अन्तिम दिन एक घन्टा अंगालो मारेर रोयौं दुबै।
उसका आँसुले मेरो पछ्यौरी भिजेका थिए। अनि मेरा आँसुले उसको छाती!
गल्ती न त उसको न त मेरो, दोष त भावीलाई नै दिन्छु म!
भाग्यमा लेख्दै नलेखेको मान्छेसँग किन भेट गराइदिएको होला है?
न भेटेको भए आज यो दिन कहाँ आउथ्यो र!
मुटुमाथि ढुंगा राखी हाँसेर छुटियौं हामी।
छुट्ने बेला भन्दै थियो- हेर काली अब मैले कतै बाटोमा तेरो श्रीमानसँग देखें भने कसरी मन थाम्न सक्छु होला! म त मर्छु होला। पागल भएर तँलाई समात्न आएँ भने चिनेको छैन भनि मलाई धकेली दिनु ल? अबको बाँकी जीवन तँबिना कल्पना पनि गर्न सक्दिनँ म।
पकेटमा भएको रूमाल निकालेर आँसु पुछ्दै मेरो हातबाट उसको हात छुटाएर गयो ऊ।
कहिल्यै नछुट्ने मायाको डोरी बाटेको पनि अब गाँस्नै नमिल्ने गरी छुटाएर गयो ऊ।
चाहेर पनि जोडिन सकेनौं हामी।
त्यो दिन उसलाई भनिदिएँ- अब तिमीसँग जिन्दगीका कुनै पनि मोडमा भेट्नु नपरोस् भनेर।
तर के गर्नु बाहिर जे/जे भने, गरे पनि मनले कहाँ मान्छ र!
चार वर्षसम्म बिहान शुभ प्रभातदेखि शुभरात्री हुँदासम्म चार पाँच पटक नबोली कुनै दिन गएन।
भेटेको त गनेर पनि कहाँ सक्नु नि! त्याँ माथि मन मुटुले माया गरेको मान्छे, ऊबिनाको जिन्दगी कसरी बिताउन सक्छु होला जस्तो लाग्थ्यो।
सबै रहर र सपनाहरू पूरा हुने भए त यो संसारमा कोही पनि दुखी हुँदैनथ्यो होला सायद।
जिन्दगी त एक यात्रा रैछ हिँड्दा हिँड्दा कुन मोडतिर जानुपर्ने हो कसलाई थाहा छ र?
'कैले घाम, कैले छाया तर मन परेकै मान्छेको लाग्छ नि बढी माया!'
यही भन्थ्यो मेरो राम।
हरेक दिनचर्या मलाई नसुनाई बस्न नसक्ने ऊ, अनि उसका ती दिनचर्याको बहाना बनाई बनाई झगडा गर्ने म।
फोनमा रातैभरि कुरा गरेर फकाउने ऊ।
अनि ‘आई हेट यू’ भनि भनि माया गर्ने म।
म रिसाउँदा हाँसी हाँसी बोली दिने ऊ।
रिसाएर नफकाएसम्म बोल्दै नबोल्ने म।
मायाले अंगालोमा बेरेर राख्ने ऊ, अनि घरी घरी सताउन पल्किएकी म।
अबका हाम्रा दिनहरू एकअर्काको यादमा मात्रै बित्दै थिए।
‘बिहेपछि झुक्किएर मेरो नाम भनेर बोलाउलिस् नि काली फेरि मार्ला बुढोले’ भन्दै रून्चे हाँसोमा जिस्क्याउथ्यो मेरो राम।
रोइदिन्थें म। बस्, अरू के गरौं।
मैले मेरा ठानेका उसका अंगालोहरू अब मेरा रहेनन्।
अनि उसले स्वामित्व लिएका मेरा हरेक पलहरू अब उसँग हुने छैनन्।
जब मानिससँग समय थोरै छ भनेर थाहा पाएपछि को त्यो अन्तिम पल कति पीडादायी र छोटो हुँदो रहेछ भन्ने कुरा त्यही दिन थाहा पाएँ मैले।
डाहा लाग्छ मलाई उसँग जीवन बिताउन आउने जो कोहीदेखि।
यदि मेरो जीवन उसैसँग बिताउन पाएको भए कति सुन्दर हुने थियो होला नि जिन्दगी।
साँच्चि रामजस्तो जीवन साथी पाउन त भाग्यमै लेखेर आउनु पर्छ। यति बुझकी मानिस,नारीलाई सम्मान गर्ने अनि हरेक कुरामा साथ दिने मानिस आजकालको जमानामा कहाँ पाइन्छ र?
