कविता
दफाको सुगा रटाइ होइन,
व्यवहारिकताको नजिर प्रतिस्थापन गरिनु पर्छ।
काँडा बिझेको एक घन्टा भित्र आउनु पर्थ्यो,
धेरै ढिला आयौ तिमी,
जति दुख्छ तिमीलाई दुखोस्,
डाक्टरले बिरामी फर्काउनु मिल्छ?
हिंसाको विरूद्ध बोल्यौ,
सम्मान, तिम्रो साहसलाई,
अरूले पनि आँट गरून्,
नमारून् न्याय पाउने आशलाई।
तिम्रो पीडा मैले बुझ्छु, तिमीले मेरो बुझ्नुपर्छ।
आऊ, तिमी र म मिलेर मुद्दा लड्नु पर्छ।
बाल्यकालमा स्कुल जाँदा,
कति राम्रो फुच्चे भन्दै,
उकुस मकुस हुने गरी कुनै आयाले अंगालो हाल्दा,
पोक्चे गाला भन्दै कुनै मिसले चिमोट्दिँदा,
स्याउ जस्तै भन्दै फेरि दायाँ बायाँ टोकिदिँदा,
असहज लाग्ने छुवाइहरू,
के ती हिंसा थिएनन् र?
तिम्रो पीडा मैले बुझ्छु, तिमीले मेरो बुझ्न पर्छ।
आऊ, तिमी र म मिलेर मुद्दा लड्नुपर्छ।
किशोर अवस्था टेक्दै गर्दा,
ओठमाथिको रौं तान्दै छिल्लिएर जिस्काउँदा,
खै कत्तिका बिझाउँछन्? मेरो गालामा गाला जोड्दा,
कुनै पसलको साहुनीले मसँग गरेका व्यवहारहरू,
के ती हिंसा थिएनन् र?
तिम्रो पीडा मैले बुझ्छु, मेरो तिमीले बुझ्नुपर्छ।
आऊ, तिमी र म मिलेर मुद्दा लड्नुपर्छ।
चिनेकैले दिएको खानेकुरा खाएको,
केही समय पछि होशमा आउँदा
असहज अवस्थामा आफूलाई पाउँदा,
बोल्दा आफैं फसिने डरले,
पीडा लुकाई हाँस्नु पर्दा,
मलाई हिंसा भा छैन र?
तिम्रो पीडा मैले बुझ्छु, तिमीले मेरो बुझ्नुपर्छ।
आऊ, तिमी र मिलेर मुद्दा लड्नुपर्छ!
तिम्रा जस्ता केसहरू, तीन तहकै अदालतमा,
हजार बढी दर्ता होलान्,
मेरा जस्ता केस पनि यै समाजमा खोतलिनु पर्छ।
पीडकको कुनै जेन्डर हुँदैन,
कानुन सबैलाई समान हुनपर्छ।
तिमी हामी मिलेर नै हो सभ्य समाज निर्माण गर्ने,
तिम्रो पीडा मैले बुझ्छु, मेरो तिमीले बुझ्नुपर्छ।
आऊ, तिमी र म मिलेर मुद्दा लड्नु पर्छ!