लाग्छ
त्यो पर्खालको सेतो गुलाफले
मलाई नै हेरिरहेको छ
मलाई नै कुरिरहेको छ
मलाई नै पर्खिरहेको छ
हप्तौंदेखि जवानी फक्राएर
एक झलकको लागि
उसमा न कुनै क्रोध छ
न कुनै चिन्ता
बेफिक्री फुलिरहेछ
त्यही पर्खालको सहारामा
ऊ आँतुर छ
र त
आफ्नो घरको पर्खालभन्दा पनि
माथि उठेर फुलेको छ
कहानी अझै सकिएको छैन
र त ऊ
घाम, पानी, हावा, हुरी
दिनरात नभनी
छरछिमेकले देख्ने गरी
पर्खालको आडैमा फुलेको छ
त्यो सौन्दर्ययुक्त सेतो गुलाफ
म पनि घरीघरी
उसैलाई हेर्न पुग्छु
मेरो सानो अपरेशन कक्षबाट
बिर्सेंर तिनै आकस्मिक बिरामीहरूलाई
तिनीहरूको दुखाइलाई
तिनीहरूको पीडालाई
तिनीहरूको आशालाई
तिनीहरूको भरोसालाई
अनि
बेला मौका
त्यो चर्को घामको किरण
सेतो गुलाफमा ठोकिएर
प्रतिबिम्ब प्रकाशले मलाई
छोएझैँ लाग्छ
र झस्कन्छु
कतै मेरो आँखाको रोशनीसँग
उसको प्रेम त भएको छैन?
जब दिन ढल्दै जान्छ
साँझ पर्न लाग्छ
र आकाशले रङ बदल्छ
म खुब हराउँछु
विगतको सम्झनामा
त्यो मेरो निर्दोषपनमा
भ्रमको सपनामा
अनन्तकालसम्म
दुनियाँको नौलो सहरमा
त्यो सौन्दर्ययुक्त
सेतो गुलाफको सम्झनामा।