बगरको नरम बालुवा
अशान्त हुरीको एक झोँकामा
समुन्द्रमा पुग्छ।
समुन्द्रमा
केही समय पौडन्छ, रमाएर
धेरै समय थिग्रन्छ, गुमाएर
अनगिन्ती समय थिचिन्छ, दबिएर
र
चट्टान बन्छ।
चट्टान बनेपछि
घामपानी एकै
दु:खसुख एकै
आँधीहुरी एकै
मायामोह एकै
पराई आफन्त एकै
सबै एकै
सबै बेपरवाह
साँच्चै
चट्टान डराउँदैन
चट्टान आत्तिँदैन
चट्टान मात्तिँदैन
चट्टान फुटेर बाटोभरि पोखिँदैन।
अब
चट्टान मूर्ति बन्न सक्छ
मूर्ति भगवान बन्न सक्छ
साथी हो
नडराओ
भगवान बन्न चट्टान बन्नुपर्छ।