देखिसकेपछि तिमीलाई
बोलाउँ कि नबोलाउँ!
मेरो द्विविधा यहीँबाट प्रारम्भ हुन्छ
नबोलाऔँ, तिमीलाई देखिसकेपछि
तिमीसँग नबोली यो मन कसरी मान्ला?
नचाहँदा नचाहँदै मन पग्लिसकेको हुन्छ
अनि झल्किरहेको हुन्छ प्रेम
यी मेरा दुई नयनहरूमा!
तिमीले बुझ्छ्यौ कि बुझ्दिनौ
मलाई थाहा छैन
र यो मनले थाहा पाउन जरुरी पनि ठान्दैन
अझ भनौँ बेमतलब नियालिरहन्छ
तिमी र तिम्रो सुन्दरतालाई
र तिम्रै सामु एकोहोरिन्छु म
एको...होरो…!
फेरि यसो सोच्छु, मैले बोलाउनै पर्छ
कसरी म आफ्नो मनको हत्या गर्नसक्छु
आत्माको हत्या गर्नु नै त हो आत्महत्या।
बोलाउन त बोलाउँ तर के भनेर
ओठले त नाम नै लिदेला
तर मनले? अन्तरमनले?
के ठानेर बोलाउँ? के मानेर बोलुँ?
साथी? मैले चाहेको साथीमा त जीवन अल्झिएको छ
मेरो आफ्नै जीवन, जीवनसाथी
प्रेमीका? जुन तिमीले स्विकारेकी होइनौ
बुझिनौ या बुझ्नै चाहिनौ
एकोहोरो प्रेममा कहाँ त्यत्रो तागत हुनु र
तिमीलाई मैले मेरो प्रेमीका मान्न सकुँ।
सायद प्रेम मात्र मानुँ कि!
फेरि अर्काकी मान्छेलाई मैले मेरो प्रेम मान्नु
कतिको न्यायोचित होला?
मैले गरेको प्रेम, प्रेम नभएर लोभ ठहरियो भने?
म कसरी लोभी हुनसक्छु?
कसरी बन्न सक्छु तगारो, तिम्रो सुखमा?
एक मन त सोच्छु
अपरिचित मानिदिउँ
तर तिम्रा भोगाइका केस्रा-केस्रा थाहा पाएको मैले
कसरी तिमीलाई अपरिचितमा गन्न सक्छु?
म चिन्छु नि त तिमीलाई
तिमी भित्रको तिमीलाई
म भित्रको तिमीलाई
मन भित्रको तिमीलाई
'तिमी'लाई जसको अभावमा
'म' एक्लो छु र सकेको छैन 'हामी' हुन!