मानिसले सिकेर, जानेर, बुझेर नसकिने दैनिक यात्रा नै त जिन्दगीको यात्रा रहेछ, यही यात्रामा छौं हामी।
‘नेपाल श्रष्टा समाज’ को आयोजनामा बनेको वनभोज कार्यक्रममा दुई हप्ता अघिदेखि कहिले जाने लिस्टमा नयाँ नाम थप्ने, कहिले असमर्थता जनाउनेको नाम हटाउने, कहिले जाने स्थानको खोजी र त्यहाँको वातावरण पत्तो लगाउने काममा वनभोज समितिको मिटिङ द्रुत गतिमा चलिरहेको छ।
समितिमा रहेका मसहित मधु पाठक, प्रकाश घायल, अर्जुन थापा हामी चार जना कार्यक्रम कसरी चुस्त दुरूस्त रहला भनेर लागिपरेका छौं। हामी हिँड्ने दिनले संघार टेक्यो।
जिम्मा लिइसकेपछि मन आत्तिनु स्वाभाविक रहेछ। म आत्तिएको देखेर मधु सर र प्रकाश सरले ‘न आत्तिनुहोस् हामी छौं’ भन्नुहुन्छ तर मन कहाँ मान्छ र?
बन्दीपुरमा रिसोर्टको बजेट धेरै हुने भएपछि त्यहाँ नजानेसम्मको सल्लाह भयो। तर एक जना साथीको सहयोगमा बन्दीपुर होमस्टे सञ्चालकसँग कुरा गरेँ। रिसोर्टको खर्चले त हामीलाई जाने-आउने खाने-बस्ने र बाटोको चिया खाजा सबै खर्च पुग्ने भयो। त्यसपछि बन्दीपुर जाने निर्णय भयो।
यात्रा कस्तो होला के होला भन्ने उत्सुकता हुन्छ नै तर नयाँ ठाउँ, नयाँ परिवेशसँग मन घुलित गराउने मौका मिल्छ अझ साहित्य मन पराउनेलाई नयाँ सिर्जना गर्न सोच फराकिलो बनाइदिन्छ।
म सकेसम्म आफ्नो जिम्मेवारी पूर्ण रूपले निभाउने प्रयास गरिरहन्छु तर सामूहिक यात्रामा समूहको सहयोग र माया हुँदा मात्र त्यो यात्रा अत्यन्तै सुखद हुन्छ। त्यो सुखमा यात्रारत छौं।
हामीसँग यात्रामा हुनुहुन्छ पचासी वर्षीय निकै सरल व्यक्तित्व आदरणीय नगेन्द्र दाजु र पुष्प लुइँटेल दाजु। उहाँहरूको स्नेह आशीर्वाद र छत्रछायामा हामी रमाइरहेका छौं।
उहाँहरू दुबै उमेरले वृद्ध भए पनि मनले यौवन हुनुहुन्छ।
नगेन्द्र दाजुले ‘मानिस अरूको सहारा या लौरोको सहारामा हिँड्यो भने बूढो भइन्छ’ भन्नु हुँदा साँच्चै हामी त उहाँको अगाडि बालखै छौं भन्ने लाग्यो।
हामी प्रायःले कालो चस्मा लगाएर आफूलाई राम्रोको उपमा भित्र सजाएको देखेर नगेन्द्र दाजुले भन्नुभयो, ‘चस्मा किन लगाको? चस्माले त आँखाको भाव छोपिदिन्छ’ भन्दा पो यस्तो लाग्यो मन पढ्नु र आँखा पढ्नुमा साँच्चै धेरै फरक हुन्छ।
हामी पच्चीस जना साहित्यकार सहभागी भएर हिँड्दा यात्राको रौनक नै अलग्गै भयो। यात्रामा नेपाल श्रष्टा समाजलाई माया गरेर इलामदेखि आउनुभएका कवि विमल वैद्यज्यू समेत सहभागी हुनुहुन्थ्यो।
यात्राले गति लिनासाथ सुरू भयो हँसीमाजाक, कविता मुक्तक र अन्ताक्षरी।
साहित्यकार न परे बिम्बमा बोल्न खप्पिस्।
कसैले पहिरनलाई इंगित गरे।
कसैले नातालाई अघि सारेर जिस्किन र जिस्क्याउन सुरू भयो।
ऋषभ घिमिरे दाजुले दुर्गा किरणजीलाई जिस्काउन सुरू गरिहाल्नुभयो। दाजु हरिबोल ढकाल नजिकैको सिटमा बस्नुभएको छ।
‘क्या हो, भेनासँग बस्न नपाएर नरमाइलो पो भयो कि?’ ऋषभ दाजुले भनिहाल्नु भयो। अनि त साहित्यकारहरू को भन्दा को कम...
