अफिस छुट्टी हुनै लागेको थियो
दिनभरिको काम सकेर अफिसबाट बाहिर निस्किन लागेको थिएँ
एक्कासी गोजीको फोन बज्यो
'ओए, कता छस्? अझै अफिसमै छस् कि क्या हो?'
मैले भनेँ, 'छुट्टी हुन लाग्यो, अब एकछिनपछि निस्किने यार'
साथी, 'चिया खान चिया अड्डा आउने हैन?'
मैले भनेँ, 'पानी परिरहेको छ यार, एकदम चिसो छ, एकछिनपछि आउँदा हुँदैन?'
साथी, 'यस्तै चिसोमा त चिया पिउन बेग्लै मज्जा हुन्छ नि यार, लु छिटो निस्किहाल् है'
म पनि साथीलाई भेट्न पाएको के पानी कुरिरहने र
हतार-हतार गर्दै लागेँ चिया अड्डातिर।
चोक
सधैँ व्यस्त देखिने यो चोक पानी परेर होला अरु बेलाभन्दा सुनसान थियो
पानी नै परे पनि धेरथोर मानिसहरू दौडिरहेको देखिन्थे
अस्तव्यस्त भिड र कोलाहल
पानीट्यांकी छेउको टंक पार्क र संसद भवन
सडकमा गुडिरहेका अस्थिर गाडीहरू
यस्तै-यस्तै विशेषता बानेश्वरको
साँघुरो भित्री सडकमा पार्किंङ गरिएर राखिएका मोटरसाइकल र
फूटपाथका पसलहरू छिचोल्दै पार्क नजिकैको चक्खुबख्खु मन्दिर छेउको चिया पसल तिर लागेँ
त्यतिकैमा साथी पनि आइपुग्यो
हामी व्यस्त चिया पसलको खाली टेबल खोज्दै भित्र पस्यौँ
चिया अड्डा
पहिला पहिला त ‘चिया पसल’ भन्ने शब्द धेरै सुनिन्थ्यो
तर हिजोआज युवाहरूको बीचमा धेरैजसो
‘चिया अड्डा’ लोकप्रिय छ
सहरमा अनेक खाले चिया अड्डा भेटिन्छन् अनि
त्यहाँ पाइने चियाका प्रकारहरू पनि अनेक खालका
सहरका कुना-कुनाका सबैजसो चिया पसल धेरथोर व्यस्त नै देखिन्छन्
यी चिया पसलहरूले सहरका कैयौँ परिवारहरू पालेका पनि छन्
ती परिवारभित्र कतिपय छोराछोरीहरूलाई
उद्यमी, व्यापारी, डाक्टर , इन्जिनियर, प्रोफेसर, वकिल आदि
जन्माएका पनि छन्
यो मन्दिर छेउको चिया पसलले पनि सबै ग्राहकहरूलाई मज्जाले चिनेको छ
मान्छे अनुसारको अर्डर
कसैलाई दूध चिया
कसैलाई चिनी कम वा नहालेको दूध चिया
कसैलाई कालो चिया
त कसैलाई लेमोन टि
यो चिया पसलले मान्छे र तिनका स्वाद अनुसारका अर्डर लिने गर्दछ
विद्यार्थी, जागिरे, बेरोजगार, सरकारी हाकिम, व्यापारी, उद्यमी
सबैलाई चिया पिलाउँछ
कहिले कहीं सडकका माग्ने घरबार मान्छेहरूलाई पनि यसले चिन्छ नै
गफगाफ
आज पनि हामी त्यही चिया अड्डामा पस्यौँ
दुई कप दूध चिया अर्डर गरेर हामी आफ्नै गफमा व्यस्त हुन थाल्यौँ
एक, दुई, तीन गर्दै विभिन्न नम्बर टाँसिएका टेबलहरूमा
सबै मानिसहरू आ-आफ्नै गफमा व्यस्त देखिन्थे
हामी पनि आफ्नै गफ खोल्न थाल्यौँ
सहर, सपना, पढाइ, परिवार, जागिर, घर, बिहे, प्रेम सम्बन्ध,
मित्रता, भविष्य यस्तै शीर्षकहरूले हाम्रा गफहरूलाई भुलाइदिए
साथीले भन्दै थियो, 'पढेर मात्र पनि जिन्दगी बनाउन गाह्रै रहेछ यार
यही कमाइले त परिवारको अलिकति आशसँगै आफ्नो सपना कहिले पो पूरा गर्नु हौ'
