बानी।
‘हुन्छ तिम्रो पढाइको चिन्ता तिमीलाई भन्दा मलाई बढी लाग्छ’, मदनले फोन काट्नुभयो।
मेरो फोन लाउडस्पिकरमै थियो। हाम्रो कुरा सुनेपछि एलोनाले फेरि आँखा चम्काउँदै भनि ‘हाउ केयरिङ हजबेन्ड यु ह्याब’
‘सीमा म आज तेरोमै बस्छु। अहिले सन्चो जस्तो भए पनि राति च्याप्न सक्छ’, एलोनाले मेरो मनकै कुरा गरी।
‘अनि एलोना तैंले निकोलोसलाई नै सम्झेर दिन काट्छेस् कि अरू कोही छ?’
‘अमममऽऽऽ छ एउटा। मैले सोचेंजस्तै। केही समय भयो।’
‘हो र कहाँ भेटिस्?’
‘फोनमा।’
‘भर्चुयल लभ?’
‘होइन ट्रु लभ भर्चुयल लभर’ एलोना मन्द मुस्काई।
‘दिनदिनै कुरा गर्छेस्?’
‘गर्न त मन लाग्छ तर गर्दैन डिस्टर्ब हुन्छ कि जस्तो लाग्छ। उसैले गर्छ कहिलेकाहीँ। साँच्चै मैले सोचेकोजस्तै छ ऊ।’
‘तैंले मात्रै हो कि उसले पनि माया गर्छ?’
‘माया गरे बापत ब्याजसहित माया नै फिर्ता पाउनु माया के व्यापार हो र?’
‘अनि के हो त?’
‘लोभ, मोह, स्वार्थरहित मिठो अनुभूति, जसले जीवनमा रमाएर बाँच्ने ऊर्जा दिन्छ। खुसीको तरगं सृजना गर्छ। अघि बढ्ने हौसला दिन्छ।’
‘तिमीहरूको भेटघाट हुन्छ?’
‘अहिलेसम्म छैन, छिट्टै भेट्ने छौं। तँलाई पनि भेटाउँछु। हाम्रो कलेजको ग्रयाजुयसनसम्म।’
एलोनाको हेरचाहले म दुई दिनमै सन्चो भएँ।
मेरो परीक्षाको दुई महिनाको समयभरि मलाई चाहिने सामान पनि बेला बेलामा उसैले किनेर ल्याइदिई।
मैले नभने पनि मलाई मनपर्ने खानेकुराहरू र अन्य सामान मैले भनेजस्तै नै हुन्थे। विवाह अगाडि ममी र विवाहपछि मदनले नै हो मेरो सामान किनिदिने। यहाँ आएपछि एलोना।
साँच्चिकै ऊ मेरो पहिला जुनिकी आमा थिई होला।
ऊ नभएकी भए होमसिकले मेरो पढाइ पूरा कसरी पूरा हुनसक्थ्यो होला र!
मेरो कलेजको ग्रयाजुयसनको दुई दिन अगाडि मदन मलाई लिन आउनुभयो। त्यही साँझ मैले एलोनालाई डिनरमा बोलाएँ।
एलोनासँग मदनको परिचय गराएँ।
‘अनि एलोना तैंले कहिले परिचय गराउँछेस् त तेरो साथीसँग एक हप्ताभित्र त हामी नेपाल फर्किसक्छौं।’
एलोनाले आइफोन झिक्दै मलाई उसको साथी र उसले गरेको च्याटिङ देखाई।
‘मैले टेकेको धर्ती भासिएला जस्तो भयो।
‘मैले तँलाई पहिलाको जुनिको आमा सम्झेँ तर तँ त मेरो सौता रैछस्। तिमीहरूलाई लाज छैन।’ मदनतर्फ फर्किएर कराएँ।
‘सीमा तिमीले सोचेको जस्तो हाम्रो सम्बन्ध भएको भए त सबै म्यासेज डिलिट गर्थ्यौं होला। तिमीले मलाई परीक्षा हुनुभन्दा दुई महिना अगाडिबाट फोन नगर्नु भनेकी थियौं। त्यसैले तिम्रो खबर बुझ्न मैलै एलोनाको सहायता लिएँ।
त्यो दिन राति मैले नराम्रो सपना देखेर तिमीलाई फोन गरेको थिएँ नत्र म नियम उल्लंघन गर्ने मान्छे त होइन नि! तिम्रो फोन नउठेपछि मैले नै एलोनालाई तिम्रोमा जान लगाएको थिएँ। तिमी परीक्षाको बेलामा खाना खान पनि बेवास्ता गर्ने भएकाले मैले नै एलोनालाई तिमीलाई मीठो लाग्ने कुराहरू किनेर लगिदिन आग्रह गरेको थिएँ। तिमीले हाम्रो च्याटिङ डिटेलमा पढ्न सक्छौं।’
‘अनि सामान्य कुराकानी थियो भने मलाई किन नभनेको?,’ मैले मदनतर्फ हेर्दै भनेँ।
‘तिमी रिसले परीक्षा नै नदिई नेपाल आयौ भनेनि? मदनले मेरो आँसु पुछ्दै भन्नुभयो।
‘हाउ केयरिङ हजबेन्ड यु ह्याब।’ एलोना मुस्कुराई।
हामी नेपाल फर्कने दिन एलोना एयरपोर्टसम्म पुर्याउन आई। यात्रुहरूलाई भित्र जान एनाउन्स भयो।
‘ल एलोना तिमीलाई तिमीले सोचेजस्तै केयरिङ हजबेन्ड भेटियोस्’, छुट्ने बेलामा उसलाई हग गर्दै भनेँ।
‘ह्याभ अ सेफ जर्नी सीमा’उसले आखाँभरि आँसु पार्दै आफूले बोकेको झोलाबाट सानो उपहार झिकेर मेरो हातमा राखिदिई। एलोनाले मेरो श्रीमानलाई एक्कासि ग्वाम्म अंगालो हालेर निधारमा किस गरी। मलाई पट्क्कै इर्ष्या भएन। किनकि उसले मेरो श्रीमानको शरीरलाई होइन। उसको केयरिङ नेचरलाई प्रेम गरेकी थिई। न पाउने लोभ, नगुमाउने डर।
म पर पुगेर फर्केर हेरेँ। उसले एकटक हामीतर्फ नै हेरिराखेकी रैछ।