आमाको गर्भमा नै बुवाको हत्या भएको देख्नु पर्यो। खुकुरी र भालाको प्रहारले रगतको खोलो बगेको थियो। आफैं जिउँदो लास भएका आफन्तहरू मरणासन्न हुनु भएको पितालाई लिन आए। अनि हतार हतार अस्पतालतिर दौडाए। बुवाको शरीरबाट बगेको रगत देखेर म आत्तिएँ अनि ग्वाम्ल्याङ्ग अंगालो मारेर बुवाको घायल शरीरमा अघिदेखि टाँसिएको रहेछु। बुवालाई झोलीमा राख्दा पो चाल पाएँ। ढुकढुकी अझै चलिरहेको रहेछ।
पिताको राप, ताप र सौर्यले पो ममा अदम्य साहस र ऊर्जा आएको रहेछ।
म निर्भीक र शक्तिशाली भएको त पिताको छायाले छोएर पो रहेछ। जब शिरबाट पिताको हात ओझेल पर्यो म गल्दै गएँ।
मृत्यु निश्चित थियो मैले देखिसकेको थिएँ।
तर अरू आशावादी भएको देखेर म पनि एकछिन भ्रमित भएँ।
पुनः मेरो विराट चेतना उजागर भयो। अनि मैले हरेस खाएँ। भविष्य थाहा पाउनु निकै कष्टकर हुनेरहेछ। मलाई त्यहाँ बसिरहन मन लागेन। मलाई झल्याँस्स आमाको याद आयो। लर्खराउँदै आमा भएको ठाउँमा गएँ। आमा बेहोस् भएको कारण तत्काल गर्भमा छिर्न सकिनँ।
अनि आँगनको मियोमा चुपचाप आमाको होस फर्कने आशमा बसिरहेंँ।
कृष्णपक्षको चन्द्रमा जस्तै मेरो शक्तिहरू शनै:शनै: ह्रास हुन थाल्यो। मेरो जम्मै चेतना र सामर्थ्य ओइलाउन लाग्यो।
म मियोको टुप्पोमा बसिरहन सकिनँ। भाउन्न भएर रिंगटा लाग्यो; अनि टुप्पोबाट एकैचोटि फेदमा थचारिन पुगेँ।
भीमकाय पहाडहरूलाई सम्पूर्ण हिमाल पग्लेर सिनित्त बगाए झैं, पिताको हात समातेर हिँड्ने मेरा तमाम सपनाहरू बगाएको थियो।
परिवारमा पिताको वैभव र प्रभाव सेलाउने निश्चित थियो। जरा सुकेको रूखझैं हुँदै थियौं, बुवाको अभावमा जसले जसरी पनि प्रयोग गर्न सक्ने।
पिताको हात र साथ छुटेर त होला, मलाई नियतिले लछार पछार पार्यो। गर्भमै आक्रान्त हुनु पर्यो। हत्या र छलछाम देख्नु पर्यो। मेरो तागत हराउँदै गयो, म निरिह र लाचार हुँदै झोक्राइरहेको थिएँ। म शिथिल हुँदैथिएँ, मेरा आँखा धमिला भए।
अचानक दक्षिणतिरबाट सेतो घोडा बेतोडले आयो। घोडामा एउटा मान्छे पनि थियो।
अनन्त प्रकाश छरिएको अदभूत दृश्य। मेरा आँखाहरू अनायासै बन्द भए। औंसीको रातमा हजार सूर्य एकैचोटि उदाए। म छक्क परेंं। उज्यालै- उज्यालो मात्र उज्यालो। त्यस्तो प्रकाश आमाको गर्भमा मात्र देखेको थिएँ। गर्भभन्दा बाहिर पनि अनन्त प्रकाशलाई देखेर मधहोस भएँ। सेतो पहिरन, सेतो च्यादरले अनुहार छोपेको।
अग्लो आकृति नजिकै आयो, ठ्याक्कै देवदूत।
मियोको फेदमा पीडा र अत्यासले म तुहिन लागिसकेको थिएँ। अस्तित्व समाप्त हुन आँटिसकेको थियो। मेरो दिन कहाँ सकिएको रहेछ र! पवनको मीठो स्पर्सले सेतो बर्को स्वाट्ट उघार्यो। स्पष्ट देखें चिरपरिचित मुहार। म चिच्याएँ।
‘बुवा! तपाईं!’ बुवा हाँस्नु भयो। अँ::
म खुसीले उफ्रिएँ। अघिसम्म मैले बोलेकोसम्म नसुन्ने मेरा पिता अचानक मेरो आवाज सुनेर दोहोरो वार्तालाप गर्दै हुनुहुन्थ्यो। हतार हतार बुवाका शरीर जम्मै हेरें। घाउ कतै थिएन। रगत कतै देखिनँ। म नाच्न थालें। नाच्दा नाच्दै टक्क अडिएँ अघि कतै सपना त देखेको होइन,
