अधुरा सपना, बेमेल र उराठिँदो जीवन
अनि ज्योति हराएको अँधेरी रातको
चकमन्न गोधूलिमा टोलाउँदै जिन्दगीलाई एकोहोरो
सम्झिने कोसिस गरेँ
त्यहाँ जीवनको खास
कुनै तात्त्विक रोमाञ्चकता भेट्न असमर्थ भएँ
भावमा झल्किएका झंकारहरू बुझ्ने कोसिस गरेँ
तर बुझाइले सार्थकता दिन सकेन
अनि विस्तारै गोधूलि साँझ
एकान्त रात हुँदै सुन्दर बिहानीको
काल्पनिकतामा रम्ने कोसिस गरेँ
त्यहाँ पनि खास विशेषता भेट्न त सकिएन
तर बिहानीको एक झुल्को घामको तप्कासँगै
शीतलताका केही आँकुराहरू भने
पलाउने कोसिस गरे
तनाव अनि अस्थिरताको एक चङ्गुलमा
रुमलिएको यात्राविहीन गन्तव्यले केही
आशाका किरणहरू पस्किए
केही फूलका सुन्दर कोपिलाको पर्याय बन्ने कोसिसमा तम्सिएँ
तर त्यो किरण अनि त्यो कोपिलाको तात्पर्य
के थियो बुझ्न केही समय कुर्नै पर्यो
मनले भन्दै थियो कुनै कुराको वा कसैको खोजी हुँदैछ
भावनाभित्र चुर्लुम्म डुबुल्की मारेका
कैँयन कर्णीय स्वप्निल बिम्बले
झस्काउँदै थियो
आखिर मन र मस्तिष्कको
अस्थिरताले किन यति धेरै सताउँछ?
अनि आत्मा भित्रको एउटा तप्काले
जवाफ दिने कोसिस गर्योा
तिमी कुनै कुराको खोजीमा छौ
त्यस्तो कुरा जसको खोजी, जसको झंकार
अनि स्वप्निल बिम्बहरूको सार्थक निचोड
सहज यात्रीको खोजी नै हुन सक्थ्यो।
यस्तैमा जब तिम्रो आगमनको एक
पाइला अघि बढेँ, अनि यत्रा सहजताको
महसुस हुन थाल्यो, जस्तो अन्धकार रातमा
दूरबाट चम्किएको जुन अनि ताराहरूको चमकजस्तै
भूगोलको एक कुनाबाट
बिहानीमा उदाउन लगेको घामको सुन्दर
चमकजस्तै मुस्कुराउँदै आएका ती कोमल
मुहार अनि नसालु नयनको झटारोको असर
यस्तो भैदियो जहाँ उजाडिएका पतझर
बिरुवा जब पालुवाको आगमनमा आफै
मुस्कुराएर वातावरण सुगन्धित बनाइदिन्छ
त्योभन्दा अझै सुन्दर र मग्द मोहित
अवस्थाको आभास गराइदियो
कुनै बगैँचामा थरीथरीका फूलहरूको
मिश्रणले वातावरणलाई नै रोमान्चित
बनाइदिएजस्तै रोमाञ्चकताको घन्टी
मनमा बजाइदियो!
तिमी को हौ थाहा छैन
तिमी कहाँबाट आयौ थाहा छैन
अनि के चाहन्छौ, त्यो पनि थाहा छैन
तर मैले सपना देख्न थालेँ
मैले भावनाहरू बुन्न थालेँ
मायाका स्वप्निल कल्पनाहरू सजाउन थालेँ
कारण थियो तिम्रो मुस्कानको जादु अनि
तिम्ले गराउने त्यो सबै आत्मीयताको आभासहरू
अनि साथमा थिए
सुमधुरता मिसिएको ती चंचल बोली
मन्द मुस्कान, लोभ लाग्दो हाउभाउ
जसले गर्दा
म आफूलाई पागलपनको उदाहरणको रुपमा
चित्रण गर्ने अवस्थामा पुगिसकेको थिएँ
जुन मेरो वास्तविकता थियो वा समय र परिस्थितिको असर
म बुझ्न सकिरहेको थिइनँ
तिमी साथमा थियौ, पर्याप्तता महसुस थियो
तर मेरो मन त्यो पर्याप्तताले मात्र मान्ने पक्षमा थिएन
म चाहन्थेँ तिमी बास्नारुपि जीवनको
एक अभिन्न पाटोको गतिलो उदाहरण बन
जीवनको सार्थक खोजी बन
जसलाई हर कोहीले प्राप्तिको
कोसिस गरोस् अनि भनोस्
कास! जीवनको असलीपन त्यस्तो भैदिए
हो, म तिम्रो साथमा सुन्दर जीवनको
परिकल्पनामा चुर्लुम्म पौडी खेल्दै गर्दा
कैँयन पटक झस्किएँ
कैँयन पटक यात्रा अवरुद्ध बनाएँ
कैँयन पटक आफूलाई भोको राखेँ
अनि कैँयन पटक गला सुकाएँ अनि
नयनहरूलाई वर्षातलो बिम्ब पनि बनाएँ
संचारको साथमा रमेका ती पलहरू
आवाजका ती कोकिल झंकारहरू
अनि शब्दमा वर्षिएका मिठा नमिठा बातहरू
साँच्चै भाव र भावनाको गहिराइले तय गरेको
यात्रा समुन्द्रको असीमित गहिराइभन्दा कम थिएनन्
एकअर्कामा समाहित ती सुन्दर
समयबाजीहरू, सपनाको उच्च बिन्दुमा
पुर्याीएर अड्याइएका एक आखिझ्यालरुपि दृश्यात्मक मनोविज्ञान
साँच्चै तिम्रो र मेरो सम्मिलनको बिन्दु बनिसकेको थियो
तर...
