मलाई
बेच्न राख्ने हो भने
सहरको नाङ्लो पसलमा
कति हुँदो हो मेरो अंकित मूल्य?
कति पर्दो हो बिक्री मूल्य?
बाटोको पेटीमा
साँघुरो गल्लीमा
कसैले पिच्च
गुट्खा खाएर थुक्ने ठाउँमा
अवश्य म अटाउने छु
अवश्य अटाउने छ म रहने नाङ्लो
नाङ्लोलाई अड्याउने छ दुइटा इँटा
सहर हो
र पनि
मेरो गाँउको चौतारोभन्दा पनि
साँघुरो हुने रहेछ
सहरको हुलिया
मेरो गाँउको चौतारीमा थकान हराउँथ्यो
सहरले थकान उब्जाउँदो रहेछ
मेरो गाँउमा चिसो पानी उम्रन्थ्यो
सहरले मुहान सुकाउँदो रहेछ
म सोच्थेँ सहर त ठूलो हुन्छ
देखेका सपनाहरू फिँजाउने फराकिलो मैदान हुन्छ
श्रमको सम्मान हुन्छ
साधन हुन्छ
विमान हुन्छ
साधन र विमान हुने ठाउँमा
खुसीहरू दौडने रहेछन्
म दौडन नसकने रहेछु
टुलुटुलु हेरिरहन बाहेक
मेरो औकात नहुँदो रहेछ
जाबो नाङ्लोको एक किनारबाट।
नाङ्लोको एक किनारमा म छु
घ्याच्च घुच्च हल्लिँदा कुम जोडिने गरी
मेरो एक छेउ चुरोट छ
अर्को छेउ पुष्टकारी
थोरै पर बाँधेर राखेको एक लाइटर छ
सहर हो
लाइटर नाङ्लोमा बस्नुभन्दा
झुक्किएरै भए पनि
कसैको खल्तीमा घुम्न मन पराउँदो रहेछ।
नाङ्लोको एक किनारमा बसेको म
कति लगाउँदो हो मूल्य
त्यो बाटो हिँडेको प्राध्यापकले
कति लगाउँदो हो मूल्य
एक जेहेन्दार विद्यार्थी
अनि कति लगाउँदो हो
मेरो मूल्य
एक बेरोजगारको हुलिया?
म बिकुला
कसैको खल्तीमा केही रुपैयाँ दोब्रिएको भए
कसले लिन खोज्थ्यो होला श्रेय
पुष्टकारी या चुरोटले?
कति खोज्दो हो
म बिकेको बापत राज्यले कर
कति खाँदा हुन् को-कसले कमिसन
कति पुग्दो हो म बिकेको कारण
देशको व्यापार घाटा
कति लिँदा हुन् राष्ट्र सेवकले बिक्री भत्ता?
कति पटक फाल्दो हो महानगरले नाङ्लो
कति पटक छर्दो हो मलाई सडकमा
कति पटक हाल्दो हो नाङ्लोसँगै म गाडीमा
महानगर हो र पनि सानसँग उठाउँदो रहेछ
केही खिल्ली चुरोट र केही गोटा पुष्टकारीको नाङ्लो
ठूला लड्ने सानासँगै रहेछ
सरकारले मेरो चुलोमा दाउराको छेस्को चोपेर बाल्ने
मट्टितेलको मूल्य बढाएजस्तै
मैले खाने नुनको भाउ बढाएजस्तै
म निर्धो हुँ
नाङ्लोमै बसेर पढिरहन्छु
सरकारका योजना
नाङ्लोमै पढ्छु करोडौँको भ्रष्टाचार
नाङ्लोमै पढ्छु
देशको ऋण
नाङ्लोमै सुन्छु
मन्त्री ज्युका भाषण
नाङ्लोबाटै हेर्छु
माननीय ज्युको सवारी
नाङ्लोबाटै हेर्छु
निधार गाडिने गरी एक वृद्धले बोकेको भारी
हेर्दाहेर्दै र सुन्दासुन्दै रात पर्दो रहेछ
म प्रिय हुँदो रहेछु सहरको धुलोको
अङ्कमाल गर्दै टाँसिन्छ मसँग।
यो सहर हो
सहरमा बेचिन पनि
निर्धोको केही लाग्दो रहेनछ
आफ्ना चाहिँदो रहेछ
आफ्नो चाहिँदो रहेछ
अनि पो भाउ पाइँदो रहेछ
म बिकिन ठूल्दाइ
म यसै फर्किएँ
पैसा पापी हुँदो रहेछ ठूल्दाइ
पापी पैसाले पवित्र मन किन्न नसक्दो रहेछ।