दुर्गाजीले पनि गजल मुक्तक सुरू गरिहाल्नुभो गजलको जवाफ गजलबाटै मुक्तकको मुक्तकबाटै।
हुनु रमाइलो भइरहेको देख्दा सुरूदेखि नै बन्दीपुर जान तम्सनुभएका तर परिवारमा भवितब्य परेकाले जान नपाएका नारायण तिवारी दाजु र किशोर पहाडी सरलाई झल्झली सम्झिएँ।
अन्ताक्षरी खेल्दाखेल्दै षणानन्द दाजु निक्कै उत्साहित हुँदै ‘र’ र ‘ह’ बाट आयो भने म भन्छु है भन्दै उठ्नु हुँदा साथीहरूले लौ ‘र’ बाट भनिहाल्नुहोस् भन्नुभयो उहाँ त नाचेकै शैलीमा दोहोर्याई तेहेर्याई ‘रेलिमाई रेलिमाई’ भन्न थाल्नुहुँदा बस हाँसोले गुन्जयमान भयो।
साहित्यले राष्ट्रिय अन्तर्राष्ट्रिय सबै यात्रीलाई एक स्थानमा जोड्ने हैसियत राख्छ।
सोही मध्येका हामी यात्रामा रमाउन हिँडेका- हिँड्दा हिँड्दै साहित्यमा हराउन हिँडेका -
सिक्रे खोलाको खाजा साहित्यकारको माझमा तन्कने रोटीको नाममा प्रख्यात बन्न पुग्छ। तन्कने रोटी (प्याकिङ लच्छा रोटी) प्लेटबाट तान्दा एकहात माथि पुगेर मात्र बल्ल मुखसम्म जान मान्ने यो देखेर तन्कने रोटी भनेर लच्छा रोटीको नामाकरण गरिहाले साहित्यकारहरूले। तन्कने रोटीले पनि साँच्चै हाम्रो यात्राको साइनो जीवनभरि प्रेम भरेर तन्किरहने महसुस भयो।
त्रिशूलीको बहावलाई पछ्याउँदै हाम्रो बस किनारै किनार दौडिरहेको छ। हामी बसभित्र मस्त रमाइरहेका छौं।
बसको हुँइक्याइसँगै दौडिरहेका छन् पहाड, आकाश अनि उडिरहेका छन् चराहरू।
काठमाडौंबाट पश्चिम लागेको बस डुम्रे पुगेपछि दक्षिणतर्फ मोडिएर तर्पाई तर्पाई उकालो उक्लँदै दिउँसोको करिब १ बजे बन्दीपुर सामुदायिक होमस्टेको आँगनमा पुग्यो।
होमस्टेका सञ्चालक आमा-दिदी बहिनीहरूले टीका फूल लिएर स्वागत गर्दा त अहो! जीवनले आत्मीयता भरिएको भिन्दै प्रकारको आतिथ्य पो अनुभूत गर्न पुग्यौं।
'कोही एक्लो नबनून् कोही व्यवसायविहीन नबनून्' भनेर आमाहरूले सञ्चालन गरेको होमस्टेमा पुगेकालाई पाँच छ जनाको समूह बनाएर सबैले बाँडीचुँडी लिएर आ-आफ्नो घरमा राख्ने नियम बनाइएको रहेछ।
होमस्टेमा आमाहरूको न्यानो माया र स्याहार पाउँदा साँच्चै भाग्यमानी लाग्छ।
उसो त होमस्टेको प्रचलनमा स्थानीय रितिरिवाज र खानपान हुनुपर्छ। आमाहरूले चलाएको होमस्टेमा अहिलेको पिँढीलाई ध्यानमा राखेर सुत्ने ओछ्यान र अटेच बाथरूम भने राम्रो रिसोर्टको जस्तो सफा सुविधायुक्त रहेछ। खानामा घरकै मिठास भरिएकोले घरदेखि पर छौं भन्ने नै लागेन।
साहित्यकारहरूलाई प्रकृतिसँग हराउने चाहना हुन्छ।
शान्त स्थानमा पुग्दा सिर्जनाको जन्म हुन्छ त्यसैले साहित्यकारहरू शान्त र यथार्थ रूचाउँछन्।
हामी होमस्टेमा आफूलाई फ्रेस बनाएपछि बस चढेर दस मिनेटको दूरीमा रहेको रेशम खेती नियाल्न पुग्यौं।