मैले पनि उही कुरा गर्ने लागेको थिएँ तर उसले मेरै कुरा बोलिदियो
मैले भनेँ, 'छोड्दे यार, जिन्दगी हो एकदिन होला नि'
उसले रिसाउँदै भन्दै थियो, 'हेर साथी, पैसा कमाउन कि त दले दाइ बन्नपर्छ,
कि त घुस खाने कर्मचारी कि त यी दुवैलाई पैसामा किन्दिने व्यापारी बन्न पर्छ,
नत्र इमान्दारिताले न त व्यापार टिक्छ न त पढाइको कदर हुन्छ'
दृश्य अनेक
यसो वरपर टेबलहरूमा हेर्यो
टेबल नै पिच्छे फरक-फरक मान्छे
कोही एक्लै थिए त कोही साथीसँग
अधबैँसे एकजना हातमा पाउरोटी चेपेर दूधसँग खाँदै थिए
एउटा सामानले भरिएको जस्तो देखिने एउटा साइड ब्यागले उनको जीउ छोडेको थिएन
म साथीको कुरा सुन्दै ती मान्छेको अनुहारतिर हेरिरहेको थिएँ
उसमा हर समय बदलिरहेका भावनाहरू उसको अनुहारमा परावर्तित हुने भइरहेका थिए
उनको अनुहारले उनी आफूलाई मात्र हैन सहरका अरु थुप्रै मानिसहरूलाई समेत देखाउँथ्यो
मनमनै भनेँ, 'यो चिया अड्डाले एक्लो मान्छेलाई पनि ठूलै साथ दिएको रहेछ'
एक्कासी साथीले प्याट्ट काँधमा हिर्कायो, 'ओए, चिया सेलायो हौ छिटो खा'
म कयौँ पटक यसरी नै धेरै चिया अड्डाहरू पुगेको छु
अनेक खालका दृश्यहरूले भरिएका यी चिया अड्डाहरू मेरा लागि अरु कुनै लाइब्रेरीहरूभन्दा कम थिएनन्
अनेक प्रकृतिका घटनाहरू कुनै उपन्यास भित्रका कथाहरूभन्दा कम थिएनन्
होहल्लाको बीचमा पनि निकै स्वतन्त्र र बेग्लै आनन्द भेट्ने चिया अड्डाजस्ता अरु ठाउँहरू सायदै अन्त कहाँ भेटिन्छन् र?
हुन त चिया पसलसँग क्याम्पस पढ्दादेखि नै छुट्टै विगत पनि जोडिएका छन्
तर त्यो बेला त्यति घनिष्ट थिएन जति आजभोलि छ
त्यतिबेला साथीहरू थिए,
आजभोलि एक्लै समय काट्न पर्दा सम्झिन्छु त त्यही चिया पसललाई
खै अर्को कुनै ठाउँले एक्लै हुँदा मलाई चिन्छ या चिन्दैन
तर मलाई थाहा छ
मेरो लागि एक्लै हुँदा त्यो चिया पसल पनि छ
चिया अड्डासँग चिनजान
चिया पसलले पढ्दै गरेका विद्यार्थीलाई पनि चिनको छ
छेउको अर्को टेबलमा बसेका विद्यार्थीको पोसाकमा देखिने एकजना १६/१७ वर्षका केटाले आफ्नो साथीलाई भन्दै थिए
'आज त खत्तम भयो नि यार! एक्जाम पेपर पनि कस्तो गाह्रो आएको हौ टेन्सन भैरहेको छ
फेल भयो भने त ड्याडको गाली भेटिन्छ यार दिमाग खराब भइरहेको छ यार'
मेरो साथीजस्तै उसको पनि साथी रहेछ दुःख पर्दा भुलाइदिने
उसले साथीलाई भन्दै थियो,
'एउटा परीक्षाले तेरो जिन्दगी नै बिगार्ने त हैन नि यार, छोड्ने टेन्सन नगर् अर्को चोटि राम्रोसँग पढेर देलास् नि
पढाइ मात्रै जिन्दगी हैन नि, जिन्दगीमा पढाइभन्दा पनि महत्वपूर्ण अरु पनि छन् नि यार'
केही मान्छे चाहिँ लोकसेवाको तयारीमा रहेछन्
पुराना प्रश्नहरू छलफल गरिरहेका थिए
कतिलाई त सरकारी जागिरको परीक्षा तयारी गर्ने ठाउँ बनेको रहेछ चिया अड्डा!