ती त काल्पनिकता रहेछन्
म एक सपनाको भूमरीमा रुमल्लिरहेको रहेछु
मनहरू त्यसै सल्बलाएका रहेछन्
मुटुका धड्कन त्यसै स्पर्शित भएका रहेछन्
शब्दहरूले त्यसै झंकारको रुप लिएका रहेछन्
भावनाहरूले मात्र गिज्याएका रहेछन्
नभए हेर त आज ती सबै सामान्य बनिदियो
सपनाहरू विलिनतामा परिणत भए
ती शब्दहरूको गुन्जायस हराएदियो
ती अत्मीयताको आभास दूर-दूर गैदियो
अनि त्यो मुस्कानको वाण मुटुको एक कुनामा
स्थिर भएर बस्न बाध्य भैदियो
ती नयनका तिरहरू त प्रकृतिको विनाशक
चट्याङको एउटा झिल्को बनिदियो
सपनाका ज्वारहरू क्षणमै टुटिगए
तिमी त्यसै बिलिन भैदियौ
तर
म खोजिको पाइलाहरू अघि बढाइरहेछु
तिम्रो आकृती मेरो नयनमा चम्किरहेछ
तर तिमी महसुस गर्नमा असमर्थ छौ
यति बुझ गन्तव्यविहीन यात्राको खोजी
तब मजबुद बनिदिन्छ जब सम्झनाका ज्वारहरू
नसा-नसाबाट बग्न सुरु गर्छ अनि
मनका ज्वारहरू प्रस्फुटित हुन थाल्छ
हो, मैले मेरा मनका ज्वारहरूलाई शाब्दिकतामा उतार्ने कोसिस गरे!
जसको सहारा थियो एकप्रति कागजको खाली टुक्रा
अनि त्यसलाई मूर्त रुप दिनको लागि एउटा पेन
साथमा तिमीसँग कल्पिएका ती स्वप्निल
बिम्बका तप्का-तप्का
कताबाट सुरुआत गर्ने
म अलमलमै थिएँ
फेरि तिम्रै आकृतिले मौका दियौ वास्तविकता उतार्नको लागि
म कोसिस गर्दै थिएँ तर शब्द चित्रको अठोट यस्तो होस्
जहाँ आत्मियता बोलोस् अनि जीवनरुपि अमृतको सुगन्ध फैलियोस्
भन्ने कुराको हेक्क हुँदाहुँदै फेरि शब्दहरू हराउँदै गए
कोरिएका मसीहरू मेटिँदै गए
भावनाहरू सेलाउँदै गए
अनि काल्पनिकताको एक ज्वार चुँडिन थाले
मेरा साहसले मात्र पूर्णता दिन सकेन
सामीप्यताको आभासको एक तप्का गुन्जायस गर्नको लागि
अनि फेरि रुमल्लिन थालेँ, खोजिमा तल्लीन हुन थालेँ
बाटो पहिल्याउने कोसिसमा लागेँ
र सार्थक परिणामको नजिक पुगेको आभास
पनि भैदियो।
हो प्रिय, अब म तिम्रौ सहरमा आउँदै छु
तिम्रो सामीप्यताको खोजीमा
तिमी झस्किन्छौ होला कुनै समय
जतिबेला हावाका तप्काले तिमीलाई स्पर्श गर्दछ
तर यति बुझ
त्यो झस्काई हावाको चापको नभै मेरो प्रेमिल मन
अनि मुटुको धड्कनको आगमनको संकेत हो
जब चिसो रेठोले तिम्लाई सेक्ला तब म
न्यानो घामको पारिलो छाया बनी आइरहेको हुनेछु
जब तिमीलाई उराठलाग्दो घामको चमकले घायल बनाउला
तब म कलकल बग्ने खोलीको चिसो पानीको स्वरुप लिएर
तिमीसामु आइरहेको हुनेछु तर मेरो बसाइ सामीप्यताभन्दा केही दूर हुनेछ
म एक पूजारी हुँ तिम्रो प्रेमको
म पुजिरहनेछु
जबसम्म सार्थकताको खोजी पूर्ण हुँदैन
म पुजिरहनेछु
जबसम्म आत्मीयताको संगम एक हुने छैन
म पुजिरहनेछु जबसम्म तिम्रो मनले
भन्ने छैन मेरो गन्तव्यको सार्थक परिणाम प्राप्त भयो
हो,
म पर्खाईमा बसिरहनेछु
तिमी सामीप्यमा डुलिरहुँ
म कल्पनामा रमिरहनेछु
तिमी मुस्कानको चमक खोलिरहुँ
म भावनाका ज्वारहरू पोखिरहनेछु
तिमी इसाराकै साथले बोलिरहुँ
मात्र जीवनको यादगार अतीत अनि
कल्पनाको चरम बिम्ब बनेर
भनिन्छ नि प्राप्ती नै प्रेमको अन्तिम रुप होइन
त्यो त केकल प्रेमको एउटा पाटो हो
जबसम्म महसुसले सार्थक रुप लिँदैन
त्यहाँ साचो प्रेमको सार्थक परिणाम कहाँ भेटिन्छ र
प्रिय तिमी साथ बिना भएता पनि दूरको यात्रा तय नगर्नू ल।