रेशम खेतीको प्रांगणमा कोही फोटो खिच्न सुरू गरे कोही टिकटकमा व्यस्त भए मैले त रेशम खेती पहिलोपटक देख्न पाएको थिएँ।
रेशमको एक सर्कल जीवन साँच्चै नै पृथ्वीलाई एक फन्को लाएझैं लाग्यो।
साना साना सिसाहरूमा रेशमको जीवन र अवस्थाबारे पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण गरि पाँचौ चरणसम्म लेखेर दराजमा राखिएको रहेछ।
रेशम खेती र मौरी पालनको समेत सम्पूर्ण जानकारीका लागि त्यहाँका सूचना अधिकारी छैठौं अधिकृतस्तरका गोविन्दराज गौली हाम्रो सहयोगी बने।
बन्दीपुर पुरानो बस्ती भनेर चिनिने बजार नै आकर्षक छ। भक्तपुरको जस्तो पुरानो शैलीको बजार पुगेपछि पर्यटकलाई लक्षित गरेर राखिएको पसलहरू झट्ट हेर्दा झुक्किएर काठमाडौंको ठमेल पुगिएछ कि भन्ने भान हुन्छ।
घरका खाँबाहरूमा झुन्डिएका लालटिन, सडक बत्ती र घरको आड लागेर फुलेका फूलहरूले सडक बिचमै निहुरिएर पर्यटकलाई स्वागत गरिरहेका छन् र सम्पदाहरू हाम्रै पर्खाइमा बसिरहेका रहेछन्। यस्तो सुसज्जित बन्दीपुरले हामीलाई मोहनी नै लगायो।
टुँडिखेल जानेतर्फ बजार बिचमा पुस्तकालय छ पुस्तकालय पूर्व पट्टि बिन्धवासिनी मन्दिर र पुस्तकालयको पश्चिमपट्टि गणेश मन्दिर छ। हामी पुस्तकालय भवन उकिल्यौं पुस्तकालयको र्याकमा पवन आलोक दाजुको नियात्रा संग्रह पनि सजिएको रहेछ खुसी भयौं सबैले तस्बिर पनि लियौं।
सुन्दर बन्दीपुरबजारमा सबैले आफ्ना मोबाइलहरूमा आफूलाई कैद गर्दै थिए।
घुमेर फर्कंदा साँझको ६ बजिसकेकोले हामी कार्यक्रम स्थलमा पुग्यौं। होमस्टेका सञ्चालकले हलको समेत ब्यवस्था गरेका रहेछन् सो हलमा हामीले आदरणीय नगेन्द्र दाजुको प्रमुख आतिथ्य, नेपाल श्रष्टा समाजका संरक्षक अतिथि पवन आलोक र श्रष्टा समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ दाजुको अध्यक्षतामा कार्यक्रम सञ्चालन गर्यौं।
आफ्ना आफ्ना रचना कविताहरू वाचन गर्दा साह्रै रमाइलो भयो। कार्यक्रम सकेपछि हामी सबै जना होमस्टे घरको अगाडि सडकमै गुन्द्री ओछ्याएर खाना खान बस्यौं होमस्टेका आमाहरूले पकाएर राखेको खाना हामी एकै ठाउँ बसेर खाँदा त सो बसाइँले वनभोजको तृष्णा मेटियो।
१९ गते बिहान सूर्योदय हेर्ने कार्यक्रमको आयोजना पहिले नै लिस्टमा तय गरेका थियौं तर त्यो दिन पहाडकी रानी ढपक्क कुहिरोको पछ्यौरी ओढेर बसिदिइन्।
बादलका आँखाहरू खुसीले पोखिन थाले।
हामी त त्यसैमा भुलेर पो बस्यौं। म संयोजक भएको कारण सूर्योदय हेर्न जान बिहान ५ बजे जम्मा हुने भनिएको ठाउँमा तोकिएकै समयमा पुगेर बसेँ साथीहरू मौसम र थकानको कारण जम्मा हुनु भएन। गोबिन्दमान सिंह कार्की सर समयमै आइपुग्नु भयो तर कोही जम्मा नभए पछि हामी आआफ्नै कोठा तर्फ उक्लियौं।
