बाबु
यो मतपत्रमा
शुभ स्वस्तिक छापले
मैले प्रतिनिधि छानेर मतपत्र पट्याउँदै गर्दा
मतपत्रजस्तै साँघुरो नहोस्
अर्को पटक तिमीलाई हेर्ने मेरो नजर।
जेष्ठताको हिसाबले
रित्तो मतपेटिकामा पहिलो मतपत्रमा
मेरो काप्दै गरेको औँलाले
तिमीलाई चिनाउँदै गरेको चिन्हमा टक्क चिन्ह राखेर
खसाएको छु मतपत्र
मेरा औँलाजस्तै गरी नकपाउनु मन
विकासको मामिलामा।
मेरा बस्नै लागेको आँखाले
धमिलो गरी ठम्याउँदै तिम्रो मतचिन्हमा
मत दिएको छु
मेरा आँखाजस्तै धमिलो नहोस्
तिमीले यो समाजलाई हेर्ने नजर अनि सोच
म रहुँला नरहुँला
रित्तो मतपेटिकामा
यो केन्द्रकै पहिलो
मेरो पहिलो भोट
मेरो पहिलो रोजाइ तिमीलाई बनाएर झरेको छु
मेरो भोटजस्तै
बदर नहोस तिम्रो कार्यकाल
मतपत्रको बिटोमा छुट्टिएर बसेको बदर मतपत्रजस्तै
तिमीलाई छुटाएर दिनु नपरोस अर्को पटकको मेरो मत
निविदा भएर एक्लो नहुनु
मेरो मनभित्र यसैगरी बस्नु
हाम्रा मनभित्र यसैगरी बस्नु
मत बाकसले सुरक्षित राखेजस्तै मतपत्र
सुरक्षित राख्नु भोलिको लागि नाम
सुरक्षित राख्नु तिमी प्रतिको मेरो विश्वास
बन्नु बाबु, तिमी बन्नु
हामी सबैको खास।