'दाइ मलाई ठूलो समस्या पर्यो। के गर्ने होला? म त पागल भैसकेँ,' मंजिताको फोन थियो करिब बिहान सात बजेतिर। म बेडमै थिएँ।
धेरैपछि आएको फोन, त्यो पनि एक्कासी यस्तो कुरा सुन्दा मन झसङ्ग भयो। हुन न मलाई उनको व्यक्तिगत जीवनको बारेमा धेरै थाहा थिएन।
हाम्रो चिनजान भएको थियो एडमन्टन बस्ने नेपालीहरूको एउटा सांकृतिक कार्यक्रममा। तर अलिक फरक परिवेशमा।
त्यहाँ उनले एउटा स्टेज डान्स गरेकी थिइन्। उनको डान्स देखेर म निकै प्रभावित भएको थिएँ। निकै प्रशंसा गरेको सुनेर तिलकले भनेको थियो, 'तिम्रै गाउँकी चेली हुन् रे। स्टुडेन्ट भिसामा आएकी। अहिले पढाइ सकेर पीआर लिसकेकी छे।'
उसले 'तिम्रै गाउँकी चेली हो' भन्दा मलाई विश्वास लागेको थिएन। म सरासर स्टेजको अगाडि उनी बसेको ठाउँमा गएँ र सोधेँ, 'बैनीलाई एउटा कुरो सोध्न मन लाग्यो। कुरा गर्न मिल्छ?'
'स्योर, भैहाल्छ नि' भन्दै उनी त्यहाँबाट उठिन् र अलि बाहिर निस्किन्।
'तिम्रो नाँच एकदम राम्रो थियो। मज्जा आयो,' मैले भनेँ।
'ओह! आई अप्रिसियट द्याट,' उनले क्यानेडियन स्टाइलमा भनिन्।
'बैनीको घर नेपालमा कहाँ हो?'
'बाग्लुङ हो दाइ। बट आई ग्रुअप इन इन्डिया,' ऊनले मुसुक्क हाँस्दै भनिन्।
त्योभन्दा धेरै कुरो सोध्न चाहिनँ। उनको हाउभाउले धेरै कुराहरूको उत्तर दिन खोजेजस्तो लागेन।
'यति राम्रो नाँच कहाँ सिकेकी? नेपालमै हो कि इन्डिया?'
मैले यो प्रश्न गर्दैगर्दा उनको अनुहारमा फरक भाव तरंगीत भयो। उनी मेरो पछाडितिर कसैलाई हेर्दै थिइन्। 'एकैछिन है दाइ' भन्दै मेरो प्रश्नको जवाफ नदिई उनी त्यहाँबाट अगाडि निस्किन्। उतै कसैसँग हराइन केहीबेर।
कार्यक्रम लगभग अन्तिम अन्तिम हुँदै गर्दा पशुपति शर्माको गीतमा ग्रुप नाँच झम्किँदै थियो। म पनि त्यही भिडमा मिसिएँ। केहीबेरपछि मंजिता र उनका केही साथीहरू नाच्न आए स्टेज अगाडि। जानी नजानी म पनि उफ्रिएँ।
'दाइ त कस्तो राम्रो नाच्नु हुदो रैछ,' कार्यक्रम सकिँदै गर्दा उनले नजिकै आएर भनिन्।
'केको राम्रो नाच्नु नि, यसो मौका मिलेको बेला भ्यागुतो उफ्रेझैँ उफ्रेको मात्र हो। तिमीहरूजस्तै नाच्ने रहर गर्दै-गर्दै अब त बुढो हुन लाइसक्यो,' मैले हाँस्दै भनेँ।
हामीले कुरा गर्दैगर्दा एकजना युवकले पछाडिबाट हामीलाई नियालेर हेरिरहेको थियो। केहीबेरमै ऊ हाम्रो नजिकै आयो र 'लेट्स गो बेबी' भन्दै मंजिताको हात समात्यो। मंजिता पनि तत्कालै 'बाई' भन्दै ऊसँगै बाहिर निस्किन्।
केटालाई भने मैले चिनिनँ। हेर्दा ऊ नेपाली मूलको हो जस्तो पनि लागेन। मझौलो कद भएको, एसियन मूलको जस्तो देखिने ऊ फिलिपिनो हो कि भन्ने लग्यो मलाई।
पछि मैले तिलकलाई सोधेँ, 'को केटा हो तिमीले चिन्छौ?
