केही समयअघि
आँधीको वेगमा केही कसिङ्गर
झ्याल-ढोका हुँदै
बलजफती छिरे घर
चाहार्दै गए उनीहरू कोठा-कोठा अनि
कति ओगटिए भुइँभरि
दलिए कति आलमारी कति ओछ्यानमा
फेरि छरछिमेक, टोल हुँदै
गाउँ, सहर, देश सबैतिर ढाकिए
त्यसपछि निम्तो गरे उनीहरूले साङ्लालाई
र खटाए उनीहरूलाई बिस्ट्याउन कुना-काप्चा
पोखरी, ताल, मठ, मन्दिरहरूमा
बोलाए फेरि धमिरालाई र
खोक्र्याउन लगाए दराज, टेबुल, पलङ,
सोकेस, कुर्सी, काठ, हरियाली, वन-जंगल,
दौडाए मुसा भित्र-बाहिर
नष्ट पार्न लगाए धान, चामल, दाल, खाद्यान्न
बाली, खेत, कृषि,उद्योग, कलकारखाना
फेरि झिकाए माकुरालाई
घेर्न लगाए जालोले चारै भित्ता, कुनाकानी
यताउता, सिधा, सोझा, सामान्य,
गरिब, गरिखाने, निमुखालाई
अनि छोडे भुसुना, किटाणु
सडाउन, गलाउन लगाए नीति, नियम,
कानुन, प्रक्रिया, संयन्त्र, तटस्थता
फेरि छोडे लामखुट्टेहरू
चुस्न लगाए श्रम, पसिना, खुन र
फैलाउन लगाए अन्याय, अत्याचार, विभेद,
दुराचार, भष्ट्राचारका व्याधिहरू,
तैपनि मरेको छैन आश
वर्षौंदेखि यो षडयन्त्र 'खप्नेहरूलाई'
कठै! अझै पनि खोज्दैछन् देश
यिनै कसिङ्गरको थुप्रोमा।