फेरि एकपल्ट
फाटेको अन्डरप्यान्ट लाएर
आली-आली फिलिली दगुर्न मन छ।
धोक्रो बोकेर
पाँउदुरेको उकालो हुँदै
देउरालीमा पुगेर बिसाउन मन छ
धोक्रेखोलाको भिरबाट
आफैतिर फर्कने गरी
सुइइय सुशेली हाल्न मन छ।
तुर्के चउरमा केटाहरूसँग
कबर्दी खेल्न मन छ
केउरिनी चौतारी पुगेर
रापुको पसलको पिपलमेठ खान मन छ
चुलडाँडाबाट केतुकेको पातमा बसेर
फलिली चिप्लेटी खेल्न मन छ।
बडेमानको ढुङ्गा बोकेर
स्कुलसम्म पुर्याएर
श्याम सरको स्याबासी खान मन छ
दुतमानको पसलको तिलौरा कुटुक्क टोक्न मन छ
कोर्टबाट बाहिर निस्केको भलिबल
एक पटक बुडुम्म ठोक्न मन छ।
धुर्बे, गनिशे, राजने र राजिन्द्रेसँग
मल्लयुद्ध गर्न मन छ
सालबिसौनाबाट वर्षाको तादीमा
गणखारसम्म बाँकटे हान्न मन छ
चुचुरे ढुङ्गाबाट घुमाउने दहमा
उधोमुन्टो लाएर फालहाल्न मन छ।
गुरुङडाँडाको उखु
सौंसाँझै खुसुक्क चोर्न मन छ
पट्टाबारीको भब्बु मागेर
केटीहरूसँग साँधेर खान मन छ
गोरेसँग लाठ्ठीमा धागो बाँधेर
बल्छी खोल्न जान मन छ।
भतिजोसँग बाघटार पुगेर
खन्ट्याङ्ग-खन्ट्याङ्ग एक खुट्टाले
साइकल कुदाउन मन छ
ट्रकको साङ्ग्लामा झुन्डेर
खालासीसँग लड्दै
लब्दुसम्म पुग्न मन छ।
आमोईले सन्दुकमा राखेकोको
एक ठेकरो घिउ
सुटुक्क सिनित्तै पार्न मन छ
पिटाई खाएर रुँदारूँदै थाकेर
उनकै खाटको छेउमा
लुटुक्कै निदाउन मन छ।
रोपाइको खाजा
चिउरा, आलु, केराउको तिहुन
हिलै हातले लटपट्याएर खान मन छ
बिउको मुठ्ठाले टाढैबाट
रोपारलाई ताकेरै
पुक्क लाग्ने गरी हान्न मन छ।
चिन्नेभन्ज्याङ्गबाट
पुच्छर हालेको चङ्गा उडाउँदै
गेर्खुसम्मै पुर्याउन मन छ
साउनेपानीको ऐँसेलु टिपेर
ठसक्क ठुस्केकी
उजेलीलाई फकाउन मन छ।
जोर मादल घन्काएर
डाँडागाउँको हाउडे मामालाई
छमछम नचाउन मन छ
जाँड खाएर बाउँठिएका
नारन दाइलाई
जाँडै ख्वाएर फकाउन मन छ।
नरहरी, हरी र माधबसँग
लखरलखर रातभरि
खेत बगर कुलैकुलो डुल्न मन छ
महिनाको दुई/चार पटक
छताछुल्ल पाराले
चौथी खेल्न मन छ।
आँपचौर र खोकवारी पुगेर
डोकोभरि सर्लक्क मिलाएर
सिरुको घाँस काट्न मन छ
कुट्मिराको बोटमा चढेर
जुरेलीको गुँडमा सुटुक्क
बचेरा कत्रा भए जाँच्न मन छ।
दुई एकान दुई, दुई दुने चार
फेरि एक पटक घोकेर
कण्ठै पार्न मन छ
फस्ट ब्वाई भएर
उत्तम, मनका, रेखा, सरिता
र सर मिसहरूको शेखी झार्न मन छ।
फेरि एकपल्ट
फाटेको अन्डरप्यान्ट लाएर
आली-आली फिलिली दगुर्न मन छ।