'चिन्दिनँ यार। उसको क्रस होला। किन चहियो तिमीलाई?,' उसले हाँस्दै भन्यो।
किन-किन मंजिताका हँसिला आँखा, बोल्ने शैली, सेता चट्ट मिलेका दाँत मेरो मस्तिष्कमा लेपिइसकेको थियो। त्योभन्दा बढी उसको नाचले म निकै प्रभावित भएको थिएँ। गेटबाट बाहिर निस्कँदै गर्दा मैले उनीहरूलाई सेतो भोल्कस्वगन गाडीमा चढ्दै गरेको देखेँ।
केही बेरपछि हामीहरू पनि घरमा फर्कियौँ। त्यो रात किन-किन मेरो मानसपटलमा मंजिताको त्यो अनुहार नाँचिरह्यो। उनको त्यो नाच्ने कला, निर्दोष अनुहार, मिठासयुक्त बोलीले किन-किन मेरो मनमा हलचल पैदा गरिसकेको थियो। त्योभन्दा ठूलो हलचल त्यो युवक र उसलाई देख्नासाथ उनको अनुहारमा देखिएको भावले।
अर्को दिन उनलाई मैले फेसबुकमा सर्च गरेँ। थुप्रै मंजिताहरूको भिडमा उनलाई भेट्टाउन खासै धेरैबेर लागेन। सलक्क परेको कपाल खुल्ला छोडेर कुनै लेकको किनारमा उभिएको फोटो थियो उनको प्रोफाइल पिक्चर। उहीँ हाँसो, तिनै सुन्दर आँखा चिन्न धेरै बेर लागेन। प्रोफाइलमा स्क्रोल गर्दै उनले पोस्ट गरेका स्टाटस र फोटाहरू एकतमासले हेर्दै र पढ्दै गएँ।
उनका केही साथीहरूको लिस्टमा मेरो गाउँकै केही मान्छेहरू पनि थिए। तर मलाई उनीहरूप्रति खासै चासो थिएन। म केवल एउटा तस्बिर र त्यसले खोतल्न सक्ने रहस्य खोजिरहेको थिएँ। तर मैले कतै पनि त्यो फोटो भेटिनँ न त्यससँग सम्बन्धित कुनै स्टाटस।
त्यति नै बेला मैले उनलाई फ्रेण्ड रिक्वेस्ट पनि पठाएँ।
कैयौँ दिनसम्म पनि मेरो रिक्वेस्ट स्वीकार भएन। मैले घरीघरी उनको प्रोफाइल हेरिरहन्थेँ। यस्तो कौतुहलता किन उब्जेको थियो मेरो मनमा, कहिलेकाँही त आफैलाई अचम्म लाग्थ्यो। मैले कैयौँ साथीहरूलाई उसको बारेमा सोधेँ पनि कतै उनीहरूले चिन्छन् कि भनेर।
'उसको साथीहरू सबै इन्डियन, चाइनिजहरू छन्। खासै नेपालीहरू उठबस गरेको देखिँदैन। बस्नलाई चाहिँ साउथगेट मल नजिकै बस्छे,' रबिनले एकदिन मसँग भनेको थियो। तर वर्षदिनसम्म पनि मैले सम्पर्क गर्न सकिनँ। न फेसबुक काम लाग्यो न म्यासेन्जर। न साथीहरू नै।
त्यसपछि म एडमन्टनदेखि टोरोन्टो मुभ गरेँ। विस्तारै मंजिता पनि मेरो सम्झानाबाट उप्किएर उतै कतै हराइन्। हुन त म उनीसँग राम्रोसँग परिचित पनि थिइनँ। न उनलाई म प्रेम नै गर्थेँ न मेरो सम्बन्ध शारीरिक आशक्तिसँग जोडिएको नै थियो। तर पनि के कुराले उनीप्रति आकर्षित गर्यो म आफू नै रनभुल्लमा थिएँ।
दिनहरू बित्दै गए। कोरोनाले संसार थला पार्दै थियो। एकदिन साँझतिर तिलकले फोनमा भन्यो, 'तिमीले सोधिराख्ने नानीसँग आज मेरो जम्काभेट भयो। मैले तिम्रो बारेमा मज्जाले सुनाइदेको छु। फोन नम्बर दिउँ?'