बुवाको हत्याको? सत्य ठम्याउन मुस्किल हुँदै थियो।
मेरो बुवालाई केही भएको छैन। म विश्वस्त हुन खोज्दै थिएँ। म खुसीले उड्न खोजें, सकिनँ।
मैले गुहार मागेँ - पिताजी म उड्न सक्दिनँ, म उठ्न पनि सक्दिनँ।
बुवा नजिकै आउनु भयो।
मलाई सेतो बर्कोले झ्वाम्म झोप्नु भयो। खोइ कसरी हो म पुनः ऊर्जाशील भएँ।
ठूल्ठूला काला आँखाले हेर्दै घोडा हिनहिननायो। बुवाको काँधमा म पूर्ववत् बसें। घोडा बेतोडले दक्षिणतिर बत्तियो।
म तीनछक्क परें। हामीभन्दा अगाडि बुवाको लास आर्यघाटतिर लगिँदै थियो। घर भित्रका जम्मै अचेत थिए। त्यो बेला सूर्योदयमै सन्ध्या भएको थियो तर पनि दियो कसैले बालेनन्। गाउँ नै बेहोस थियो। बजार ठप्प थिए। सदरमुकाम हल्लिएको थियो। हत्याराहरू र विरोधीहरू पनि निराश र शिथिल थिए।
मणि हराएझैं सबैको अनुहारबाट कान्ति हराएको थियो। अकल्पनीय हत्या सुन्नु र देख्न परेर मान्छे पत्थर भएका थिए। जिल्लामा सन्नाटा छाएको थियो।
एक कान दुई कान मैदान समाचार सामाजिक सञ्जाल नभए पनि सामाजिक सद्भावले चारै दिशामा घटना भाइरल भयो।
कालो बादल आकाशमा मडारिए पनि पानी बर्सन सकेको थिएन। सायद पानी पनि बरफको चट्टान भएर बादलमुनि लुकेको थियो।
सबैको मुटुमा डरलाग्दो ऐंठन परेको थियो तर पनि कर्तव्यले गाँजेका हात र खुट्टाहरू लथारिँदै आर्यघाटतिर लम्किँदै थिए। विपत्तिमा मान्छेले खुट्टो टेकेको देख्दा मान्छेको सहनशीलताको विशालतालाई बुझ्दै थिएँ। मान्छेका अनेक रूप देख्दै थिएँ।
विचित्रको दृश्यले मलाई भावुक बनायो। बुवा आफैं आफ्नो मलामी जाँदै हुनुहुन्थ्यो। मुहारमा दु:ख पीडा कतै थिएन। म पनि आमाको गर्भबाट नै बुवाको मलामी जाँदै थिएँ। यो कस्तो संजोग? किन ईश्वरले यस्तो परीक्षा लिएका होलान्? आकाशबाट पानी नपरे पनि आँखाबाट झरेको झरीले सबैका आँगन भिजेका थिए।
हेर्दा हेर्दै पिताको शरीरलाई आगोले खायो, निखार्यो। अस्तु मात्र बाँकी भयो। हामी अलमल पर्दै थियौं। एकातिर बुवा मसंँग हुनुहुन्थ्यो अर्कोतिर बुवाको खरानी मात्र थियो। मलाई गर्भमा नै सत्यको बोध भयो आत्मज्ञान प्राप्त भयो। नाशवान शरीर र अमर चेतनाको विज्ञान थाहा पाएँ। अनि बुवाको सूक्ष्म शरीरलाई अंगालो मारें।
एक युगलाई पोलेर सबै फर्किएका थिए। लास जलाएको ठाउँमा हामी एक युगलाई समेट्ने कोसिस गर्दै एकछिन मडारियौं।
एक्कासि झल्याँस्स हुँदै बुवाले घर र आमालाई सम्झिँदै भन्नु भयो - ‘हिँड् कान्छी! तेरी आमा अझ बेहोस छ। गएर उठाऊँ। जन्मेपछि मृत्यु निश्चित छ। बुझ्दिन तेरी आमा! तेरो र मेरो भाषा पनि त बुझ्दिन।’ बुवालाई आमाकै चिन्ता थियो।
नहोस् पनि किन घरभरि भान्टाङ्गभुन्टुङ्ग थिए।
सहज मृत्युलाई त मान्छेहरूले स्वीकार्न नसकेर विछिप्त हुन्छन् भने यहाँ त अकल्पनीय हत्यालाई कसरी भुल्न सक्छन्?
