आज दशक बढी भइसक्दा पो
झल्याँस्स सम्झेँ
तिम्रो हात नै नसमाई
कस्तो पो माया गरेछु तिमीलाई!
छोएकै भए पनि
उचेरा गएका तिम्रा औँलाहरू
कत्ला गएका तिम्रा छालाका रंगहरू
के मलाईजस्तै
सुवासिला लाग्थे होला र तिमीलाई?
आज आरती गाउँदै गर्दा पो
झल्याँस्स सम्झेँ
तिम्रो गाला नै नसुम्सुमाई
कस्तो पो माया गरेछु तिमीलाई?
सुमसुम्याएकै भए पनि
बिहान-बिहान धोइरहँदा पनि
समयले विस्तारै कोरेका धर्काहरू
लुकाउन छिपाउनै नसक्ने
के मलाईजस्तै
उच्छवासिला लाग्थे होला र तिमीलाई?
आज बतासले बादल केलाउँदै गर्दा पो
झल्याँस्स सम्झिएँ
तिम्रो केश नै नमुसारी
कस्तो पो माया गरेछु तिमीलाई?
हिमालका प्रेमीहरू
शिखर आरोही मात्र हुन्छन् कि
क्यानभासमा चित्र कोर्ने चित्रकार पनि?
शरीरका ज्याजतीहरू अखबारमा खुट्याउँदै गर्दा पो
झल्याँस्स सम्झिएँ
तिम्रो आत्मालाई मात्र अंगालेर
कस्तो पो माया गरेछु तिमीलाई?
चाउरिने अनुहारहरू
कत्ला जाने छालाहरू
उचेरा जाने औँलाहरू
हिँउ जम्ने कपालहरू
कुप्रिएर जाने सौन्दर्यहरू
प्रेमका मापक हुन वा होइनन्?
आज आत्माविरूद्ध युद्ध छेडेपछि पो
झल्याँस्स सम्झिएँ
शान्तिको शीर मात्र सुमसुम्याएर
कस्तो पो माया गरेछु तिमीलाई?
आज राइफल बोकेका योद्धाहरू
मिसटीनमा आमाको माया बोकेर
माटोको मायाले लडेका छन् कि
आमाको स्नेहले?
लस्करै आउने युद्धका खबरहरू हेर्दै गर्दा पो
झल्याँस्स सम्झेँ
माटो र शरीर
र मैले बिर्सेर नगरेको प्रेम।