तिम्रो त्यो पीडा बोध मैले गर्न सक्दिनँ
तिम्रो त्यो दु:खको बहन मैले गर्न सक्दिनँ
ती विवशताको सारथी बन्नलाई
फगत मैले मेरा सान्त्वनाका वाणी दिन सक्छु
हुन त मैले महसुस गर्ने भाव तिम्रो जति गहिरो नहोला
तर पनि त्यो फेदसम्मको भावुकता म नि भोग्न चाहन्छु
अनि तिम्रो दु:खले भरिएका भारीको बोझ
तिम्रो काँधबाट आफ्नो काँधमा सार्न चाहन्छु
तिम्रो सुख/दुःखको अर्ध अंशियार बन्न चाहन्छु
के म तिम्रो सुख/दु:खको भागिदार होइन र?
अवश्य पनि त्यति पराई नि छैन होला म
तिमीले मान्छौ भने नि
भावनाको नाताले म तिम्रो नजिकको सहयात्री हुँ
तिमीलाई बेथितिका साङ्लाले बाँधेता पनि
म तिम्रो दु:खका जालीहरूले स्वकुण्ठित छु
तिम्रो स्वतन्त्रतामा आफ्नो स्वतन्त्रता भेट्ने व्यक्ति
तिम्रो सहजताको लागि आफू असहज हुन सक्छु
तिमी र म बेग्लै धरातलमा छौँ र त
हामी बेग्लै अवस्थामा आश्रित छौँ
तैपनि हामी एउटै गन्तव्यका सहयात्री भएकोले
प्रतिकूल/अनुकूल परिस्थितिका घुट्का मिलेर पिउन चाहन्छु
तिमीसँगको मेरो अपेक्षा नै यति हो
तिमीले मलाई आफ्नो सुख/दु:खको हिस्सेदार बनाऊ
त्यसपछिका कठिनाइलाई आधा-आधा मिलेर झेलौँला
फुलेका खुसीका बोटहरू मिलेर गोडमेल गरौँला।