रहरको लहरमा सयर गर्दै
प्रेमहरूको बीच
खुसीको प्रहरमा फक्रिरहेको
मगमगाउँदो फूल थिएँ।
नियतवश चल्न थाल्यो हुरी
उडेका धुलोले आँखामा फुलो पार्यो
अरिङ्गालले बदल्यो बाटो
आयो...
खिल गाडेर गयो
मुर्झाएको फूल भित्रको ममताले
अमृत बनायो विषलाई
नयाँ कोपिला लाग्यो।
हुरीमा चलेको छुरीले
चाल्नो भएको देहले
छर्लङ्ग आलो घाउहरू देखाउँदा
तयार भएनन् मै हुँ भन्नेहरू
न्यायको नाउ चलाउन।
वर्षौंदेखि आफूलाई
मानवता र करुणाको तारा मान्ने
तिमीहरू साराको बीचमा
म जीर्ण हुँदै गइरहेको एक कणले
मागिरहेछु कोपिलाको भविष्य।
बचाऊ!
कोही आएर कुनै न्यायको ग्रहबाट
यहाँ निरन्तर बर्सिरहेछन्
जलाउन षड्यन्त्रका उल्काहरू
निल्न तयार भएर उभिरहेछन्
शक्तिका ब्ल्याकहोलहरू।
बचाउनुहोस्!
जतिखेर पनि जल्न सक्छु
जतिखेर पनि निलिन सक्छु
म एक निरीह निहारिका।