ऊ बेलाबखत मजाक गर्ने साथी हो। मलाई लाग्यो उसले मजाक नै गरेको होला।
'हावा गफ नदेऊ न यार। बरु तिम्रो के छ सुनाऊ?,' मैले भनेँ।
'हावा सावाको कुरा होइन। यदि नम्बर चाहियो भने भन,' उसले दोहोर्याएर भन्यो।
'लु न त टेक्स्ट गर अहिले नै। त्यत्तिकै गफ दिन्छस्।'
उतीखेरै ट्याङ्ग गर्दै म्यासेज आयो। हेरेको साँच्चीकै फोन नम्बर पो रहेछ। त्यसपछि छिटो-छिटो कुरा टुङ्गाएँ। फोन नम्बर मोबाइलमा सेभ गरेँ।
एक हप्तासम्म फोन डायल गर्छु भन्दाभन्दै यत्तिकै बित्यो। यो अवधिभर खुराफाती दिमागले के-के सोच्यो सोच्यो। आँटै आएन फोन गर्ने। मनमा अनेकन कुरा खेल्न थाले। चिन्ली कि नचिन्ली? के सोच्ली? के भनेर कुरा गर्नु?
जे पर्ला-पर्ला भनेर एकदिन बिहानै फोन गरेँ।
पहिले त उनले चिनिनन्। एकछिन कुरा गरेपछि हो कि, हैन कि जस्तो उनको बोलीको भावले देखायो। मनमा भएको उकुसमुकुस एक्कासी बेलुनको हावा खुस्केझैँ फुस्स भयो। तत्कालै उनले 'बाहिर निस्कँदै छु, पछि कुरा गरौँला' भनेर फोन राखिन्।
त्यसको दुई दिनपछि सोही नम्बरबाट फोन आयो। 'अस्ति तिलक दाइसँग कुरा भएको थियो। हजुरले मेरो बारेमा सोध्नु भएको थियो रे। आई अल्मोस्ट फोर्गेट। सोरी अबाउट द्याट।'
'केही छैन। तिमी आफ्नै गाउँको भएकोले सोधेको थिएँ। अरु खासै केही होइन,' मैले भनेँ।
'हजुर टोरोन्टो कहाँ बस्नुहुन्छ? हामीहरू पनि मुभ गर्ने कि भनेर सोच्दै छौँ।'
मैले आफू बस्ने लोकेसनदेखि उनले सोधेका सबै कुराहरूको जवाफ दिएँ। मैले सोध्ने कुरै भेटिनँ।
नभन्दै त्यसको तीन महिनापछि उनी टोरोन्टो सरिछन्। डाउनटाउनमा कोठा रहेछ। त्यो कुरा धेरैपछि उनैले फोन गरेर मात्र थाहा पाएको थिएँ।
टोरोन्टो सरेपछि हाम्रो भेट भएको थियो नेपालीहरूको एउटा कार्यक्रममा। मैले सोचेको थिएँ त्यो मेलामा पनि उनले एडमन्टनमा झैँ डान्स गर्नेछिन्। तर त्यहाँ उनलाई निकै फरक रुपमा देखेँ मैले। अनुहार ओइलाएको सागझैँ निराश, कपाल पनि पछाडि लगेर बानेको, निलो प्यान्टमाथि अलि खुल्ला टिसर्ट। दुई/तीन वर्षमै यति ठूलो परिवर्तन। म छक्क परेँ।
'बैनीको शो छैन आज?' मैले भेट्नासाथ् सोधेँ।
'छैन नि। कोसैलाई त चिनेको छैन। त्यसमाथि भ्याउँदा नि भ्याउँदिनँ। आज त कामबाट सिधैँ आएको हस्पिटल नजिकै भएकोले।'
'काम चाहिँ कहाँ गर्छौ?'
