भिसा पाएको दिन
भविष्य सम्झिएँ
रोएँ!
जहाज चड्ने दिन
विगत सम्झिएँ
रोएँ
तनखा बुझेको दिन
अभाव सम्झिएँ
रोएँ
कार्ड पाएको दिन
सङ्घर्ष सम्झिएँ
रोएँ
पासपोर्ट त्यागेको दिन
देश सम्झिएँ
रोएँ
सबैथोक पाएँ
धेरैथोक गुमाएँ!
ए सपना!
अब मलाई घरीघरी गाउँ नदेखा
म यतैको हुँ!
नालनातो, बाआमै नदेखा
पर्व र चाँड नदेखा
नदेखा, नदेखा मलाई
रोपेका खेत नदेखा
पढेका स्कुल नदेखा
ढुङ्गा बोकेर बनाएको थिएँ चौतारी
भो त्यहाँका
बर-पिपल नदेखा!
उतै केही गर्ने
विषय र संभावना नदेखा
म त मन भत्काएर हिँडेको यात्री हुँ
फर्किने बाटो नदेखा
मलाई एकफेर
खुसी देखा, हाँसो देखा
सुखले बाँच्ने बाटो देखा
म पूर्वनेपाली हुँ
ए सपना
मलाई बारम्बार जन्मिएको माटो नदेखा!