सुन्न त सुनाइयो
फूलबुट्टे घोषणापत्र
देख्न त देखाइयो
रङ्गी र चङ्गी मतपत्र
रोजगारी देला कि भन्ने चुनाव
उनीहरुको लागि पराई भएको छ
चुनावको मुखैमा मजबुर पारी
राहदानी लिन उभ्याइएको छ
बालबच्चा, श्रीमती छोडी
भन्छन् विदेशमा कसरी हाँसु
टोलाउँदै राहदानीको फोटोमा
देख्छन् चुनावको आँसु
सरकारलाई कर तिर्न जाँदैछन्
साइबरे महँगो राहदानी समाती
लाइनमै छन् लाउँलाउँ खाउँखाउँ भन्ने
यी विवश र निरीह युवायुवती
यो चुनावले किन देशमै
रोजगारी सृजना गर्न सक्दैन
राष्ट्रमै बस्ने स्थिति बनाएर
पसिना देशमै छर्न सक्दैन
पापी पेट र दुखी जीवनले
के सधैँ राहदानीको फोटोमा
चुनावको आँसु बगाइरहनु पर्ने
छोराको च्यातिएको भोटोमा
जित्न त जित्लान कसैले
रमाउलान गाडी र महलमा
सबै दलका नेता र सरकार
मिलिजुली सधैँ चहलपहलमा
राहदानीमा छाप लगाउँदा
चुनावको छाप याद आउलान
ती मनले कहिले देशमै
सुख समृद्धिको गीत गाउलान्
लाखौँलाख नेपालीको आत्मा
विदेशमा बिछोडिएर रोएका छन्
आत्मसम्मान खोसिएर
विदेशी चोट सहेका छन्
थाहा छैन कति-कति बाकस
जीवनभर परिवारको आँसुमा
तिनीहरू सम्झिन्छन् कि नाइँ
नेता र सरकारको हाँसोमा
छैन खुसी आमाको काख पर
मुटु पग्ली भन्छ कहाँ खसुँ
कहिलेसम्म मिस होला यो चुनाव
राहदानीको फोटोमा चुनावको आँसु।