मैले अघिल्लै दिन बन्दीपुरलाई बन्दीपुर बनाउने नायक चिज कुमार श्रेष्ठसँग भेट्ने समय लिएकी थिएँ।
मेनुङ थुलुङमा जन्मिएर साढे दुई वर्षको उमेरमा बन्दीपुर आएका चिज कुमार श्रेष्ठसँग बिहान ८ बजे भेट भएर कुरा सुरू गरेँ।
‘बन्दिपुरलाई पहाडकी रानी बनाउने तपाईलाई नमस्कार।’
उनले त हामीलाई नै पो यो बन्दपुर ‘तपाईंहरू जस्ताको आगमनले पहाडकी रानी भएकी हुन्,’ भने।
कुराको सुरूआतसँगै ‘बन्दीपुर पुरानो नेवार बस्ती भनिन्छ तर नेवार भन्दा पनि पुरानो त मगर बस्ती हो बन्दीपुर। नेवारहरू ब्यापारिक दृष्टिले बन्दीपुरआए पछि मगरहरू बिस्तारै विस्थापित हुँदै गएका हुन्,’उनले सुनाईरहे -
‘भक्तपुरका व्यापारी नेवारहरू पृथ्वीनारायणका फौजीले हमला गर्ने हल्लाले उनीहरू बन्दीपुर आएका हुन्। बन्दीपुरका घरहरू भक्तपुरे शैलीमा बनेका छन्। काठमाडौं पोखरा राजमार्ग खुलेपछि बन्दीपुर छायामा पर्यो। घरहरू खण्डहरमा परिवर्तित हुँदै गए। यो देखेर हामीले वर्षमा एकपटक परिवारसहित बन्दीपुरपुग्नै पर्ने योजना गर्यौं।
बन्दीपुरलाई यो अवस्थामा ल्याइ पुर्याउन सन्दुक कुमार श्रेष्ठ, मदन पिया,र चिज कुमार श्रेष्ठले अग्र भूमिका खेले।
उनले भन्दै गए- ‘हामी सबैले आफ्नो आफ्नो सिपलाई प्रयोगमा ल्याउने अठोट गर्यौं। २०४९ सालमा ‘बन्दीपुरसामाजिक विकास समिति’ गठन गरेर THE अर्थात, T -टुरिजम, H -हेल्थ र E -एजुकेसनलाई अगाडि सार्यौं।
शिक्षा बिना जीवन अधुरो हुन्छ। ‘मैले सानालाई बिहान र ठूलालाई साँझमा पढ्ने वातावरण मिलाएँ। र अहिले बन्दीपुरले तपाईंहरूलाई स्वागत गरिरहेको छ।’
‘अहिले बन्दीपुर लिभिङ स्टुडियो भएको छ तर अहिलेका साना साना नानीहरूको पहिरन देख्दा कतै विकृतिले उछिन्ने हो कि?’ उनले चिन्ता पनि व्यक्त गरे।
कुरा गर्दै जाने क्रममा उनले भन्दै गए -सम्पदाहरूको विशेषता नै थाहा भएन भने त्यो हेरेको अर्थ रहँदैन खड्क देवी सम्पदाको बारेमा उनि प्रस्ट्याउँछन् - ‘उमेरले ८७ वर्षीय तुल बहादुर आले खड्क देवी मन्दिरको मगर पुजारी हुन्।
खड्कदेवी मन्दिरको मूख्य पुजारी बाहुन हुन् तर फूलपातीको दिन खुल्ने यो मन्दिरभित्र ब्राह्मण र मगर पुजारी मात्र प्रवेश गर्न पाउँछन्। बाहुन पुजारी र मगर पुजारी भएर देबिको वस्त्र फेरिदिएर जल र फूलपाती लिएर दुबै पुजारी बाहिर निस्कन्छन् र बाहिर मौला नजिक पुगे पछि कामी पुजारीलाई सो फूलपाती हस्तान्तरण गरिदिने चलन छ।’
पुजारी तुल बहादुर आलेले ६५/७० वर्ष अघि सपनामा देवि आएर देविले मन्दिर पहाडको टुप्पामा राख्न अह्राए पछि यो ठाउँमा खड्क देवि मन्दिर बन्यो। सो मन्दिरको छानो पनि खुलै राख्न अह्राएको बताउँछन्।
