बेलाबेलामा दाँत सफा गर्न
डेन्टिस्टले बोलाउँदै गए
अनि अचानक दाँत दुख्न थाल्यो
डेन्टिस्टले कति प्वाल टाले
कति इमप्लान्ट गरे
टम्म मिलेका त्यति राम्रा दाँत
एउटा-एउटा गर्दै झर्न रोकिएन
मर्ने बेलासम्म त केही गरी पनि
एउटै जोगाउन सकिएन
पहिले धमिलिएर परको ठम्मिएन
अहिले यहीँ नजिककै अक्षर बुझिएन
आँखाको डाक्टरले पावर थप्दै लगे
थोपा-थोपा आँखामा हाल्नू भने
त्यति तेजिलो आँखा अब देखिएन
मर्ने बेलासम्म त केही गरी पनि
सहिसलामत राख्न सकिएन
सिधासिधैँ थियो अब बाङ्गिन थाल्यो
लड्यो कि हातगोडा भाँच्चिन थाल्यो
हड्डीको डाक्टरकहाँ जानै पर्यो
ब्याक सपोर्ट, नेक सपोर्ट गर्दै
घुँडा पनि फेरे अपरेशन गर्दै गए
चक्की र क्याप्सुल थप्दै गए
लौरो र केनले शरीर थाम्दाथाम्दै
मर्ने बेलासम्म त केही गरी पनि
ठाडो भइ हिँडन सकिएन
फेरिरहुन्जेल ठिक छ
फेर्न गाह्रो भएपछि सास
बिरामी भएँ कि जस्तो लाग्ने
अनि फेरि डाक्टरकै आश
अनि त डाक्टरले यो शरीर
नाप्ने जाँच्ने पत्ता लगाउने
जोख्ने, घोच्ने, परिक्षण गर्ने
डाक्टरले औषधी नगरेको, नफेरेको
अब कुनै अङ्ग बाँकी छैन
मर्ने बेलासम्म त यो शरीर
यस्तो लाग्छ अब आफ्नै हैन।