म त अभागी हुँ र त उसको हुन सकिनँ।
उसको र मेरो सम्बन्ध थाहा पाएकै दिन बाबाले मेरो विवाह अर्कैसँग गरिदिने निर्णय लिनु भएको थियो।
माथिल्लो जातको मान्छे थियो मेरो राम त्यही कुरा बाधक बनेको थियो हाम्रो सम्बन्धमा।
मागेर विवाह गर्न तयार नभएको पनि हैन तर दुबै घरबाट आएको अस्वीकार्यता नै हाम्रो विवाहको ठूलो दुष्मन बनिदियो।
यदि एउटा मात्रै परिवार राजी भएको भए पनि हामी विवाह गर्ने थियौं। तर भनिन्छ नि नहुने छ भने जे गरे पनि हुँदै हुँदैन। त्यस्तै भयो। हजारौं उपाय बतायौं दुबै परिवारमा तर कुनै कुराले दुबै परिवार मान्न तयार हुनु भएन्। बरू उल्टै मेरो विवाह अरू कोहीसँग गरिदिने तय गर्नु भयो बाबाले।
हजारौं बहाना थिए रूनलाई हजारौं बाधक बनिदिए जीवनसँगै लैजानलाई। त्यै भएर त मन बाँधेर छुटिन बाध्य भयौं हामी।
पाउनुमात्रै कहाँ हुँदो रहेछ र माया हाँसी हाँसी पाएको माया गुमाउनु पनि त माया रहेछ नि!
उसँग छुटिएको दिनदेखि झन् माया गाढा बनेको छ। उसलाई सम्झिँदा पनि सिरिंग हुन्छु म। अब ऊ मसँग कहिल्यै भेट नहुने कुरा मुटुमा गढेर बस्यो।
आजकाल त रामको यादमा डुबेर कहिले तातो चिया हातमा खनिएको थाहा पाउँदिनँ। कहिले बोल्दाबोल्दै आँसु निस्किएको पत्तै पाउँदिनँ।
यसरी नै बितेका छन् मेरो रामबिनाका पलहरू।
अब त ऊबिनाका दिनहरू पनि रंग्याउनु छ अरू कसैको खुसीको लागि।
आखिर उसलाई त्यागेको पनि त अरू कसैको खुसीको निमित्त थियो नि। त्यो दुखी होला, त्यो दुखी होला भनेर घर परिवार र दुनियाँ खुसी पार्दापार्दै जिन्दगी पीरको पिँजडामा फसेको पत्तै नहुने रैछ।
कसले बनायो यो ‘तल्लो’ जात र ‘माथिल्लो’ जात।
माया त माया हो नि!
उसलाई काट्दाजस्तो रगत आउँछ मेरो पनि त्यही छ।
मन सबैको रून्छ, पीर, खुसी सबैलाई उस्तै हुन्छ भने कहाँबाट आयो जातपातको कुरा, ठूलो जातलाई बढी दुख्नु पर्ने बढी हुनुपर्ने हैन र?
यदि सबैलाई उस्तै हुन्छ भने त सबै समान हुनु पर्यो नि हैन र?
सबैको खुसी देख्ने म। मेरो खुसीमा किन रमाउँदैनन् आफन्तहरू।
खुसीको उधारो व्यापार गर्दागर्दै सकिने रहेछ जिन्दगी!
आफन्त र परिवारको त्यो अहंकारको निमित्त मेरो मायालाई बलिदान दिएँ मैले, अनि मेरो रामले।
अब त हामी गएका ती बाटोलाई भुलेर नयाँ जीवन जिउनु छ। मरेको मनलाई लिएर खुसीको जल पिउनु छ।
भगवानसँग प्रार्थना गर्छु कि तिमीसँग झुक्किएर पनि कहिल्यै भेट नहोस्।
तिम्रो जीवन सधैं हाँसी, खुसी बितोस्, मेरो भएर पनि हुन नसकेको मेरो राम तिमीलाई शुभकामना!