चिया पसलले प्रेम गर्ने जोडीहरूलाई पनि छुट्टै ठाउँ दिएको छ
अर्को टेबलमा एक जोडी केटाकेटी हाँस्दै मस्किँदै गफ गरिरहेका थिए
भिड आफैमा भुलिरहेको थियो
केटोले केटीको फोन खोस्दै अलिअलि झगडा पनि गर्दै थियो
केटी हाँस्दै लजाउँदै फोन माग्दै थिइन्,
'ह्या, किशोर छोड्देऊ न हौ, साथीको मेसेज हो के
कलेज देखिको साथी हौ, त्यस्तो केही नसोच न'
'मान्छेहरू हेरिरहेका छन्, छोडन किशोर'
त्यसपछि केटोले फोन छोडिदियो र सामान्य गफ गर्न थाले
यो चिया पसलले सबैलाई ठाउँ दिएको छ
देशमा चुनावी माहोल भएर होला सायद
एकजना चर्को स्वरमा बोल्दै थिए,
'यो पटक बलबहादुर दाइलाई जिताउन पर्छ है
बरु म केटाहरू लिएर आउँछु यसो पेट्रोल खर्च हाल्दिन्छु
होटेल र बस्ने व्यवस्था मिलाउनु, जसरी हुन्छ जिताउन पर्छ है!'
एकजना दाइ टेबलमा बस्न अटाएनछन् क्यारे
उभिएर भए पनि चिया पिउँदै थिए
'त्यो समान छिटो पदम दाइको पसलमा झार्दिनु है, नत्र पेमेन्ट नै रोकिन्छ नि
के गर्नु व्यापार छ आज टिकाएन भने भोलि बाँच्न बचाउन गाह्रो छ
ल है भाइ छिटो गरेर पठाइदिइ हाल है
म चिया पसलमा छु एकछिन टाइम लाग्छ है'
समानता
यो चिया पसलले हरेक मान्छेलाई ठाउँ दिएको छ
जात, धर्म, पेसा, वर्ग जेसुकै होस्
यो चिया पसलले कसैलाई भेदभाव गर्दैन
जोसुकै मान्छे आउन्
ती टेबल, बेन्च र कुर्सीहरूले पनि कसैलाई नबस् भन्दैनन्
भित्र टेबलमा नअटेका बाहिरका बेन्चमा बस्छन्
बेन्चमा पनि नअटेका उभिएर भए पनि चियाको चुस्की लिन्छन्
चिया अड्डाले कसैलाई दुःख बिसाउन चौतारी दिएको छ
कसैलाई रमाउने ठाउँ दिएको छ
जे होस्
सबैलाई केही न केही त दिएकै छ
गफै गफमा धेरै साँझ परिसकेको थियो
त्यो होहल्ला भित्रको रमाइलो ठाउँलाई छोडेर छुट्टिने त रहर पक्कै थिएन
तर सहर हो
यहाँ कामलाई मामसँग नसाटीकन जीवन चलाउन मुस्किल छ
भोलि पनि काममा निस्किनु छ
काम सकेर फेरि यही चिया अड्डा आउनु छ
जसरी हुन्छ जिन्दगीलाई चलाउनु छ
त्यसपछि चिया अड्डामा फेरि भोलि भेट्ने
वाचासहित छुट्टिने निर्णय गर्यौं
र आआफ्नो कोठातिर लाग्ने गरी छुट्टियौँ।