मेरी आमाको पहाड जस्तो जीवन र पिताको अभावमा टुहुरा भएका सन्तानलाई देखेर मेरा आँखा जलमग्न भएछन्।
बुवाले भन्नुभयो- ‘कान्छु किन आँखा भिजाएकी? तेरी आमालाई पनि चाँडै आत्मज्ञान मिल्नेछ। अनि बल्ल शान्ति पाउँछे। जीवन र मृत्युको रहस्य थाहा पाएर प्रबुद्ध हुने छे। तिमीहरू सबैले आत्मज्ञानको मार्गमा हिँड्नू, जीवन उत्सव बन्ने छ।’
बुवाको अमृत वाणी सुन्दै चुपचाप बुवाको पछिपछि म हिँडिरहेँ।
बजार र गाउँ शोकाकूल थियो। सबैका घरमा आगो निभेको चिसो चुल्हो थियो। कहालीलाग्दो वातावरण, कहिले नओइलाउने मखमलीका फूल र दुबो पनि एकै दिनमा ओइलाएका, घरआँगन विरक्त लाग्दो, एकोहोरो शंख फुकेकोजस्तो। ध्वनी चारैतिर गुन्जिरहेको थियो।
यस्तो उराठलाग्दो आँगनमा बुवाले मलाई एक्लै छोडेर आफू चाहिँ फुत्त उड्नुभयो।
घोडा आकाश मार्ग हुँदै स्वर्ग लोकतिर बिलुप भयो। म एकोहोरो आकाशतिर हेरिरहें।
आमा जिउँदो लास भएर ढलिरहेकी थिइन्। अरू भुराभुरी घरभरि कल्याङ्ग मल्याङ्ग गर्दै थिए। म फुत्त आमाको गर्भमा पस्न सफल भएँ। आमालाई छ दिनका दिन होस् आयो।
पृथ्वी न हो आमा ! सबै सहँदै जानुभयो।
मन लागे पनि नलागे पनि कर्तव्यको जंघार तर्न कम्मर कस्नु भयो। होस फर्किएपछि गहिरिएर सोच्नुभयो। अब यी लालावालाहरूको लागि बाँकी दिन बिताउने छु। आमाले दृढ संकल्प गर्नु भयो।
म खुसी भएँ।
विस्तारै म गर्भमा आएको सबैलाई थाहा भयो। आमालाई सल्लाह दिनेको कमी थिएन।
मैले अभिमन्यूले झैं गर्भबाटै सबैका कुरा सुनिरहेको थिएँ।
‘आ! घरभरि छोरी नै छोरी छन् फेरि पनि छोरी भयो भने? बरू अमिलो खाइदेऊ, गर्भ खेर जान्छ अनि ढुक्क हुन्छ।’
अर्को महिला स्वर सुनें- ‘होइन, किन तुहाउनु गर्भ न छोरै पो हुन्छ कि, छोरी भए पनि अलि दिनमा अर्काको घर गई हाल्छे छोरा भए दुई भाइ मिलेर बस्छन्।’
मलाई चिच्याएर भन्न मन थियो। बरू गर्भ मै मलाई मार, म आउन पनि चाहन्नँ यो घिनलाग्दो मानव बस्तीमा। तर कसैले सुनेनन्। त्यो दिन मभित्र छट्पटाइरहें, रोएँ। आमा भावशून्य आँखाले एकोहोरो खोलातिर हेरिरहनु भएको थियो।
घोडा हिनहिनाएको आवाज आयो। म खुसी हुँदै फुत्त गर्भबाट निस्किएँ। घोडा मियोमा बाँधेर बुवा माथि आउनु भयो। मेरा आँखा लालगेडी जस्तै भएका रहेछन्। ग्वाम्म अँगालो मार्नु भयो। आँखा, गाला र अनुहारमा चारैतिर म्वाई खानु भयो।
‘किन रोएको मेरो राजा, कसले के भन्यो मेरो बेटालाई ?’