'नजिकै छ हस्पिटलमा। रोटेसन भैरहन्छ।'
उनी नर्स रहिछन् भन्ने कुरा उनले भनेर पहिलो पटक थाहा पाएँ। मलाई अलिकति उनको व्यक्तिगत कुरा जान्न मन लाग्यो र सोधिहालें।
'हामी टोरोन्टो सर्दैछौँ भनेर फोन गरेकी थियौ। हामी भन्नाले को-को सरेको?'
म मात्रै हो। अरु को हुनु नि!' यसो भन्दै गर्दा उनको अनुहारमा कुनै खुसी थिएन। मैले एकछिन कतै बसेर कफी पिउनको लागि अफर गरेँ। उनले पनि 'नाइँ' भनिनन्। त्यसपछि दुवैजना नजिकैको टिमहर्टन गयौँ। त्यहाँ हामी कफी लिएर धेरै बेर गफ गर्यौं। त्यही मौकामा मैले एडमन्टनमा देखेको केटाको बारेमा पनि सोधेँ।
उनले त्यहाँ मसँग धेरै कुराहरू सेयर गरिन्। मलाई यति धेरै कुराहरू खुलेर गर्लिन् झैँ लागेको थिएन।
'त्यो केटा कोरियाको हो। ऊसँग मेरो भेट कलेजमा भएको थियो। पूरै क्लासमा नेपाली विद्यार्थी म मात्रै थिएँ। पछि ऊसँग चिनजान भयो। पहिले त नेपालीजस्तो ठानेर मैल ऊसँग परिचय गरेकी थिएँ। तर हैन रैछ। पछि हामी साथी भयौँ। उसले पनि मलाई पढ्न निकै सहयोग गर्यो। विस्तारै हामी नजिकिँदै गयौँ। एकअर्कालाई प्रेम गर्न थाल्यौँ। हामी सँगै बस्थ्यौँ।
ग्राजुयशनमा उसले प्यारेन्ट्स बोलाएको थियो। त्यही बहानामा ऊ अलग कोठा लिएर बस्न थाल्यो। विस्तारै उसले मसँग सम्पर्क पनि टुटायो। त्यसपछि मलाई डिप्रेसन भयो। सोसल मिडिया पनि बन्द गरेँ। एकजना अङ्कल हुनुहुन्थ्यो, उहाँले पछि धेरै हेल्प गर्नुभयो।
त्यसपछि किन-किन मलाई त्यो ठाउँमा बस्न मन लागेन। त्यसैबेला तिलक दाइसँग पनि भेट भयो। उहाँले हजुरको बारेमा भन्नुभयो र हजुरको फोन नम्बर पनि दिनुभयो। त्यसैले त मैले कल गरेकी।'
उनको कुरा सुनेर मन भरङ्ग भयो। विछोडको पीडा भोग्नेलाई बाहेक अरुलाई के थाहा? हुन त समयले सबै कुराको ढिलोचाँडो उपचार त गरी नै हाल्छ। तर पनि छातीभित्र बसेको दाग आफूले बाहेक अरुले देख्ने हैन।
'अहिले एक्लै बस्छौ कि साथीसँग?'
'मुम्बईमा सँगै पढेको साथी भेट भएको छ। ऊ र म लिभिङ टुगेदरमा छौँ।'
उनको कुरा सुनेर लाग्यो मेरो र उसको सोचमा आकाश पातालको फरक छ। ऊ निर्धक्कसँग यस्ता कुरा गर्दैछे जुन कुराहरू सुन्न समेत असजिलो भैरहेको मलाई। त्योभन्दा धेरै कुराहरू सोध्ने आँट गरिनँ।
'फोन गर्दै गरे। मिल्यो भने घरतिर पनि आऊ' भन्दै हामी छुट्टियौँ।
त्यसपछि भने हामीबीच आक्कलझुक्कल कुरा हुन्थ्यो। मैले उनको व्यक्तिगत कुराहरू धेरै सोध्न नि चाहिनँ।
एकदिन बिहानै उनको फोन आयो।
'दाइ, मलाई ठूलो समस्या पर्यो। के गर्ने होला? म त पागल भैसकेँ।'
'के भयो? किन यसरी आत्तिएकी?