त्यसैले खड्क देवि मन्दिर पहाडको टुप्पोमा छानोविहीन राखिएको छ। सतासी वर्षीय पुजारी तुल बहादुर अहिले यो उमेरमा पनि हप्ताको एकपटक खाली खुट्टा सो डाँडाको मन्दिरमा पुग्छन्।
हामी टुँडिखेल पुगेर हेर्दा त्यहाँ अवस्थित चौतारी २०० वर्ष पुरानो भन्ने कुरा थाहा पायौं। अर्को अचम्मको कुरा त सो चौतारी पाँच वटा रूख गाँसिएर एउटै बनेको रहेछ। पछि दाजु चिज कुमारले भन्नू हुँदा पो रमाइलो लाग्यो। जहाँ पनि चौतारो दुई या एक रूखमा बनेको हुन्छ।
यो चौतारीमा वर पिपल दुई दुई वटा र स्वामीको रूख एउटा गरि पाँच वटा रूख एकै ठाउँ गाँसिएर एउटै चौतारी बनेको रहेछ झट्ट हेर्दा एउटै देखिने रूखमा त पाँचवटा रूख पो रहेछ त्यो देख्दा सम्पदा मध्येकै एक लाग्यो।
हामी बसेको सामुदायिक होमस्टेकी अध्यक्ष दिल कुमारी रानासाँग पनि थोरै कुराकानी गरेँ। बन्दीपुरहोमस्टे २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको र १२ घरबाट सुरू भएको होमस्टे अहिले २२ घर बनेको छ।
अध्यक्ष रानाले भनिन -हामी आमाहरू सबै समान हुनुपर्छ भन्ने सोँचले यो होमस्टे संचालन गरेका छौं।
- तपाईंहरूलाई राज्यले केही सहयोग गरेको छ? मैले जिज्ञासा राखें-
‘गतवर्ष दश लाख भौतिक पूर्वाधारको लागि दिएको छ अब राज्यले भौतिकमात्र नहेरेर ब्यवस्थापनमा पनि ध्यान देओस् भन्ने हाम्रो चाहना छ।’
‘नजिकमा होटल र रिसोर्टहरू छन् तिनीहरूको तुलनामा हामीले सुविधा दिनुपर्छ। तर पनि हामी खुसी छौं थोरै खर्च लिएर सेवा दिन सकेका छौं।’
फर्कने बेला सामुदायिक होमस्टेका आमाहरूले मीठो लोक गीत गाएर बिदाइ गर्दा साँच्चै आँखाका डिलले पनि आँसु लुकाइदिन सकेन।
सञ्चालकहरु गीत मार्फत भन्दै थिए-
‘नाचियो गाइयो मेलैमा,
आँसु दियौ छुटने बेलैमा...
तीनधारेको यो चिसो पानी
लाग्छ माया छोडेर काँ जानी...
फेरि पनि बन्दिपपुर आउनू,
भेट हुँदा सम्झेर बोलाउनू...
बन्दीपुर पहाडकी रानी,
छुट्ने बेला के दिउँ खै सम्झानी...’
नचाहँदा नचाहँदै पनि हामी होमस्टे र बन्दीपुरबाट छुट्टिएर गन्तव्यतर्फ लाग्यौं। बन्दीपुर एक या दुई दिनमा घुमेर सकिँदैन। धेरै ठाउँहरु घुम्न छुटायौं हामीले।
तर यात्रारत रहँदा रमाइलो गर्न हामीले छुटाएनौ। बन्दीपुरजाँदा कविता मुक्तक र अन्ताक्षरीले बस गुन्जायौं फर्कँदा बस भित्रै यात्राको समीक्षा गरेर मिठा सम्झना मनको कुनामा सुरक्षित राखेर कमजोरीहरूलाई फेरि नदोहोर्याउने वाचाका साथ बस भित्रै छोडेर हामी छुट्टियौं।
साँच्चै यो यात्राले धेरै निकटता दियो र यात्रामा हाम्रो प्रेम बस्यो।
समयले साथ दियो भने -बन्दीपुर हामी फेरि तिमीलाई भेट्न आउनेछौं र तिमीलाई कहीँ कतै नछुटाई अंगाल्नेछौं।