‘म लाडे पल्टिँदै दिउँसो आमालाई अरू आईमाईहरूले भनेको कुरा जम्मै सुनाइदिएँ।’
‘मेरो राजा बेटा! भन्न देऊ अरूलाई। आऊ, हिँड।’
बुवाले मलाई काँधमा राखेर आकाशमा लिएर जानुभयो। मेरो पोल्टाभरि ताराहरू बटुलेर हाल्दिनु भयो। जूनमा पुगेर ताराहरूको गट्टा बाउ छोरीले धित मरुन्जेल खेल्यौं। प्रत्येक ग्रहको भ्रमण गरेर पुनः घरको आँगनमा ओर्लियौं।
लस्करै मस्तसँग निदाएका छोराछोरीहरूलाई एकटकले हेरिरहनु भयो। बुवाका आँखाबाट आँसुका धारा भेल बनेर उर्लिए।
अनगिन्ती सपनाहरूमा डडेलो लागेर सखाप भएकोले होला। मुखले केही बोल्नु भएन। तर मैले आँखामा गहिरो समुन्द्र मडारिएको प्रत्यक्ष देखेंँ। बुवाको छातीभित्र आएको सुनामी देखेंँ। बुवाका अधुरा सपना देखेँ। आफ्नो उपस्थितिमा आफ्ना सन्तान हुर्किएको हेर्ने इच्छा पुरिएको देखेँ।
फेरि खोई के के सोच्नु भयो अनि आमाको कानमा फुस्फुसाउन थाल्नु भयो। आमा निद्रामै जुरूक्क उठेर बुवालाई सम्झाउँदै हुनुहुन्थ्यो -
‘म कसरी तपाईंसँग जानु, हेर्नु त यी बालखहरूलाई म छु र त, निस्फिक्री भएर आनन्दले निदाएका छन्। म पनि तपाईंसँग गएँ भने, यिनीहरूको हरिबिजोक हुन्छ, मलाई पाप लाग्छ, जान्नँ म अहिले।’
अनि आमासँग बुवाले मलाई माग्नुभयो -
‘त्यसो भए यो कान्छी छोरी देन त; म एक्लै छु त्यहाँ, म लैजान्छु, यो जन्मिएकी पनि छैन फेरि छोरी नै हो।’
आमा न हो, पेट छाम्दै भन्नुभयो - अहँ दिन्नँ, यो भ्रुणलाई कसरी दिऊँ, तपाईंको अन्तिम चिनो सम्झेर यसलाई पनि जन्म दिन्छु हुर्काउँछु। आफ्नो भाग्य लिएर आएकी छ। केही चिन्ता नगर्नू। म बा र आमा दुबैको जिम्मेवारी निभाउने छु। तपाईंलाई पीर पर्न दिने छैन, तपाईं आजदेखि ढुक्क हुनुस्।’
‘म रूँन थालें, मलाई बुवासँग आकाश मार्गमा हराउन मन थियो, बुवासँगै बस्न मन थियो। म रोएको देखेर बुवाले फेरि अंगालोमा बेर्नुभयो। हामी निकैबेर बार्दलीमा कुरा गरेर बसेका थियौं।
झुँगेली बाजेले ठूलो स्वरमा हकारे-
‘मध्य राति बार्दलीमा गुनगुन गर्ने को हँ ?’
हामी चुपचाप भयौं। आमा मस्त निन्द्रामा हुनुहुन्थ्यो। दाजु कोकोहोलो गरेर रूँन थाल्यो। बुवाले च्याप्प बोकेर दाजुलाई पनि तारा र जून देखाउँदै घोडाको सवारी गराउनु भयो। ऊ जोड जोडले हाँस्न थाल्यो। ओछ्यानमा छोरो त्यसरी हाँसेको देखेर आमा पनि दङ्ग पर्नुभयो। छोरोले कस्तो राम्रो सपना देखेछ भन्दै मख्ख पर्नु भयो। हाम्रो सूक्ष्म शरीरको गतिविधि आमाले केही चाल पाउनु भएन।
बुवा हरेक रात सेतो घोडामा चडेर पर आकाशबाट आउनु हुन्थ्यो। म त्यसै त्यसै मख्ख पर्थें। आमाको गर्भमा म कति धनी थिएँ।
मेरो आँखा हेरेर मेरो पीडा बुझ्ने पिताको साथ थियो। नियतिले मेरो भाग्य खोस्दै थियो। धर्तीमा गएपछि बुवासँग भेट होला नहोला म दोधारमा थिएँ। अनि एक एक पल बुवासँग बिताउन चाहन्थें।
बुवाका मुखबाट कथा कहानी, जीवन दर्शन सुन्थें।
कहिले खोलातिर माछा हेर्न जान्थ्यौं। कहिले बगैंचामा आँप टिप्न। कहिले जङ्गलतिर थाकल र अँगेरी खान। कहिले आकाश, कहिले पाताल हामी घुमिरहन्थ्यौंं।
हेर्दाहेर्दै म नौ महिनाको भएछु। त्यो रात बुवाले मलाई आराधना सिनेमाको कहानी सुनाउनु भयो।
म ट्वाल्ल परेर आराधना सिनेमाको कथा सुन्दै थिएँ। अचानक मलाई असह्य पीडा भयो मेरी आमा छट्पटाएर चिच्याउनु भयो। म आत्तिदैँ जमिनमा पछारिएर जोडले रोएँ अरू सबै खुसी भएर हाँसे।
‘लौ! ठ्याक्कै बाउ जस्ती भगवानले किन छोरी बनाएर पठाएछन् दु:ख पाउन?’
खुसी, आँसु र हाँसोको माहोलमा म चल्मलाउन थालेंँ। मेरा आँखाहरू आँगनको मियोमा गएर अडिएका थिए। बुवा आउन हुन्छ कि भनेर दिन रात हेरिरहन्थें। अनि म बुवा आउने आशमा आठै पहर बिताउन थालें।
क्रमशः