'राजेश एक हप्तादेखि बेपत्ता छ। उसका साथीहरू कसैको सम्पर्कमा पनि छैन। फोन पनि उठ्दैन,' उनले रुँदै भनिन्।
राजेश भन्नासाथ ऊसँग लिभिङ टुगेदर बस्ने केटा होला भन्ने लख काटेँ मैले।
'पुलिसलाई खबर गर्यौ त?'
'पुलिसलाई रिपोर्ट गरेको उल्टै मलाई घरबाट निस्कन दिएको छैन। ढोकामा पनि पुलिस उभिएको छ। अब के गर्ने होला?'
'नआत्तियौ। सबै ठिक हुन्छ,' मैले भनेँ।
'एकचोटि आउनुस् न दाइ। मेरो अरु कोही छैन,' भन्दै उनले फोन काटिन्।
त्यो दिनभर मनमा नानाथरी कुराहरू खेले। एकमनले भन्थ्यो 'अरू बारेमा केको टेन्सन लिने!' फेरि अर्को मन भन्थ्यो, 'आफ्नै गाउँ ठाउँकी चेली हो, केही सहयोग गर्न सकिन्छ कि?'
बिदाको दिन भएकोले एकजना साथी र म त्यहाँ गयौँ। हामी पुग्दा दुई जना पुलिस ढोका बाहिर उभिरहेका थिए। उनीहरूले हाम्रो सबै विवरण मागे। तर भित्र पस्न दिएनन्। हामीहरूले घटनाको बारेमा सोध्दा उनीहरूले अनुसन्धान जारी भएकोले केही कुराहरू बताउन नमिल्ने भने। राजेश भने हस्पिटलको ट्रमा सेन्टरमा भएको र उसलाई गोली लागेको कुरा गरे। अन्य कुराहरू अनुसन्धानको क्रममा भएकोले भन्न नमिल्ने भने।
'मैले नजिकको सम्बन्ध हो। एकपल्ट मंजितासँग भेट्छु' भनेर पटक-पटक अनुरोध गरेपछि उसले रेडियोमा एकछिन कुरा गर्यो र पछि आफ्नै प्रत्यक्ष निगरानीमा भेट्न दियो। मैले भेट्दा मंजिता एकदम डराएकी थिइन्।
एकैछिनमा अर्को एक महिला प्रहरीले मलाई बाहिर बोलाई र उनीहरूले कोठाको सर्च गर्न लागेको कुरा जानकारी गराई। हामीहरूलाई ढोकाको एउटा कुनामा उभिन भने। उनीहरूसँग एउटा कुकुर पनि सँगै थियो। कुकुर घरीघरी बाथरुमभित्र जाने र निस्कने गरिरह्यो। प्रहरीहरूले बाथरुमका सबै क्याबिनेटहरू चेक गरे। तर पनि कुकुर बारम्बार भित्र-बाहिर गरिरह्यो। त्यसपछि उनीहरूले त्यहाँको ऐना हटाए। ऐना हटाउनसाथ कुकुरले भित्तो कोपर्न थाल्यो।
ऐनाको पछाडिको ड्राइवाललाई क्यामेराले स्क्यान गरे। त्यहाँ एउटा सानो डोरी झुन्डिएको थियो। महिला प्रहरीले त्यो डोरी तानी। डोरीसँगै ड्राइवाल पनि निस्कियो। त्यहाँबाट उनीहरूले प्लास्टिकका केही झोलाहरू निकाले। त्यसपछि उनीहरूले बेडरुम, किचन सबैतिरको खोजतलास गरे। त्यति नै बेला अनुसन्धानको लागि भनेर मंजितालाई पनि आफूहरूसँगै लगे।
हामी घर फर्कियौँ।
दुई दिनपछि नयाँ नम्बरबाट फोन आयो। प्रहरीको फोन रहेछ। उसले मसँग झन्डै बिस मिनेट जति कुरा गर्यो।
प्रहरीका अनुसार राजेशलाई अबैध लागु पदार्थको कारोबार गर्ने गिरोहको एक टोलीले उडबाइन सबवे स्टेशन नजिकै गोली हानी हत्या गरेको रहेछ। प्रहरीले उद्धार गर्ने क्रममा उसको शरीरबाट एउटा पिस्तोल र दुई किलो 'बाथ साल्ट अर्थात् जोम्बी ड्रग्स' फेला पारेको रहेछ। तर उनीहरूले यो घटनामा वा ड्रग्सको कारोबारमा मंजिताको कुनै सम्बन्ध नरहेकोले उनलाई रिहा गरेको भन्यो।
राजेशको हत्या सम्बन्धमा यदि मंजिताले चाहेको खण्डमा अदालतमा केश दर्ता गर्न सक्ने र त्यसको प्रक्रियाको बारेमा समेत भन्यो।
मैले तुरुन्त मंजितालाई फोन गरेँ र सोधेँ, 'राजेशले के काम गर्थ्यो?'
