आउनु मालिक
सदियौंदेखि चलिआएको
यो चलनलाई निरन्तरता दिनु
यो चलनलाई निरन्तरता दिनु भएन भने
तपाईं मालिक र म कामदार कसरी रहन्छ र?
आउनु मालिक
नांगो मेरो शरीरमा मुक्का प्रहार गर्नु
भोकको रापले ताप निस्किरहेको
मेरो पेटमा लात बजार्नु
मेरो बाध्यतालाई भरपूर प्रयोग गर्नु
कमाउनु तपाईं नै
जमाउनु तपाईं नै
रमाउनु तपाईं नै
र
मेरो पसिनाको
मेरो परिश्रमको
मेरो लगनको
थोरै हिस्सा
थोरै सुविधा
मैले माग गर्दा
मेरो इमान्दारीतामाथि
मेरो नैतिकतामाथि
शंकाको कर्कश आवाजले प्रश्न तेर्स्याउनु।