कस्तो मिठो पश्चताप खड्किरहको रहेछ जीवनमा।
आफूलाई मनपर्ने शान्त शालीन, ऊ उस्तै हो। बानी, आचरण, भोजन मिल्दो। अध्ययनको शैली, विषय र रुचि पनि एकै। भेटमा मेरो सामुन्ने बगाएको हो आँसु। कारण जे होस्, अपार माया गर्ने हो मलाई। ती अमूल्य आँसुको मूल्य मैले अवश्य चुकाइरहेछु सायद।
ओहो! उसको महानता। उसले त मेरो सम्पूर्ण कमजोरीहरू स्वीकार गरेकी हो मज्जाले। र भनेकी हो, 'म सुधार्छु नि तिमीलाई।'
म सुधारिएको हो। तर मैले किन अलिकति बोध गरिनँ? कसरी यतिविधि अन्देखा गरेँ?
कतिविधि निकट लाग्यो होला, कतिविधि भरोसा लाग्यो होला र त समस्याको गाँठो सररर फुकाएको हो। तर, म कसरी पन्छिएँ? मलाई दुई/चार रुपैयाँको किन त्यतिविधि माया लाग्यो कसैको जीवनभन्दा? यस्तो पूण्यकर्ममा म कसरी लालची भएँ। मलाई कति नाफा दिलायो? म कति धनी भएँ त अहिले?
पितृसत्ताले बिर्तामा दिएको पुरुष अहम् थियो क्यार! ठाडै अस्वीकार गरेको हुँ उसको स्पष्टतालाई। उसको सत्यता नै उसको कमजोरी कसरी भयो? सत्य कमजोरी देखिएरै रहेछ जगतमा असत्य मौलाएको। अहिले सम्झन्छु। भगवानले मिलाएकै जोडी पो हो रहेछ। बिहेको सपना पनि देखेको हो। भोलिको सुन्दर सपना देखेकी हो। 'म गर्छु नि' भनेकी हो। मैले कसरी थुनेँ मेरो दुई कान?
चार चौकोसै मिलेको त कहाँ हुन्छ र? अलिअलि त आफूले पनि मिलाउन पर्ने हो। पाँच पाण्डव त हरेक एक अपूर्ण हुन् भने ऊ?
ओहो! अहिले पो कल्पना गर्छु, कति प्रेमिल र प्रिय हुने रहेछ हाम्रो दैनिकी। जस्तो ऊ बाँचिरहेकी छ। म सर्च बक्समा नाम टाइप गरेर हेरिरहन्छु। उसको आनन्दकला। आज पनि हेरेँ। कसैको रङमा रङ्गिन, कसैको मङ्गलसूत्रमा चञ्चल, कसैको बाहुमा चङ्गा। अनौठो! कस्तो डाहै लागेन, बरु आनन्द मानेँ हेरेर। आफ्नै कर्ममा लीन, चुपचाप र आनन्दको खोजी यात्रामा यात्रु बनेकी, यात्रारत।
तर म अचम्म लाग्दो पूर्णताको पछि लागेँ। स्वयम् आफू अपूर्ण रहेर पूर्ण खोज्नु जस्तो महानतम् भूलको बोध गराइदिने तिमीलाई धेरै-धेरै धन्यवाद 'बेनाम।' कहिल्यै नामले पुकारिनँ, नाम त थियो नि। नाम दिएका र मैले नामले पुकार्नेहरू बरू बिलाए यतैकतै।
आँसु किन बगाएको हो उसले? उसको आँसु सिँचिएको छाती हो मेरो। तर यस्तो बञ्जरजस्तो कसरी भयो? आँसुको मूल्य नबुझीकन म पन्छिँदै पन्छिँदै गएँ आफ्नै अलग्गै बाटो। म कस्तो निठुर, ममा कतिविधि अहम्! उसले न रोष प्रकट गरी, न दुःख प्रकट। मन त टुट्यो होला कति कति।
उसो त मैले पनि न वचन लगाएँ न आरोप न घृणा। भेटमा दुवैमी अपेक्षा थिएन। होलान् स्वीकार गर्न नसकिएका अनेक कारणहरू तर व्यक्तिप्रति कहिल्यै घृणा र नकारात्मक भाव भएन एकअर्काप्रति। त्यसैले त आज तस्बिर खोजेर हेर्दा पनि कस्तो आनन्द। कति खुसि। सारी कति-कति सुहाउने।
आरोप, प्रत्यारोप लान्छनाबिन प्रतिसोध हुने त कुरै भएन, यतिबेला सम्झिँदा पनि कति-कति प्रिय लाग्ने। भनावैरी, आरोप प्रत्यारोप, रिस, राग, घृणा द्वेष आवश्यक रहनेछ अस्वीकारमा। यस्तो हुनु भनेको अस्वीकारमै पनि प्रिय छाप छोड्नु रहेछ। दूर हुनु तर हृदयमै हुनु रहेछ। सायदै यो कला ममा छैन। यहाँ त स्वीकारभित्र स्वयम् श्रेष्ठताको ताण्डव नृत्य कति हो कति देखिन्छ।
अस्वीकार व्यक्तिको नितान्त निजी र अधिकारको कुरा रहेछ। अस्वीकार पनि यतिविधि सुन्दर। यहाँ स्वीकार गरेर नाम दिइएका सम्बन्ध सम्मानसहित उच्चारण योग्य पनि छैन होला कति। तर यो बेनाम सम्बन्ध कस्तो कता-कता हृदयमा मि...ठो स्पन्दित भइरहेको। वर्षौँपछि किन नहोस् आज महसुस गरेँ। आज स्पर्श गरेँ। ताजै लाग्ने सुगन्ध। धन्यवाद।
मेरो रङ्गमा यति खुसीको अनुभूति हुन्न थियो सायद, जो अहिले गरिराछु। यो सुखानुभूति फेरि जीवन्त हो। आज यसै-यसै आफ्नो ठानेँ, प्रेम यही हो। साँच्चै भन्न मन छ, यसरी स्पन्दित गराइरहनू, यसरी नै अभाव खड्काइरहनू, यसरी नै पश्चतापमा तड्पाइरहनु ताकि म अस्वीकार माथिको सौन्दर्य शास्त्रका पानाहरू पल्टाउँदै सम्झिरहूँ हर धड्कन, हरपल।