'पहिले त ट्राभलको बिजनेस थियो। पेन्डामिकले गर्दा धन्दा बन्द भयो। देन हि वाज डुइङ सम काइन्ड अफ मार्केटिङ। इट्स अन्बिलिभेबल। रातिमा पनि कहिले पार्टी त कहिले कम्पनीको मिटिङ भनेर अबेर घर फर्कने गरेको' उनले बताइन्। तर उसले लागु पदार्थ सेवन गर्ने नगरेको भन्ने कुरा उनले बारम्बार दोहोर्याइन्। मलाई भने घटनाको परिदृश्य हेर्दा उनको कुरामा विश्वास लागेन।
'हाउ इज इट पोसिबल?' मैले सोधेँ।
उनले कसम खाँदै भनिन्, 'स्वेर टु गड, आई नो नथिङ।'
मैले पनि लिभिङ टुगेदरमा भएकोले कानुनी झन्झटमा नफस्न सल्लाह दिएँ। उनको लागि त्यो निकै झन्झटिलो र खर्चिलो पनि हुन्थ्यो। त्योभन्दा ठूलो कुरा त उसले मंजितालाई ठूलो धोका दिएको थियो। केको लागि न्याय खोज्नु? एक अर्थमा राजेशको मृत्युले मंजिताको जीवन बँचेको जस्तो लाग्यो।
उनले पनि त्यसै गरिन्। तुरुन्तै उनी त्यहाँबाट डेरा सरेर बर्चमाउन्टमा बस्न थालिन्। स्कार्बोरो जनरल हस्पिटलमा काम सुरु गरेकी छन् रे।
धेरैपछि उनले हिजो साँझ फोन गरेकी थिइन्। निकैबेर कुराकानी पनि भयो।
'कोही साथी भेटायौ कि एक्लै छौ?,' मैले जिस्काउँदै सोधेको थिएँ।
उनी धेरैबेर हाँसिरहिन्। मैले उनको हाँसो रोक्न चाहिनँ।
हाँसो रोकिएपछि जिस्केको शैलीमा उनले भनिन्, 'अहिले चाहिँ नेपाली नै भेटेकी छु। त्यो पनि आफ्नै गाउँको।'
त्यसैबेला ढोकाको घन्टी बज्यो। फोन होल्डमा राखेर ढोका खोल्न तल ओर्लिएँ। बाहिर पानी परिरहेको थियो। घरअगाडि म्यापलको रुख निथ्रुक्क भिजेर हरिया पातका कोछ-कोछहरूबाट पानीका थोपाहरू विस्तारै तल खस्दै थिए।
तत्कालै चुइक्क गर्दै ढोका बन्द भएको आवाज सिँढीमाथि चढ्दै गयो। मैले फोन पुन: कानमा लगेर 'हेलो' भने। आवाज शून्य थियो। फोन त अघि नै कटिसकेको पो रहेछ।